२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नेकपा राजनीति : केन्द्रमा बबन्डर, जिल्लामा अभियान

केन्द्रको विवादले पार्टीको विशेष अभियान प्रभावित हुन सक्ने नेकपाकै नेताहरुको चिन्ता छ ।
बबिता शर्मा

काठमाडौँ — उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णयलाई केही घण्टामै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सत्तारुढ नेकपाभित्र बबन्डर मच्चिएको छ ।

नेकपा राजनीति : केन्द्रमा बबन्डर, जिल्लामा अभियान

बैठकपछि बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने तीन सदस्यमध्ये खाली हुन थालेको एक सीटमा गौतमलाई पठाउने निर्णय भएको जानकारी दिएका थिए । निर्णय पार्टी बैठकमा सर्वसम्मत थियो । तर, केही घण्टामै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाए, करिब ९० मिनेट कुराकानी गरे, अनि अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाउने सन्देश दिए ।


यसैगरी, संविधान संसोधनका लागि गृहकार्य गर्न शनिबारको बैठकले बनाएको नेपाल नेतृत्वको कार्यदल बुधबारको बैठकले भंग गर्‍यो । बैठकपछि प्रवक्ता श्रेष्ठले भनेका थिए, ‘यसअघि बसेको सचिवालय बैठकमा त्यसप्रकारको कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा समझदारी बने पनि संविधान संशोधन आवश्यकतानुसार हुँदै जान सक्ने संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ । तर अहिल्यै नै संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य आजको बैठकले देखेन । त्यसकारण अब कार्यदल छैन ।’


यी दुवै निर्णयसँग प्रधानमन्त्री ओलीले बैठकमै आफूविरुद्ध प्रहार भएको, घेराबन्दीमा पारिएको सुनाएका थिए । यतिमात्रै होइन, प्रधानमन्त्री ओलीले जस्तैसुकै घेराबन्दीविरुद्ध लड्न आफू तयार रहेकोसमेत बताएका थिए ।


यो पनि

वामदेवलाई राष्ट्रियसभामा लैजान नेकपामा कसरी जुटेको थियो सहमति ?

नेकपामा कार्यदलको तरंग : दिनभर भेटघाट, अन्योल कायमै

प्रधानमन्त्रीको चेतावनी : वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्दिनँ

नेकपाको कार्यदल भंग, गौतम आएपछि सचिवालयका सबै सदस्य सांसद

सचिवालय बैठकमा ओलीले भने- 'मेराविरुद्ध खेल भयो, सामना गर्न तयार छु'

सचिवालयको निर्णय, त्यसलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्री ओलीको चुनौती र आफूविरुद्ध घेराबन्दी भएको अभिव्यक्तिले नेकपाभित्रको पछिल्लो बबन्डरको अवस्था झल्काउँछ । फागुन लागेयता नेकपाभित्र एकपछि अर्को तनाव उत्पन्न भएका छन् ।


प्रधानमन्त्री ओलीको चाहनाविपरीत अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यदलको प्रतिवेदन तयार, ‘कमिसन अडियो प्रकरण’ मा तत्कालीन सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा, प्रधानमन्त्रीको जन्मोत्सव पछिल्लो केही दिनमा उत्पन्न विवाद हुन् । र, यसमा संयोग कस्तो परेको छ भने जिल्लामा विशेष अभियानका कार्यक्रम सुरु भइरहँदा विवादैविवादले पार्टी केन्द्रमा ठूलै हलचल छ ।


पार्टी एकताको २० महिनापछि भावनात्मक एकता र पार्टीको भावी योजना लिएर नेकपा विशेष अभियानमार्फत कार्यकर्तामाझ पुग्दैछ । तर, यही बेला नेकपाको केन्द्रमा विवादैविवाद छन् ।


फागुन ४ देखि नेकपा पार्टी एकता सुदृढीकरण र जन–सम्बन्ध विस्तार विशेष अभियान लिएर जिल्लामा गएको छ । यद्यपि फागुनलाई नेकपाले अभियानको लागि तयारी महिना भनेको छ । यसैअनुसार अहिले प्रदेशस्तरीय भेला, बैठक र प्रशिक्षण चलिरहेका छन् ।


अभियानको मूल नारा ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने छ । तर, सुदृढ पार्टी बनाउने उद्देश्यमा केन्द्रको विवादले असर पारेको छ । सुशासन र लोकप्रिय सरकारको नारालाई अडियो प्रकरणले विवादमा तानिएपछि प्रधानमन्त्रीका विश्वास पात्र तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिनुपर्ने अवस्थाले नेकपाका कार्यकर्तालाई धेरै नै झस्काएको छ । केन्द्रको विवादले पार्टीको विशेष अभियान प्रभावित हुन सक्ने नेकपाकै नेताहरुको चिन्ता छ ।


स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले शीर्ष नेताहरुमा देखिएको विवादले कार्यकर्तालाई उत्साहकासाथ पार्टीको आवश्यकताअनुसार परिचालित हुने र भावनात्मक एकताको सन्देश दिन नसकिने बताउँछन् । ‘केन्द्रमा नै विवाद चर्किने अवस्था सिर्जना हुँदा निःसन्देश कार्यक्रम त होलान् तर कार्यकर्तालाई उत्साहकासाथ पार्टीको आवश्यकताअनुसार परिचालित हुन सक्दैनन् । त्यसकारण पार्टीलाई एकताबद्ध बनाउने, विधि अनुशासनमा राख्ने, पार्टीप्रति जनताको विश्वास बढाउने, लोकतन्त्र, समृद्धिका लागि पार्टी समर्पित छ भन्ने सन्देश दिने काम पार्टी नेतृत्वबाट हुनुपर्छ,’ रावलले भने, ‘खासगरी यो काम पार्टीले नेतृत्व गरेको सरकारबाट हुनुपर्छ । तबमात्रै जनता र कार्यकर्तामा उत्साह सिर्जना गर्न सक्छौं । यद्यपि तीन महिने कार्यक्रमका निर्धारित कार्ययोजना सम्बन्धित पार्टी समितिहरुले गरिनैहाल्छन् ।’


यति नै बेला प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्र भएको दाबी गरेका छन् । फागुन ४ मा गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री ओलीले पार्टीभित्रै र बाहिरबाट सरकार ढाल्न भएको षड्यन्त्रबारे बोलेका थिए । उनको त्यो अभिव्यक्तिले पनि नेकपाभित्र भइरहेको शक्तिसंघर्ष र पार्टीमा ठीकठाक छैन भन्ने सन्देश कार्यकर्तामाझ पुगेको छ । तर, शीर्ष नेताहरुले नै ठूला मुद्दामा फरक–फरक धारणा बनाएर पार्टीभित्रको अन्योलता बढाइदिएका छन् ।


केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले केन्द्रको विवादले अभियानमा असर गर्न सक्ने भए पनि कार्यकर्ताले स्वार्थी नेताहरुको सपना पूरा हुन नदिने बताउँछन् । उनले इतिहासका विभिन्न कालखण्डमा नेताहरुले पार्टी उहिल्यै सकिसकेको तर जिल्ला र गाउँमा रहेका कार्यकर्ताले पार्टी जोगाएको बताए । ‘इतिहास हेर्ने हो भने पार्टीलाई बचाउन, टिकाउन कार्यकर्ताले नै महत्वपूर्ण भूमिका खेलेका छन् । अहिले हामी पार्टीका नीति, विचार, राजनीतिक, वैचारिक, दार्शनिक एवं सैद्धान्तिक उद्देश्यहरु लिएर अभियानमा छौँ । यसमा र गाउँदेखि प्रदेश हुँदै संघीय सरकारको प्रचार गर्नेसम्मका विषय छन्,’ थापाले भने, ‘कहिले के विषय त, कहिले के विषय उचालेर अनावश्यक विवाद जन्माउने काम भएको छ । केही कुपात्रहरुले पार्टीलाई बिगार्न सकिन्छ कि भनेर कोसिस गरेका छन् । हामी उनीहरुको उद्देश्य सफल हुन दिन्नौँ । जनता र कार्यकर्ताले यसलाई अस्वीकार गर्छन् ।’


पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुका बीचमा वैचारिक, संगठनात्मक एवं भावनात्मक एकता विकास गर्ने नेकपाले अभियानको उद्देश्य राखेको छ । ‘केन्द्रको विवादले कार्यकर्ताको मन थोरै थोरै बिग्रार्न सक्छ । तर, यस्ता विवाद आइरहन्छन्,’ नेकपा वाग्मती प्रदेश अध्यक्ष नारायण दाहालले भने, ‘नेताहरुमाथि विवाद गर्छन् । नेताहरुले अभियान चलाउने हैन । तल एकदम ठीक छ । ठूलो असर गर्दैन ।’ तीन महिने अभियानमार्फत् पार्टीभित्रका गुटबन्दी निरुत्साहित गर्ने नेकपाको योजना छ ।


केन्द्रका अरु विवाद

प्रधानमन्त्री ओलीको चाहनाविपरीत एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन । एमसीसी सम्झौतालाई लिएर नेकपामा केही महिनायता विवाद छ । माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय समिति बैठकले तीन सदस्यीय एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो । २० दिनको अध्ययनपछि कार्यदलले एमसीसी यथास्थितिमा संसद्‍बाट अनुमोदन गर्न नहुने निष्कर्षसहित अध्यक्षद्वयलाई फागुन ९ मा प्रतिवेदन बुझायो ।


संसद्‍बाट चाँडो एमसीसी अनुमोदनको पक्षमा रहेका प्रधानमन्त्री ओलीको चाहना कार्यदलको सिफारिसले तत्कालका लागि रोकेको छ । यसले पनि शीर्ष नेताहरुबीच थप विवाद बढाएको छ ।


यस्तै, फागुन ८ मा सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भयो । अडियो टेप बाहिरिएपछि सरकारका प्रवक्ता रहेका सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्‍यो । प्रहार आफूमाथि पनि सोझिन सक्ने संकेत र विपक्षी दलका प्रतिक्रियापछि प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई राजीनामा गर्न लगाए । बाँस्कोटा ओलीका विश्वास पात्र हुन् । बाँस्कोटाको राजीनामा आए पनि नेकपाभित्रैबाट सेक्युरिटी प्रेस खरिद प्रकरणमा प्रधानमन्त्रीमाथि पनि प्रश्न उठेको छ ।


प्रमुख प्रतिपक्षी कांग्रेसले बाँस्कोटाले गरेको मोलमोलाइको अडियोबारे प्रधानमन्त्रीसँग माग गरेको छ । अडियो प्रकरणलगत्तै प्रधानमन्त्रीको जन्मोत्सव विवाद उत्पन्न भयो । आफ्नो ६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री ओली दलबलसहित आइतबार आफ्नो जन्मथलो तेह्रथुमको आठराइ पुगे । त्यहाँ पुगेर राजसी शैलीमा जन्मदिन मनाएको भन्दै प्रमुख विपक्षीलगायत दल र नेकपाभित्रैबाट आलोचना भइरहेको छ ।


जन्मदिनमा नेपालको नक्सासहितको केक काटेकोमा पनि आलोचना भएको छ । आफैंले जारी गरेको पार्टी आचारसंहिताविपरीत प्रधानमन्त्रीले जन्मदिन मनाएको भन्दै नेकपाभित्रैबाट पनि विरोध भइरहेको छ । नेकपाले माघ ५ गते जारी गरेको आचारसंहितामा छ, ‘छोरी, छोराको विवाहलाई सरल, मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्‍नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।’


अभियानमा के भइरहेको छ ?

शीर्ष नेताकै उपस्थितिमा ‘पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान’को तयारीका रुपमा प्रदेशस्तरीय प्रशिक्षण नेकपाले सुरु गरिसकेको छ । प्रदेश–५ बाँकेको कोहलपुरबाट सुरु भएको प्रदेशस्तरीय भेला बिहीबार र शुक्रबार वाग्मती प्रदेशले काठमाडौंमा गर्दैछ ।


फागुन महिनाभर सात भौगोलिक र गैरभौगोलिक क्षेत्रमा चल्ने अभियानको बैठक तथा भेलालाई नेकपाले अभियानको तयारी महिना भनेको छ । चैत्र १ बाट जिल्ला जिल्लामा अभियान सञ्चालन गर्ने योजना नेकपाको छ । प्रादेशिक भेला र बैठक फागुन ४ देखि सुरु भएर फागुन २१ मा सकिनेछन् । अहिलेसम्म प्रदेश ५, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण भेला भएका छन् । भेलामा शीर्ष नेताहरु नै सहभागी हुने गरेका छन् ।


वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन हुँदैछ । अभियानसम्बन्धी कार्ययोजना माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समितिको दोस्रो बैठकबाट पारित भएको थियो ।

प्रकाशित : फाल्गुन १५, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?