कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नेकपामा कार्यदलको तरंग : दिनभर भेटघाट, अन्योल कायमै

बबिता शर्मा

काठमाडौँ — संविधान संशोधनका लागि कार्यदल बनाउने सचिवालयका नेताहरुबीचको समझदारीले नेकपाभित्र र बाहिर ठूलै तरंग पैदा भएको छ । कार्यदल बनाउने विषय औपचारिक निर्णय नभए पनि सामाजिक संजाल र नेताहरुका लगातार औपचारिक प्रतिक्रिया आएका छन् ।

नेकपामा कार्यदलको तरंग : दिनभर भेटघाट, अन्योल कायमै


शनिबार सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाउने गरी अनौपचारिक छलफल भएको थियो ।

पार्टी उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयका नेताहरुबीचको सहमतिसँगै र राष्टियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधनका लागि कार्यदल बनाउने छलफल भएको थियो ।

योसँगै नेकपा र गौतमको आलोचना सुरु भएको थियो । आलोचनाको आयाम फराकिलो भएपछि नेकपाका शीर्ष नेताले आन्तरिक परामर्श र भेटघाट बढाएका छन् । औपचारिक निर्णय नभएपनि यस विषयमा राजनीतिक तरंग आएपछि नेकपाका शीर्ष नेता विभिन्न विकल्पसहित संवादमा जुटेका हुन् ।

सोमबार यसै विषयलाई लिएर नेकपाका नेताहरुबीच बाक्लो भेटवार्ता भएको छ । सोमबार बिहान नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधान संशोधनबारे उत्पन्न भएको तरंगका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यसमा गौतमलाई राष्ट्रियसभामा लैजाने सुरक्षित उपायको खोजीबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली पार्टी प्रशिक्षणका लागि पोखरा जानुपर्ने भएपछि अध्यक्ष दाहालले पार्टीका अन्य नेताहरुसँग यसबारे छलफल गरेका छन् । दुई अध्यक्षबीचको सल्लाहअनुसार अध्यक्ष दाहालले कार्यदलसँग जोडिएका पात्रसँग संवाद गरेका हुन् ।

सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा सामूहिक भेट अगाडि अध्यक्ष दाहाल र नेता नेपालबीच छलफल भएको थियो । स्रोतका अनुसार छलफलमा औपचारिक रुपमा कार्यदल गठन गर्ने वा अनौपचारिक हिसाबले अध्ययन अगाडि बढाउने भन्नेबारे छलफल भएको थियो । तर, ठोस छलफल के भयो भन्ने दुवैतर्फका नेताका सचिवालयले जानकारी गराएका छैनन् ।

दाहाल–नेपाल भेटलगत्तै सोमबार नै दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष दाहाल, नेता नेपाल, महासचिव विष्णु पौडेल र खिमलाल देवकोटाबीच छलफल भएको थियो ।

एक घन्टा लामो छलफलमा नेताहरुबीच पार्टीबाट औपचारिक निर्णय अगावै कार्यदलबारे विवाद भएको भन्दै त्यसको विकल्पमा छलफल भएको धुम्बाराही स्रोतले बतायो ।

यद्यपि नेताहरुले अनौपचारिक छलफल भन्दै प्रतिक्रिया दिएका छैनन् । दाहाल–नेपाल भेटअगाडि नेपाल आफैले पनि कार्यदल सदस्यका रुपमा चर्चामा आएका सुवास नेम्वाङ र देवकोटासँग भेट गरेका थिए । आफ्नै निवास कोटेश्वरमा बोलाएर नेपालले कार्यदलबारे नेम्वाङ र देवकोटासँग कुराकानी गरेका थिए ।

सामाजिक सञ्जाल र मिडियमा आलोचना भएपछि नेपालले नेम्वाङ र देवकोटालाई अनौपचारिक छलफलका लागि भन्दै बोलाएका थिए ।

कार्यदल गठनबारे पार्टीबाट औपचारिक जानकारी बिना बाहिर बहस भएको भन्दै संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने र कार्यदल गठन भएको भए औपचारिक जानकारी किन आएन भन्दै द्वय नेताहरुले नेपाललाई प्रश्न गरेका थिए ।

संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन नमिल्ने सुझाव नेपाललाई दिएका थिए । तर, पार्टीले औपचारिक निर्णय गरे यसबारे अध्ययन गर्न सकिने नेम्वाङ र देवकोटाले नेपालसँग बताएका थिए ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी उपयुक्त समयमा संविधान संसोधन गर्ने आश्वसनपछि नेता गौतम राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रियसभामा जान तयार भएका छन् । तर, विगतमा जस्तै संसद प्रवेश गर्ने उनको यो प्रयासको पनि आलोचना भएको छ ।

दिनभर कार्यदल र संविधान संशोधनको चर्चा र भेट भए पनि सोमबार साँझसम्म यसबारे नेकपाको थप प्रतिक्रिया आएको छैन । महासचिव पौडेलले यसअघि शनिबारको सचिवालय बैठकमा कार्यदल गठन र यसका पात्रका विषयमा छलफल भए पनि औपचारिक निर्णय नभएको बताइसकेका छन् ।

२१ मंसिर, ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गौतम बर्दिया–२ बाट कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए । त्यसयता उनको संसद प्रवेशको गृहकार्य र कोसिस कायमै छ ।


प्रकाशित : फाल्गुन १२, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?