कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वामदेवलाई राष्ट्रियसभामा लैजान नेकपामा कसरी जुटेको थियो सहमति ? 

वामदेवले भने : मविरुद्ध किन खेल भइरहन्छ ?
बबिता शर्मा

काठमाडौँ — राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने परिस्थिति भएपछि मात्रै संसद् प्रवेश गर्ने नेकपा उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रियसभामा जान तयार भएका छन् ।

वामदेवलाई राष्ट्रियसभामा लैजान नेकपामा कसरी जुटेको थियो सहमति ? 

शनिबार बसेको सचिवालय बैठकमा सहमति जुटेपनि नेकपाले बुधबारको बैठक मार्फत गौतमलाई राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रियसभामा पठाउने औपचारिक निर्णय गरेको हो ।


शनिबारको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने सहमतिसँगै संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलसमेत गठन भएको थियो ।


राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनेबाहेक संविधान संशोधनमा प्रधानमन्त्री ओलीको चासो रहेका विषयमा कार्यदललाई काम दिन नहुने सचिवालयका बहुमत सदस्यको धारणापछि कामै नगरी कार्यदल भंग भएको छ ।


बुधबार बसेको सचिवालय बैठकलले कार्यदल भंग गरेको हो । ओली राष्ट्रियसभामा सदस्य थप्‍ने र राष्ट्रपतिलाई अधिकार थप्ने गरी संविधान संशोधन गर्न चाहन्थे ।

पार्टी सचिवालयमा कार्यदललाई लिएर देखिएको विवादपछि तत्कालका लागि गौतम राष्ट्रियसभामा जान तयार भएको सचिवालयका एक नेताले बताए ।

बुधबारको बैठकमा सुरुमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यदलको निर्णय सार्वजनिक नगर्ने भन्ने निर्णय भए पनि बाहिर गएको, बाहिर गएपछि त्यसको प्रतिक्रिया पार्टी भित्र पनि बाहिर पनि सकारात्मक नआएको बताएका थिए । सचिवालयका एक सदस्यका अनुसार त्यसपछि दाहालले 'कार्यदल के गरौँ, वामदेव गौतमलाई के गर्ने ? त्यो पनि निर्णय गरौँ,' भन्ने प्रस्ताव राखेका थिए ।


त्यसपछि प्रधानमन्त्री ओली बोलेका थिए । ‘के छ र ! तपाईहरूले निर्णय गर्नुभएकै छ नि ! त्यहि निर्णय ल्याउनुस् न !’ ओलीको भनाई उद्धृत गर्दै सचिवालयका ती सदस्यले भने । त्यसपछि नेता नेपालले पनि वामदेवलाई शर्त नराख्न आग्रह गरे ।

झलनाथ खनालले पनि वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाउँ तर गौतमले शर्त नराख्न आग्रह गरेका थिए । त्यसपछि गौतम आफैले ‘पछि भए पनि संविधान संशोधन गर्नुहोला, अहिले म पार्टी निर्णयअनुसार राष्ट्रियसभामा जान्छु,’ भनेको ती नेताले बताए ।

सबैले शर्त नबनाउनुस् भनेर आग्रह गरेपछि गौतम राष्ट्रियसभामा जान तयार भएका हुन् ।

‘अहिले नै यसलाई संविधान संशोधनसँग नजोडौं भनेपछि वामदेव तयार भए । त्यसपछि सर्वसम्मतिले निर्णय भयो,’ ती सदस्यले सुनाए ।

त्यसपछि गौतमले थप बोलेका ती नेताको दाबी छ । उनका अनुसार गौतमले भनेका थिए, ‘मविरुद्ध किन खेल भइरहन्छ ? म पनि सँगै काम गरेको हुँ । मेराविरुद्धमा किन लागिन्छ ? कि पार्टीबाट निकाल्नुस्, कि दोहोरो भूमिका कसैले नखेल्नुस् ।’

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन १४, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?