प्रधानमन्त्रीको चेतावनी : वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्दिनँ

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् ।

मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध 'खेल' भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएका हुन् ।

सचिवालयका केही नेतालाई फोन गरेर ओलीले वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगर्ने चेतावनी दिएको स्रोतले बतायो ।

बुधबार बसेको सचिवालय बैठकमा 'अन्य सदस्यहरूले पहिल्यै निर्णय गरेर आएकाले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरौँ' भनेर असन्तोष मिश्रित भाषामा स्वीकृति दिएको सचिवालयका एक सदस्यले बताए ।

तर, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वामदेव गौतमको विषयमा सचिवालय बैठकमा सर्वसम्मत भएकाले प्रधानमन्त्रीले उल्ट्याउन नमिल्ने दाबी गरे । 'वामदेव कमरेडको विषयमा बैठकमा सर्वसम्मत निर्णय भएको थियो । पार्टीको त्यो निर्णय एक अध्यक्षले उल्ट्याउने भन्‍ने नै हुँदैन,' उनले भने ।

सम्बन्धित समाचारः

सचिवालय बैठकमा ओलीले भने- 'मेरा विरुद्ध खेल भयो, सामना गर्न तयार छु'

प्रकाशित : फाल्गुन १४, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सचिवालय बैठकमा ओलीले भने- 'मेराविरुद्ध खेल भयो, सामना गर्न तयार छु'

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको र त्यसको मुकाबिला गर्न तयार रहेको बताएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने, राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनेसहित राष्ट्रपतिको अधिकार थप्‍नेसम्मका विषयमा संविधान संशोधनको प्रसंगलाई एकै ठाँउ राखेर प्रधानमन्त्री ओलीले आफूविरुद्ध 'खेल' भएको बताएका हुन् ।

‘पछिल्ला घटनाक्रमहरू जसरी विकसित भएका छन् । मेरोविरुद्धको खेल हो । तर म सबै कुराको सामना गर्न तयार छु,’ बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धत गर्दै सचिवालयका एक सदस्यले भने, ‘निर्णय त तपाईंहरूले गरेरै आउनुभएको थियो । ल भैइहाल्यो । वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजा‌औं । अरु निर्णय गर्दै जाउँला ।’

राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यको संख्या थप्‍ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव ओलीको भएको सचिवालय सदस्यले जानकारी दिए । तर, प्रधानमन्त्रीको उक्त प्रस्तावमा सचिवालयका अरु सदस्यले असहमति जनाएका थिए । वामदेवलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि कार्यदल गठन गर्न सबै सहमत भएका थिए । उक्त सहमतिअनुसार माधवकुमार नेपाल नेतृत्वमा कार्यदल गठन भएको थियो । कार्यदललाई राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्‍न पाउने र मधेसकेन्द्रित दलका चासोमा पनि काम गर्न सक्‍ने जिम्मेवारी दिने सचिवालयको निर्णय थियो ।

यसैलाई लिएर प्रधानमन्त्री ओलीले बुधबारको बैठकमा आफ्‍नो असन्तुष्टि र योजना सुनाएका हुन् । र, शनिबार बसेको सचिवालयले गरेको निर्णय गोप्य राख्‍ने सहमति पनि भएको थियो । सहमतिको २४ घण्टा नबित्दै कार्यदल गठन गोप्य राख्‍ने निर्णय नेता ईश्वर पोखरेलले चुहाएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए । तर, सचिवालयका एक नेताले प्रधानमन्त्री ओलीकै चाहनाअनुसार भंग गर्ने योजनामा नेपाल नेतृत्वको कार्यदल गठनको विषय बाहिर ल्याइएको बताए ।

सबैतिरबाट नेकपाको आलोचना भएपछि बुधबारको बैठकले नेपाल नेतृत्वको कार्यदल भंग गर्ने निर्णय गरेको छ । साथै बैठकले नेता गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

गौतम निवास भैंसेपाटी हुँदै पार्टी सचिवालयका बहुमत सदस्यहरूले आफूविरुद्ध लगातार दबाब बनाएको ओलीको बुझाइ छ । एमसीसी सम्झौता चाँडो संसद्‍बाट अनुमोदन गराउने प्रधानमन्त्रीको चाहना पनि पार्टीभित्रकै कार्यदलको सिफारिसपछि थप अन्योलमा परेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ १५:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×