गठबन्धनमा जुटेन सहमति- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनमा जुटेन सहमति

पटक–पटक छलफलमा सहमति जुट्न नसकेपछि एक्लाएक्लै चुनावमा जाने तयारी
हरि गौतम, नवीन पौडेल, ठाकुरसिंह थारू

रुकुम पूर्व, परासी र नेपालगन्ज — लुम्बिनी प्रदेशका केही जिल्लामा गठबन्धनमा आबद्ध दलले एक्लाएक्लै चुनावमा भिड्ने तयारी थालेका छन् । पटक–पटक छलफलमा बसे पनि सत्ता गठबन्धनमा आबद्ध दलबीच सहमति जुट्न नसकेपछि उनीहरू एक्लाएक्लै स्थानीय तह निर्वाचनमा जाने तयारीमा लागेका हुन् । खास गरी सहमति जुट्न नसकेका जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा क्रियाशील छन् ।

रुकुम पूर्वमा जिल्ला तहमा गठबन्धन नहुने निष्कर्षसहित दलहरूले गठबन्धन बैठकको बिट मारेका छन् । वडा वा कुनै पालिकामा गठबन्धन गर्न सके सोही पालिका वा वडाले गर्ने भन्दै उनी पार्टीगत उम्मेदवार छनोटमा लागेका छन् । दलहरूमा आकांक्षीको संख्या ठूलै देखिएको छ । विशेष गरी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा आकांक्षी धेरै देखिएका छन् । तीन गाउँपालिका रहेको जिल्लामा कांग्रेसमा नौ जनाले उम्मेदवार हुन रुचि देखाएका छन् । माओवादी केन्द्रका तर्फबाट सिस्नेमा चार, भूमेमा नौ र पुथाउत्तरगंगा गाउँपालिका अध्यक्षमा आठ जना आकांक्षी देखिएका छन् । गठबन्धनको सम्भावना नदेखिएपछि एक्लै उम्मेदवार छनोटको तयारी थालेको कांग्रेस जिल्ला सभापति केशरमान रोकाले बताए ।

‘पटक–पटकको कोसिस सफल भएन,’ उनले भने, ‘मतका आधारभा दावी हुने भयो । यसो गर्दा गठबन्धनको सम्भावना रहेन ।’ माओवादी जिल्ला संयोजक होमप्रकाश श्रेष्ठले जिल्लामा आफ्नो उपस्थिति धेरै हुँदा आकांक्षी पनि धेरै देखिएको बताए । आकांक्षीको व्यवस्थापन गरेर पार्टीले सर्वसम्मत र सर्वस्वीकार्य उम्मेदवार छनोट गर्ने श्रेष्ठले बताए । एमाले जिल्ला अध्यक्ष टोपबहादुर ओलीले आवश्यकताअनुसार जुनसुकै दलसँग पनि तालमेलका लागि छलफल हुन सक्ने बताए । यद्यपि, यसबारे निर्णय भने भई नसकेको ओलीले जानकारी दिए । कोही दल तयार भए एमाले पनि छलफलका लागि तयार रहेको उनको भनाइ छ ।

भाग नमिल्दा समस्या

पश्चिम नवलपरासीमा सत्ता गठबन्धनबीच भागबण्डामा कुरा नमिल्दा उम्मेदवार चयन हुन सकेको छैन । एमालेले अधिकांश वडाध्यक्ष र रामग्राम नगरपालिका प्रमुखको टुंगो लगाएको एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले बताए । यता, पाँच दलीय सत्ता गठबन्धन भने मिलेर जाने कुरामै असहमत देखिएको छ । गठबन्धन गर्नेमा सहमति भए पनि कहाँ कुन दललाई नेतृत्व दिने भन्ने विषयमा कुरा बाझिएको नेपाली कांग्रेस पश्चिम नवलपरासीका सभापति अर्जुनकुमार पोखरेलले बताए । ‘धेरै पटक बैठक भयो । तर, सहमति जुट्न सकेन । सबैका आ–आफ्नै अडान छन्,’ उनले भने, ‘जिल्लाभरि नै तालमेल गरौं भन्ने हाम्रो प्रयास हो । तर, मिल्ने ढंगले कुरा अगाडि बढिरहेको छैन ।’ माओवादी केन्द्रले गठबन्धन न्यायोचित हुनुपर्ने बताउँदै आएको छ । स्थानीय तहको आवश्कयताअनुसार गठबन्धन गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम यादवले बताए । नेताहरू तालमेलमा अल्झिरहँदा कार्यकर्ता भने अलमलमा परेका छन् ।

महिलालाई बेवास्ता

राजनीतिमा महिला समावेशिताको नारा दिएर नथाक्ने राजनीतिक दलहरू यसपल्टको स्थानीय तह निर्वाचनमा अनिवार्य बाहेकका पदमा महिलालाई उम्मेदवार सिफारिस गर्नै अनिच्छुक देखिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टीलगायतका दलले बाँकेमा एक जना महिलालाई पनि वडाध्यक्षका लागि सिफारिस गरेका छैनन् । संविधानले पालिका प्रमुख, उपप्रमुखमा एक जना महिला अनिवार्य, वडाको हकमा एक जना दलित महिला र एक जना खुला महिला सदस्य अनिवार्य गरेको छ । तर, ८१ वडा रहेको बाँकेमा एक जना महिलाले पनि वडाध्यक्षमा प्रतिस्पर्धा गर्ने वातावरण दलहरूले मिलाएका छैनन् । ‘उम्मेदवारीकै विषयलाई लिएर पुरुषहरूबीच मारामार छ । महिलालाई स्थान दिन्छौं भन्ने दलहरूको गफै हो,’ राजनीतिक शास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यले भने, ‘नेताहरूको नियतमा खोट छ । महिला समावेशिताका मुद्दा नारा मात्रै हो ।’ दलहरूले कर्मकाण्डीका रूपमा महिला समावेशिताको मुद्दा उठाउने गरेको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा २३ र कोहलपुर नगरपालिकामा १५, वैजनाथ गाउँपालिकामा ८, खजुरा गाउँपालिकामा ८ र डुडुवा गाउँपालिकामा ६ वडा रहेका छन् । त्यस्तै, राप्ती सोनारीमा ९ र नरैनापुरमा ६ वडा छन् । तर, कुनै पनि दलले एक जना महिलालाई पनि उम्मेदवार सिफारिस गरेका छैनन् । गत स्थानीय तह निर्वाचनमा पनि एक जना महिला वडाध्यक्ष हुन सकेका थिएनन् ।

बर्दियामा भने गत स्थानीय तह निर्वाचनमा तीन जना महिलाले वडाको नेतृत्व गर्ने अवसर पाएका थिए । गुलरियामा दुई र ठाकुरबाबा नगरपालिकामा एक महिलाले वडाध्यक्षको जिम्मेवारी पाएका थिए ।

प्रकाशित : वैशाख ८, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

चुनावअघि दल अदलबदल

प्रमुख पद नपाएपछि अर्को पार्टीमा प्रवेश, अलमलमा मतदाता
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीका विभिन्न राजनीतिक दलका नेताहरू अहिले दल अदलबदलमा लागेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै वडादेखि पालिकास्तरसम्मका नेताहरूले दल फेरिरहेका छन् । दशकौंदेखि एउटा बिचार बोकेर हिँडेका नेताहरू एकाएक अर्को पार्टीमा लाग्दा मतदाता रनभुल्लमा छन् । 

सर्लाहीको कविलासी नगरपालिका–१ पिपरियाका फगुनी मण्डल वामपन्थी नेता हुन् । सर्वहाराको पार्टी भनेर राजनीति गर्दै आएका उनी दुई पटक एमालेबाट गाविसको प्रधानपञ्च भए । स्थानीय तह गठन भएको पहिलो निर्वाचनमा उनले एमालेबाट नगर प्रमुखको तयारीसमेत गरेका थिए । तर अन्तिम समयमा उनी पछि हट्नुपर्‍यो । मण्डल अहिले जनता समाजवादीमा प्रवेश गरेका छन् । उनले पटकपटक पार्टीले आफूमाथि अविश्वास गरेका कारण अर्को पार्टीमा प्रवेश गरेको जनाए ।

सोही ठाउँका गिरिधारी साहले मधेसवादको नाममा राजनीतिक यात्रा सुरु गरे । एमालेको विरोध गर्दै आएका उनी अहिले एमालेमै प्रवेश गरेका छन् । यसअघिका चुनावमा तत्कालीन राजपाबाट वडामा प्रतिस्पर्धासमेत गरेका थिए । एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेपछि उनी वडाको तयारीमा छन् ।

लामो समय मधेसकेन्द्रित दलमा लागेका कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादव एमालेमा प्रवेश गरे । महेन्द्र राय निकट रहेका उनी गत चुनावमा तत्कालीन राजपाबाट नगर प्रमुखमा विजयी भएका थिए । एमाले र अध्यक्ष ओलीको विरोध गर्दै आएका उनी गत शनिबार मलंगवामा ओलीकै हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् । मधेसकेन्द्रित दलमा संस्कार नभएको भन्दै उनले बाहिरिएको घोषणा गरे । मधेसकेन्द्रित दलमा एकअर्काको अस्तित्व स्विकार्न नचाहने प्रवृत्ति रहेको उनको आरोप थियो । ‘विभिन्न आन्दोलन गरेर मान्छे मार्न लगाउने, सहिद परिवारको बेवास्ता गर्ने मधेसवादी दलहरूको अहिले सत्तालिप्सामा मात्र ध्यान छ,’ उनले भने ।

यस्तै मधेस आन्दोलनमा लागेका विनय कर्ण गत चुनावमा एमालेमा प्रवेश गर्दै नगर प्रमुखका प्रत्याशी बनेका थिए । चुनाव जित्न नसकेका उनी केही दिनअघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरे । पालिकामा कांग्रेसको अवस्था यस पटक राम्रो भएका कारण उनी आएको हुन सक्ने पार्टीका नेता तथा कार्यकर्ताहरूले बताएका छन् । यता नेताहरूले दल अदलबदल गरिरहँदा आम मतदाता भने रनभुल्लमा परेका छन् । एक पार्टीको वकालत गर्दै आएका नेता फरक पार्टीबाट मतदाता रिझाउन पुग्दा उनीहरू असमन्जसमा परेका हुन् ।

गैरका स्थानीय अजयकुमार झाले नेताहरूले आफ्नो स्वार्थका लाग रातारात दल अदलबदल गर्ने गरेको आरोप लगाए । ‘सबै नेता सत्तामा मात्र पुग्न खोज्छन्, उनीहरू पार्टीको नीतिभन्दा पनि जित्ने दाउ खोजिरहेका छन्,’ झाले भने, ‘नेताहरूको दल अदलबदलले आम मतदाता तथा कार्यकर्ता कसलाई समर्थन गर्ने भन्ने अलमलमा परिरहेका छन् ।’ वडा र पालिका मात्र हैन यसअघिका चुनावमा केन्द्रीय तहका नेताहरूसमेतले दल अदलबदल गरेका थिए ।

उनीहरूकै सिको तल्लो तहका नेताहरूले गरिरहेको मतदाता बताउँछन् । यता, जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा नाम सिफारिस भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वडाध्यक्ष जानकीराम साह मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंस्थित निवासमा पार्टी प्रवेश गराएका हुन् ।

प्रकाशित : वैशाख ८, २०७९ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×