कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढीगंगामा ६६ प्रतिशत मत खस्यो 

अर्जुन शाह

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान भएको छ । कडा सुरक्षा व्यवस्थाबीच भएको मतदानमा अघिल्लो पटकजस्तो बुथ कब्जाका घटना हुन पाएनन् । प्रहरीका अनुसार त्रिशक्ति मावि मतदानस्थलमा भने दिउँसोतिर फर्जी मतको विषयलाई लिएर विवाद भएपछि केहीबेर झडप भएको थियो ।

बुढीगंगामा ६६ प्रतिशत मत खस्यो 

झडपमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरत थापा र उनका भाइबुहारी सिता थापा घाइते भएका छन् । त्यसबाहेक सबै मतदास्थलमा मातदान कार्य शान्तिपूर्ण रहेको थियो ।

वैशाख ३० को मतदानमा कांग्रेस कार्यकताले नियन्त्रणमा लिएर मतदान गरेको भनिएको वडा नम्बर ४ थुमा मतदानस्थलमा ९९ दशमलव ४१ प्रतिशत मत खसेको थियो । तर बिहीबारको पुनः मतदानमा उक्त मतदानस्थलमा ७० दशमलव ८० प्रतिशत मतमात्रै खसेको छ ।

यस्तै एमाले कार्यकर्ताले नियन्त्रणमा लिएर मतदान गरेको भनिएको वडा नम्बर ९ स्थित त्रिशक्ति मतदानस्थलमा त्यसबेला ९० दशमलव ८९ प्रतिशत मत खसेकोमा बिहीबार भएको मतदान ६० दशमलव ८९ प्रतिशतमात्रै मत खसेको छ ।

पुनः मतदानमा कुल ६६ दशमलव ७५ मत खसेको छ । वैशाख ३० गतेको मतदानमा ७५ दशमलव ७८ प्रतिशत मत खसेको थियो । १३ हजार ६५९ कुल मतदाता रहेको बुढीगंगामा ९ हजार ११७ मत खसेको छ ।

एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदमा प्रतिस्पर्धी छन् । मतगणना बिहीबार रातिदेखि नै सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २३, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?