पातको जात
म पात बनेर यत्रो वर्ष
रुखमा एक्लै झुन्डिरहेथेँ
अस्ति
एउटी फुच्ची रगताम्य भएर आई
अनि, मै झुन्डिएको हाँगामा झुन्डिई ।
म झुन्डिँदा बाँच्थेँ
ऊ बाँच्न नसकी झुन्डेकी रै’छे !
मैले त्यही दिनबाट झुन्डिन छोडिदिएँ !
ऊ झुन्डिएको हाँगामा हेर्दै मान्छेहरु रोइरहँदा
तिमीलाई त देखिनँ मैले !
त्यतिखेर तिमी कहाँ थियौ ?
ती केटीको योनिबाट खसेको रगतसँगै
म पनि नदीमै खसेँ
म ‘एक पात’
बग्दैबग्दै भेरी नदी पुग्दा
म प्रेमले भेरी नदीमा बगिरहँदा,
प्रेम गर्यो भनेरै
अर्को केटालाई बगाइदिएछन् !
भेरीको पानीमा आफ्नै छाया बगेको हेर्दै
बगरमा कति मान्छे रोए
तर, तिमीलाई त्यहाँ पनि देखिनँ त मैले
तिमी कहाँ थियौ ?
केटाको रगत मेरो जीउभरि लतपतियो
रगत भेरीले पखाल्लाजस्तो लागेन
म नयाँ पानी खोज्दै महाकाली पुगेँ ।
अँ !
मैले तिमीलाई त्यहाँचाहिँ देख्न पाएँ !
तिमी जोडजोडले चिच्याइरहेथ्यौ—
‘हाम्रो लिपुलेक फिर्ता गर् !!’
त्यही बेला पनि, ‘अछुत रगत छोइन्छ’ भन्दै
मलाई नदीमा अगाडि बग्न पनि नदिने
वारिपारि गर्न पनि नदिने
तिमी नै हैनौ ?
म तिम्रो अनुहार याद गरिरहनेछु ।