कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली सङ्गीतको पहिलो हिट गीत ‘कालो ठेकी’ र गायक उस्ताद साहिंला

नारायणगोपाल

(गीतकार नगेन्द्र थापाले २०२७ भदौको धूपी पत्रिकामा नारायणगोपाललाई ‘स्वर–सम्राट’को उपाधि दिँदै लेख लेखेपछि त्यसको २० वर्षसम्म नारायणगोपाल स्वयम्ले ‘म स्वर–सम्राट होइन’ भन्दा पनि सारा जगतले उनलाई सो पदवीबाट सुसज्जित गर्‍यो ।

नेपाली सङ्गीतको पहिलो हिट गीत ‘कालो ठेकी’ र गायक उस्ताद साहिंला

नारायणगोपाल नेपाली सङ्गीतका ‘मिथ’जस्ता त्यसै बनेका होइनन् । सङ्गीत र सङ्गतलाई उनले जहिले पनि ‘चुजी’ बनाएका थिए ! आफ्नो समयका मूर्धन्य साहित्यकार, चित्रकार, कवि, गीतकार तथा प्रतिभावान् सङ्गीतकारसँग मात्र सङ्गत गरेका उनी साहित्यका गहिरा अध्येता र बहुआयामिक सौखिन थिए ! वि.सं. २०३० सालको कात्तिकमा बाजा, गीत र नाचसम्बन्धी त्रैमासिक पत्रिका ‘बागीना’को सम्पादक भएर आफ्नो सामाजिक, सांस्कृतिक सोच–चिन्तनलाई त्यति बेलाको समाजका निम्ति पस्केका छन् । सोही पत्रिकाको सम्पादक रहँदा नारायणगोपालले साहित्य र सङ्गीतका विविध पाटाहरूको गहन अध्ययन गरेका थिए !

'बागीना'को तेश्रो अङ्क (२०३१ वैशाख–असार) मा आइपुग्दा ‘लेखक नारायणगोपाल’को जन्म हुन्छ ! उनले उस्ताद साहिंलाका बारेमा ‘कालो ठेकी : विस्मृतिको घेराबाट’ शीर्षकमा पहिलो लेख लेखेका थिए । नारायणगोपाल दिवंगत भएको आज ३० वर्ष भएको छ । २०४७ मंसीर १९ गते दिवंगत भएका नारायणगोपालको यो त्यो लेख बुकहिलको प्रकाशोन्मुख पुस्तकबाट यहाँ प्रस्तुत गरिएको छ ।)

भाग्यको विडम्बना भनूँ कि के भनूँ, मेरो उहिलेको एकजना टोले चिनाजानी छ– त्यसो त ऊ धेरैजसो भारततिर नै अल्मलिरहन्थ्यो । बेलामौकामा टुप्लुक्क देखा पर्न आइपुग्छ, यतैकतै काठमाडौं सहरका गल्लीहरूमा अनि पुराना दिनहरू केलाउँदै घण्टौंसम्म गफमा भुलिराख्छौं हामी । केही समयमात्र भयो, मैले भने थाहा पाएको ऊ एक जमानाको विख्यात उस्ताद ‘कालो ठेकी’ साहिंलाको एकमात्र बाँचिराख्ने सुपुत्र भनेर । उसको शुभ नाम हो, रत्नमान श्रेष्ठ ।

म यस्तै दस–एघार वर्षको हुँदो हुँ त्यतिबेला, जुन बखत मेरा पिताज्यू (उस्ताद आशागोपाल) को साङ्गीतिक बैठकमा सम्मिलित हुन आउने धेरै उस्तादहरूमध्ये एकजना केही दुब्लो, केही पुड्को, खैरोमा अलिअलि सेतो मिसिएको जुँगा पालेको, कमिज, सुरुवाल र नेपाली टोपी लाउने, पान चपाउँदै लौरो टेकी हिँड्ने अनि निधारमा रातो टीको लगाइराख्ने व्यक्तिलाई अनायासै सम्झन पुग्छु । उनको शुभनाम हो, अष्टमान श्रेष्ठ । अष्टमान श्रेष्ठलाई चिन्ने मानिसहरू अहिले सायद औंलामा गन्न सकिन्छ होला । त्यसैले नेपाली सङ्गीतको क्षितिजमा एकजना बहुचर्चित प्रतीभाको नाम भनिदिए धेरैथोरैले चिनिहाल्लान् कि भन्ने मेरो धारणा छ । उनको शुभनाम हो– कालो ठेकी उ. साहिंला । त, मैले भन्न खोजिरहेको कुरा के भने उ. साहिंलाको छोरो रत्नमान अनि रत्नमानको पिता उ. साहिला हो भनेर मलाई ठ्याम्मै थाहा थिएन । यद्यपि बाबुछोरा दुवैलाई मैले आजभन्दा करीब बीस–बाईस वर्षअघि नै चिनेको थिएँ, बेग्लाबेग्लै रूपमा ।

आश्चर्यको कुरा त के भने रत्नमानले पनि आफ्नो खानदानी विद्या (सङ्गीत) लाई छोडेको रहेनछ । अथवा यसो भनौं, उसले पनि आफ्ना स्व. पिता उ. साहिंलाले जस्तै मीठामीठा गीतहरू गाउन सक्दो रहेछ । यो पनि मैले हालसालै मात्र थाहा पाएको हुँ । म कहाँसम्मको खत्तम रैछु भन्ने कुरा बल्ल थाहा पाएको छु मैले, कारणमा जसलाई बीस–बाईस वर्षअघि नै चिनेको थिएँ आफ्नै गाउँघरमा, तिनीहरूको यथार्थ कुरा अहिले आएर मात्र थाहा पाउनु के हाँस उठ्दो कुरा हैन र !

रत्नमानलाई आज–भोलि मैले रेडियो नेपालमा, नाचघरमा, जहींतहीं भेट्छु । भेटेपछि पुराना दिनहरू याद आउँछन्, यताउताका बात मार्छौं अनि बेलामौका हेरी उनका स्व. पिता उ. साहिंलाको पनि कुरा खोतल्छु । आखिर यो सानो गन्थन लेख्ने बेलासम्ममा मैले रत्नमानबाट धेरै नभए पनि थोरै कुराहरू थाहा पाएँ, जुन म अहिले पाठकहरूसमक्ष यसरी प्रस्तुत गर्दछु ।

‘कालो ठेकी’ उ. साहिलाको जन्म विसं १९५१ साल, आषाढ अष्टमी (तदनुसार १८९४ को जून महिना ?) को दिन काठमाडौंको देवपाटन भन्ने स्थानमा भएको रहेछ । जन्मकुण्डलीमा उनको नाम अष्टमान श्रेष्ठ रहृयो तर सम्भवतः आफ्ना मातापिताको तेस्रो सुपुत्र भएकोले होला, सानैदेखि सबैले उनलाई प्यारो गरेर ‘साहिला–साहिला’ भनेर सम्बोधन गर्थे । उनको बाल्यावस्था खेलकुदमा बित्यो तर १५–१६ वर्षको उमेरतिर उनले केही मीठामीठा धुनहरू गुनगुनाउन थालेको सुनेर घरका अनि टोलका मान्छेहरूले के अड्कल लगाए भने यदि एकजना राम्रो सङ्गीत गुरुबाट उचित शिक्षा तथा निर्देशन पाएको खण्डमा साहिंलाजस्तो प्रतिभाले नेपाली सङ्गीत संसारमा एकदिन भुइँचालो ल्याउनेछन् । साहिंलाजस्तो प्रतिभालाई सुमार्गतिर लैजाने महानुभावहरूको तत्कालीन काठमाडौंली समाजमा केही कमी थिएन । फलतः सुब्बा निरन्जनभक्त भन्ने एकजना साहिंला परिवारका हितैषी सज्जनले उनलाई सङ्गीतको शिक्षादीक्षा दिलाउन कलकत्तामा आफूसित लिएर हिँडे । त्यहाँ उनले विभिन्न गुरुहरूबाट सङ्गीत विद्या सिके । जस–जसबाट उनले त्यहाँ सिके, तिनीहरू केहीको नाम यसप्रकार छ– पं. लक्ष्मीकान्त, उ. सूर्य मिश्र, उ. शिव, उ. गफूर खाँ आदि आदि । भनिन्छ, करीब १६ वर्षसम्म उनले त्यहाँ सङ्गीत सिकिरहे, अनेकौं कठीन परिस्थितिहरूको सामना गर्दै ।

अनि एक दिन उनी पाल्पा पुग्छन् । त्यहाँ उनको विवाह हुन्छ, एउटा छोरी पनि पाउँछन् । कलकत्तामा पाएको शिक्षादीक्षा, पाल्पामा पाएकी स्वास्नी र छोरी अनि लट्टिपट्टी सबै बोकेर अनायासै एक दिन उनी काठमाडौं फर्किन्छन् । अब उनी देवपाटनको गाउँगाउँ, गल्लीगल्लीमा खेली बस्ने, बदमासी गरिहिँड्ने बालक हैनन् । अब त उनी एकजना तन्नेरी गायक– बंगाली, हिन्दी र बीचबीचमा फाट्फुट अंग्रेजी पनि बोल्ने उस्ताद भएर आएका छन् । अब उनी अष्टमान होइन, उनी अब उ. साहिंला भएर आएका छन् । उनलाई काठमाडौंका ठाउँठाउँबाट निम्तो आउँछ, गाउनको लागि । दिनरात आफ्नो गायनको जादुले विस्मित पारिदिन्छन्, आफ्ना तमाम श्रोतालाई । उनी जहाँजहाँ जान्छन्, त्यहाँत्यहाँ चर्चाको विषय भइदिन्छन्, प्रशंसाको पात्र भइदिन्छन्, फूलमालाले लादिन्छन्, ‘वाह ! वाह !’ को गुन्जन फैलिन्छ सम्पूर्ण वातावरणभित्र ।

उ. साहिंलाको त्यस्तो बढ्दो उन्नति भगवानलाई सायद मन परेन क्यारे, काठमाडौं आएको केही महिनापछि नै उनको पाल्पाकी सहभागिनीले उनलाई छोरी जिम्मा लाएर भगवानको घर गइन् । ६० सालको भुइँचालोले छोरोलाई पनि उठाएर लैजान्छ । उस्ताद साहेबलाई जीवन खल्लो लागेर आउँछ । अतीतका घातक स्मृतिहरूले उनको मुटु चरचराउँछ, सङ्गीत निष्प्राण भइदिन्छ अनि कण्ठ अवरुद्ध बन्छ । उनलाई धेरैले सम्झाए, बुझाए जीवनका कठोर तर लाचार नियमहरूबारे । यस्तो जीवनसित सङ्घर्ष गर्नु नै महानता हो भन्नेहरूले उनलाई अर्को विवाह गर्ने सल्लाह दिन्छन् । किंकर्तव्यविमूढ उ. साहिंला व्यवहार र परिस्थितिसित हार खान्छन् । विवश भएर दोश्रो विवाह गर्छन् उनले ।

दोश्रो विवाहपछि उस्ताद साहेबको जीवनमा फेरि एकपल्ट वसन्त आउँछ । अस्तिसम्म उजाड रहेको उनको बारीमा नयाँनयाँ पालुवाहरूले घुम्टो उघारिरहेको उनले पाउँछन् । चराहरूको चिरबिर गानामा उनलाई नाचौंनाचौं लाग्छ, मन्दमन्द बगिरहेको सुगन्धित हावाले उनको आङ सिरिङ भएर आउँछ अनि... !

अनि वि. सं. १९९१ (१९३५ ?) सालमा त्यसबेलाको एकमात्र गतिलो रेकर्ड निर्माता ‘श्री भद्रकाली रेकर्ड’का मालिक साहु बहादुरलाल जोशी, जनकलाल जोशी एण्ड कं. नेपालको निम्तोमा जीवनमा पहिलोपटक आफ्नो गीत रेकर्ड गर्न उनी फेरि एकपल्ट कलकत्ता पुग्छन् । मलाई थाहा छैन, उनले त्यहाँ कतिवटा गीत रेकर्ड गरे तर यताउता खोजेर तीनवटा ७८ आर. पी. एम. का उनका रेकर्ड मसित छन् । तीनवटा रेकर्डमा जम्मा ६ वटा गीतहरू छन्, जसमध्ये एउटा ‘पापी कृष्ण निर्मायाको बोली नसुनी’ भन्ने भजन अति मार्मिक ढङ्गबाट गाएका छन् । तीनवटा गजलहरूमध्ये एउटाको शब्द लेख्ने क्या. बालकृष्ण शमशेर जबरा (हालको बालकृष्ण सम) हो भन्ने कुरा रेकर्डमै कोरिएकोबाट थाहा पाउँछौं, जसको स्थायी पद यस्तो छः बिन्ती नछोड छाती यो आँखाको स्याही, घाँटी नरेट आँखीभौं तेस्रो घुमाई । उ. साहिंलाका तीनवटा गजलमध्ये त्यतिबेला सफल मानिएको चाहिँ ‘जालिमको जादू भरेको नजर बर्छी पनि छ, तलवार पनि’ हो । हुन पनि उनले यो गीत निकै रोचक ढङ्गबाट गाएको बुझिन्छ । अहिले पनि यस गजललाई गाउन सक्ने कति नेपालीहरू छन्, त्यो विचार गर्ने विषय छ ।

तीनवटा गजल, एउटा भजनबाहेक उनले दुईवटा अति लोकप्रिय झ्याउरे गीत पनि रेकर्ड गरेका छन् । यहाँनेर एउटा कुरा हामीले के भुल्नुहुँदैन भने उ. साहिंलालाई प्रख्यातिको चुलीमा पुर्‍याउने यही दुईवटा गीतको नै धेरै हात रहेको देखिन्छ । यी दुई गीत (झ्याउरे) हुन्– ‘साहिंलाजी चाँदनीको उकालीमा लाउँला ठूलो माया बरी लै’ र अर्को ‘कालो ठेकी नारान कालो काठको’ । कलकत्तामा गरेको रेकर्डमध्ये तत्कालीन नेपाली समाजमा सनसनी उत्पन्न गराउने गीत पनि यही ‘कालो ठेकी’ हो । भनिन्छ, नेपाली गीतको रेकर्ड बिक्रीको इतिहासमा ‘कालो ठेकी’जति अरू कुनै पनि रेकर्ड त्योभन्दा अघि बिक्री भएको थिएन । यो गीतले के बूढा, के तन्नेरी, के नानीहरू सबैलाई मोहित पारिदिन्छ । काठमाडौंका चोकगल्लीहरूमा झ्याली पिटिन्छ । पहाड मधेशतिर त झन् कति प्रिय भइदियो भने चाड, पर्व, विवाह, व्रतबन्ध, मेलापात आदि कुनै पनि पर्वमा यो गीत नबजे बिस्वाद मानिन्थ्यो । ‘कालो ठेकी’ उनको जीवनको एउटा यस्तो झयाउरे गीत हो, जसलाई उनका समकालीन उस्ताद तथा गायकहरूले त के उनी स्वयम्ले पनि उछिन्न सक्दैनन् । नेपाली हिट गीतको इतिहासमा ‘कालो ठेकी’को क्रमाङ्क प्रथम पंक्तिमा त आउँछ नै अनि यही गीतले गर्दा उनको उपनाम पनि ‘कालो ठेकी साहिंला’ रहन गएकोमा आश्चर्य मान्नुपर्ने केही देखिँदैन ।

कारण मनुष्य जातिको कुनै एउटा राम्रो गुण वा वस्तु देखा पर्‍यो भने उसलाई त्यही नामबाट पुकारिने परम्परा हाम्रो समाजमा मात्र हैन, पाश्चात्य मुलुकहरूतिर पनि पाइन्छ । अरूहरूको कुरा त छाडिदिऊँ म आफैं पनि एकताका ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गाएर सबैको ‘कान्छा’ हुन पुगेको मलाई अझै सम्झना छ ।

कालो ठेकीजस्तो एक जमानाको अति प्रचलित गीतका शब्दहरू पनि यहाँ दिएको खण्डमा अप्राङ्गिक नहोला ।

कालो ठेकी नारान कालो काठको

रातो ठेकी दारको

दिन आउँछ रिम्दै घुम्दै जोवन एक बारको

हजूर कर्मै रिसाउने ।


हातमा बाला नारान कानका सुना

माइतीले लाउँदैन

गएको जोवन बहेको पानी फर्केर आउँदैन ।

हजूर कर्मै रिसाउने ।


मैदानीको नारन लाको रीत

टुप्पो काटी लौरी

सानो हैन पिरती त चिसै हात दौडी

हजूर कर्मे रिसाउने...

‘कालो ठेकी’का शब्दहरू माथि दिएअनुसार स्वरलिपी पनि दिनुपर्ने हो तर समयाभावले गर्दा त्यो पूरा हुन नसकेकोमा मलाई खेद लागेको छ ।

क्या. बालकृष्ण शमशेर जबराले लेखेको ‘बिन्ती नछेड छाती’ भन्ने गजलबाहेक साहिंला उस्तादको रेकर्डको शब्द तथा सङ्गीत कसले दिएको त्यसबारे कहींकतै पनि उल्लिखित छैन । तर बुढापाकाहरू तथा रत्नमानकै भनाइअनुसार पनि उनले आफूले गाउने गीतको शब्द तथा सङ्गीत आफैं बनाउने गर्थे । खैर यो विवादलाई यहीं छाडेर अब उनको अर्को यात्रा क्रममा तिर लम्कौं ।

उ. साहिंलाले त्यतिञ्जेलसम्म दोस्रो विवाहबाट प्राप्त उनका सन्तानहरूको लालनपालनतिर त्यतिको ध्यान दिएको देखिँदैन तर १९९७ वि.सं.मा जुद्धशमशेरकहाँ नोकरी गरेकोले त्यस बेलादेखि आर्थिक तथा पारिवारिक भारले थिचेको हो कि भन्ने भान पर्न आउँछ । पछि भारतको बलरामपुर स्टेटमा चन्द्रशमशेरकी छोरीकहाँ पनि करीब ६ वर्ष बालबच्चासहित बिताएको कुरा मैले रत्नबाट थाहा पाएको छु ।

जीवनको अन्त समयतिर उनी फेरि काठमाडौं फर्किन्छन् । जतिजति बुढ्यौलीले छोप्दै ल्यायो, उतिउति उनी पिउने र गाँजासमेत तान्ने गर्न थाल्छन् । अनि देवपाटनको एउटा मध्यम वर्गीय परिवारमा जन्मने अष्टमान श्रेष्ठ उर्फ कालो ठेकी साहिंला ज्याठा, इन्द्रचोक, बांगेमुढा, न्हृयोखा, किलागल र अन्तमा चिकनमुगल आदि ठाउँहरूमा एकपछि अर्को डेरा सर्दै देशदेशान्तर घुम्दैफिर्दै, जीवनको तीतोमीठो फल चाख्दै २०१३ (सन् १९५७ ?) को माघ महिनामा यस लोकबाट अल्पिन्छन्, कहाँकहाँ हामी कसैले नदेखेको ठाउँमा । केही अमूल्य रत्नहरू छोडेर गएका छन् उनले हाम्रो सङ्गीतको भण्डारमा, ती सब आज कसरी, कहाँ हराए, कसलाई थाहा ?

(भूपेन्द्र खड्काको खोज, सङ्कलन र सम्पादनमा प्रकाशन हुन लागेको स्वरसम्राट नारायणगोपालको पूर्ण जीवनी ‘स्वरसम्राट नारायणगोपाल : अन्तर्वार्ता, आलेख र स्मृति’बाट !)

प्रकाशित : मंसिर १९, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?