टाप घोडा टाप- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टाप घोडा टाप

जोन स्टेनबेक

तबेलासँग जोडिएको दाना भण्डार–कोठाको कुनोमा चाङ मिलाएर राखिएको परालको नयाँ थुप्रो उभिएको थियो, जसको माथितिर पराल सोहोर्न बनाइएको फलामको चारदाँते ज्याक्सन फोर्क घिर्नीमा झुन्डिएको देखिन्थ्यो । भण्डार–कोठाको अर्को कुनोसम्मै परालको चाङ पहाडको भिरालोजस्तो गरी तेर्सो परेको थियो ।

नयाँ दानापानी राख्ने गरी कोठाको केही ठाउँ भने खाली थियो । विश्राम–कक्षको एकातिरबाट घोडालाई दाना खुवाउने तख्ताहरू देखिन्थे, तख्ताको चेपबाट घोडाका केही टाउकाहरू पनि देख्न सकिन्थ्यो ।

आइतबार मध्याहृनको समय थियो । आराम गरिरहेका घोडाहरूले परालका रयलपयल त्यान्द्राहरू कुटुकुट चपाइरहेका थिए । तिनले घरीघरी खुट्टा बजार्थे, घरी दाना डाँडीको काठलाई कोपर्थे । यसो गर्दा तिनको घाँटीमा बाँधिएका फलामे साङ्लाहरू कर्ल्याङकर्ल्याङ बज्थे । मध्यदिनको घामको प्रकाश भित्ता चिरिएको चरबाट भित्र पसेर परालको थुप्रोमा बजारिएको थियो । अल्छीलाग्दो मध्याहृन, हावाभरि झिङा भुन्भुनिएको घिं घिं आवाज सुनिन्थ्यो ।

तबेला बाहिरबाट मान्छेहरू चिच्याउँदै खेलिरहेको आवाज आइरहेको थियो । कसैले उक्साइरहेका थिए, कसैले हौसला बढाउँदै थिए, त कसैले खिसिट्युरी गर्दै ! उनीहरू घोडाका टापलाई फालेर अङ्कुसेमा छिराउने खेल खेलिरहेका थिए । तर तबेलाको भण्डार–कक्षभित्रको वातावरण भने शान्त थियो, अल्छीलाग्दो थियो तर न्यानो थियो ।

भित्र लेनी एक्लै थियो । ऊ घोडालाई दाना हाल्ने डाडीमुन्तिरको प्याकेजिङ गर्न बनाएको काठको बाक्साछेउको परालमा बसिरहेको थियो । डाँडमा पराल हालिएको थिएन, रित्तो थियो । लेनी परालमा धुम्म परेर बस्दै अघिल्तिर लम्पसार परेको निर्जीव कुकुरको छाउरोलाई एकटक हेरिहेको थियो ।

लेनीले मृत छाउरोलाई निक्कै बेरसम्म हेरिरहृयो । त्यसपछि आना यामानको हातलाई खल्तीबाहिर निकाल्यो र छाउरोलाई प्याट्ट हान्यो । शिरदेखि पुच्छरसम्म बिस्तारै हान्दै मरे–जिम्दोको पक्को गर्‍यो ।

लेनी छाउरोको छेउमा गएर अलक्क बस्यो, ‘तँलाई किन मर्नुपरेको ? तँ मुसाजस्तो सानो त छैनस् । मैले तँलाई बेस्सरी समात्या नि हैन ।’ लेनीले छाउरोको मुन्टो उचालेर उसको अनुहारमा हेर्‍यो, ‘तँ मरेको था’पाए भने जर्जले मलाई खरायो खेलाउनै दिन्नन् अब ।’

उसले थोरै पराल खोतलेर छाउरोलाई त्यहाँ राख्यो र माथिबाट अरू परालले छोपिदियो । छोपिएको ठाउँ अलिक अग्लो भयो । लेनीले छाउरो पुरिएको ठाउँलाई एकटकले हेरिरहृयो । उसले भन्यो, ‘गल्ती त भैहाल्यो । यति स्यानो गल्तीले झाडीमै ग’र लुक्न त पर्दैन कि ! बरु म हृयाँ आउँदा छाउरो पैल्यै मरिसक्या थ्यो भनेर भन्दिन्छु, जर्जलाई ।’

उसले मरेको छाउरोलाई परालबाट खोतलेर बाहिर निकाल्यो र ध्यानपूर्वक हेर्‍यो । अनि फेरि छाउरोको कानदेखि पुच्छरसम्म चलाएर हेर्‍यो । उसले रुन्चे हुँदै भन्यो, ‘तर जर्जले था’पाइहाल्छन् । जर्जले जे पनि था’पाइहाल्छन् । उनले पक्कै भन्नेछन्– तैंले मारेको’स् भन्ने था’छ मलाई । अझ ढाँट्न पो खोज्छ बा ! अब खेलाउलास् नि खरायो ! तँलाई खरायो दियो भने बर्बाद पार्छस् भन्नी था’भैहाल्यो नि !’

लेनी अचानकसँग रिसायो, ‘सब तैंले गर्दा त हो नि ! त्यत्तिकै किन मर्नु पर्‍या तँलाई ? तँ मुसोजस्तो स्यानो त छैनस् नि !’ उसले पराल खोतलेर छाउरोलाई उचाल्यो र पर हुर्‍याइदियो । बजारिएको ठाउँतिर छाउरोको पिठ्युँ फर्कियो । ऊ घुँडा खुम्च्याएर थुचुक्क बस्यो र फुस्फुसायो, ‘अब मैले खरायो खेलाउन नपाउने भएँ । जर्जले दिँदै दिँदैनन् ।’ अतिशय आपतले रन्थनिएर ऊ घरी अघि, घरी पछि गर्दै फन्को लाउन थाल्यो ।

बाहिरबाट घोटाको टाप फलामको ठोसोमा झुन्डिँदा आउने किङ्लिङ्ग आवाज भित्र आयो । मान्छेहरू चिच्याएको कोरस पनि भित्र पस्यो । लेनी जुरुक्क उठ्यो र छाउरोलाई उठाएर अघिकै ठाउँमा ल्यायो । अनि छाउराको छेउमा बस्यो । उसले छाउरोलाई एकफेर फेरि यताउति गरेर चलायो । ‘तँ अझ सानै थिइस् !’ उसले भन्यो, ‘भन्न त भन्थे नि तिनोर्ले छाउरो सानै छ, धेरै नचला भनेर ! तर मलाई के थाहा त यत्ति खेलाउँदा नि त मरिहाल्छस् भनेर ?’ उसले आफ्ना औंलाले छाउराका लत्रेका कानलाई मुसार्‍यो । ‘हुन त जर्जले गाली नगर्ला कि !’ उसले आफैंलाई ढाडस दियो, ‘यो जाबो छाउरो मर्दैमा जर्जलाई केही हुने त होइन नि !’

कर्लीकी श्रीमती तबेलाको छेउतिर देखा परी । ऊ बिरालोको चालमा यस्तरी लुसुक्क आउँदै थिई कि लेनीले उसलाई देख्तै देखेन । उसले चम्किलो सुतिको कपडा र अस्ट्रिचको प्वाँख छापिएको रातो चप्पल लगाएकी थिई । उसले अनुहारमा मस्तसँग मेकअप गरेकी थिई भने कपाललाई ससेजको जस्तो देखिने गरी बेलनाकार दुई चुल्ठा पारेकी थिई । आफ्नो बगलमै आइसकेपछि मात्रै लेनीले उसलाई देख्यो र टाउको उठाएर हेर्‍यो ।

लेनीले झटपट छाउरोलाई परालले छोपिदियो । चुसेको आँपजस्तो सेप्किएको मुख लाएर उसले आइमाईतिर हेर्‍यो ।

‘के छ हँ त्यहाँ ?’ उसले लाडिएर सोधी ।

लेनीले उसलाई बडाबडा आँखाले हेर्‍यो, ‘जर्जले मलाई तिमीसँ केही नगर्नू, बोल्दा नि नबोल्नू भन्या छन् ।’

ऊ हाँसी, ‘भनेसी जर्जले तिम्लाई यो गर, त्यो नगर भनेर आदेश दिन्छन्, होइन ?’

उसले तल छाउरो पुरिएको परालतिर हेर्‍यो, ‘जर्जले भनेका तिमीसँ बोलें भने उस्ले मलाई खरायो खेलाउनै नदिने रे ! ।’

उसले नरम स्वरमा भनी, ‘कर्ली रिसाउँछ भनेर तिम्रो साथी डरा’को हो । अँ, था’छ ? कर्ली के यैले भाँच्चेको हातलाई घाँटीको फित्तामा झुन्ड्यार बस्या छ । आइन्दा फेरि कर्लीले तिमीसँ झगडा गर्न आयो भने अर्को हात नि भाँच्दे हुन्छ ।’ म केही भन्दिनँ । कर्लीको हात मेसिनले खा’को हो भनेर ढाँट्नै पर्दैन ।’

तर पनि लेनीले फकिने सुर देखाएन, ‘नाइँ हुँन्न । म तिमीसँ बोल्दिनँ के ! जाऊ तिमी !’

ऊ परालमा घुँडा मारेर लेनीको बगलमा बसी । ‘सुन !’ उसले भनी, ‘अहिले सप्पै जना बाहिर टाँप–घोडा खेलेर बसिरा’छन् । बल्ल चार बज्यो । अहिल्यै तिन्को खेल सकिन्न । कोही आउन्नन् । अनि एक छिन कुरा गर्न के हुन्छ र ! मसँ कस्सैले कुरा गर्न मान्दैनन् । मलाई कस्तो अत्यास लागिरा’छ ।’

लेनीले भन्यो, ‘भनिसकें त, मैले तिमीसँ कुरा गर्न हुन्न के !’

‘म कस्तो एक्ली छु हेर त । साह्रै अत्यास लाउँछ,’ उसले उदास हुँदै भनी, ‘तिम्ले त जोसँ गफ गर्न नि पाउँछौ तर मेरा त कोई छैनन् । कुरा गरे नि, नगरे नि उही कर्लीसँ मात्रै हो । अरू कसैसँ गफ गरेको था’पायो भने कर्लीले मार्छ । बेफ्वाँकमा रिसाउँछ । म पनि त मान्छे हुम् । मलाई नि सबैसँ गफ गर्न मन लाउँच ।’

लेनीले दोहोर्‍यायो, ‘भनिसकें त, मैले तिमीसँ कुरा गर्न हुन्न भनेर ! तिमीसँ गफ गर्नी हो भने मलाई आपत् पर्छ ।’

उसले विषय फेरी, ‘अनि त्याँ परालले छोपेर के लुका’को नि ?’

लेनीले भर्खरै बिर्सेको दुःख फेरि उर्लेर आयो । ‘मेरो छाउरो हो,’ उसले निन्याउरो हुँदै भन्यो, ‘मेरो पुन्टे छाउरो !’ अनि उसले छाउरोलाई छोपेको पराल हटायो ।

‘अनि कसरी मर्‍यो त ?’ ऊ उत्सुक हुँदै कराई ।

‘यस्तो सानो त छ अनि !’ लेनीले भन्यो, ‘म ऊसँ खेल्दै थें... अनि खेल्दाखेल्दै उस्ले मलाई टोकम्लाजस्तो गर्‍यो... अनि मैले नि हात फालेर झड्कालेको । अनि... अनि यल्लाई चोट लागेच... मर्‍यो !’

केटीले उसलाई सान्त्वना दिई । ‘फिक्कर नलेऊ । कुकुरै मर्‍या त हो नि ! अर्को पाइहालिन्छ ! जाबा कुकुर जाँसुकै पाइन्छन् ।’

‘त्यस्तो मात्रै कहाँ हुन्छ ?’ लेनीले आफ्नो बह पोख्न थाल्यो, ‘तर जर्जले था’पाए भने मार्छन् । मलाई खरायो खेलाउनै दिन्नन् ।’

‘किन नि नदिने ?’

‘भन्या थे नि मलाई । आइन्दा केही बिगारिस् भने खरायो खेलाउन पाउन्नस् भनेर !’

ऊ लेनीको झन् नजिकै गई र फकाउँदै भनी, ‘नडराऊ, केही हुन्न ! बोल्दैमा के हुनी हो र ! सुन त, बाहिर सप्पै जना चिच्याउँदै खेलिरा’छन् । खेलमा चिच्याइरहेका छन् । था’छ, तिनोर्ले चार डलरको बाजी थापेर खेलिरा’छन् त्याँ । खेल नसकी कोई आउन्नन् । डराउन पर्दैन ।’

‘तिमीसँ कुरा गरेको जर्जले देखे भने मार्छन् !’ लेनीले सावधान हुँदै भन्यो, ‘उन्ले नबोल्नी भन्या थे ।’

केटीको अनुहारमा रिस भरिँदै गयो । ‘मैले के गल्ती ग’री छु र ?’ उसले चिच्याउँदै भनी, ‘अरूसँ बोल्न नि नपाउनी मैले ? मेरो अधिकार छैन ? मलाई के ठान्छन् तिनोरू ? जे होस्, तिमी असल मान्छे लाग्छ मलाई । मैले तिमीसँ गफ गर्न किन नपाउनी, भन त ? मैले तिम्रो केही बिगार गरेजस्तो त लाउँदैन ।’

‘अँ, जर्जले भनेका, तिम्रो कारणले हाम्लाई आपत् पर्न सक्छ अरे !’

‘छ्या, पागल ! मैले तिम्लाई के आपत् पारेकी छु, ल भन त ? कैलेकाइँ त सोच्छु, मेरो मतलब कस्सैलाई छैन । तिम्लाई था’छ, मेरो जिन्दगी यस्तो थे’न पैला । आफ्नै मर्जीले केही गर्न खोज्दै थें । मलाई अझै केई गर्न मन छ... । म ठ्याक्कै सालिनासमा बस्थें । म सानै छँदा ग’की थें त्याँ । त्याँ हुँदा एक दिन यौटा टोली आ’को थ्यो, फिलिमको । त्यो दिन यौटा कलाकारसँ भेट भ’को थ्यो मेरो । तिनोरको यौटा कार्यक्रम थ्यो त्याँ । उस्ले मलाई पनि त्यो कार्यक्रममा काम गरुम् भनेर प्रस्तावै राख्या थ्यो तर आमाले जान दिनु भएन । म सानै थें नि त ! बल्ल १५ वर्ष त भा’थें तर उस्ले अभिनय गर्न उमेरले छेक्दैन भन्थ्यो । बरु उसैसँ गैदिनु पर्ने रै’छ । कमसेकम यस्तो गएगुज्रेको जिन्दगी बाँच्न त पर्दैन्थ्यो ।’

लेनीले मरेको छाउरोलाई ढाड, पेट सबैतिर चलायो, ‘अब हाम्रो नि आफ्नै सानो जग्गा हुन्छ... अनि खरायो नि हुन्छ,’ उसले आफ्नै धुनमा भन्यो ।

मनको कुरा भन्न नपाउँदै कसैले रोकटोक गरिहाल्छ कि भनेर केटी पनि आफ्नै लयमा फटाफट भन्दै गई, ‘अर्कोपटक मैले यौटा केटोलाई भेटें, जस्ले सिनेमामा काम गर्थ्यो । म ऊसँ रिभर साइड डान्स प्यालेसमा गएँ । उस्ले भन्थ्यो– तिमी कस्ती प्राकृतिक छ्यौ । फिलिममा खेल्ने भए मिलाइदिन्छु तर त्यसपछि चिठीमा कुरा गरौंला भनेर ऊ हलिउड फर्कियो ।’

आफ्नो कुराले कत्तिको असर पारेको छ भन्ने जाँच गर्न उसले लेनीलाई अल्लि नजिकैबाट हेरी । ‘तर उस्ले पठाएको चिठी कहिल्यै पाइनँ,’उसले कुरा बढाई, ‘पक्कै मेरी आमाले उस्का चिठी चोरेर लुकाइदेको हुनुपर्छ । अनि म त्यस्तो ठाउँमा बसिर’ने कुरा थेन, जहाँबाट म कतै पुग्न सक्दिनथें, जहाँ आफ्नो मर्जी चल्दैन, त्याँ किन बस्नी ? अरू त अरू, जहाँ आफूलाई कसैले पठा’का चिठीसमेत चोरी हुन्छन् । मैले आमालाई मेरा चिठी चोर्नुहुन्छ हो ? भनेर सोधेकी पनि थें तर उनले स्वीकार गरे पो ! अनि यसरी कर्लीसँ बिहे गर्न पुगें । उस्लाई पनि मैले त्यही रिभर साइड डान्स प्यालेसमा भेटेकी थें, आमासँ रिसाएर ग’को साँझ !’ उसले भनी, ‘सुनिराछौ नि ?’

‘को, म ? अँ, सुनिरा’छु !’

‘मैले यो कुरा ऐलेसम्म कसैलाई भनेकै थि’नँ । सायद भन्नु पनि हुँदैनथ्यो कि ! मलाई कर्ली कत्ति मन पर्दैन । ऊ राम्रो मान्छे होइन ।’

आफ्नो बह पोख्ने एकमात्र मान्छे पाएकोले होला, ऊ लेनीको अझै नजिक सरी र बगलमा बसी ।

‘म फिलिम खेल्न ग’को भए मेरा कत्ति राम्रा लुगा हुन्थे, अहिले तिनोरले लाउँछन् नि फिलिममा, त्यस्तै राम्रा ! सहरका ठूलठूला होटलमा बस्थें । अनि मेरा अनगिन्ती फोटा खिचिन्थे । फिलिमको प्रिमियर हुने बेलामा म पनि तिनोरसँ जान्थें र रेडियोमा बोल्थें । जे गरे पनि मैले पैसा तिर्नु पर्दैनथ्यो क्यारे ! फिलिमकी हिरोइनलाई किन तिर्नुपर्थ्यो ! जस्तै राम्रा लुगा लाए पनि पैसा लाग्दैन्थ्यो । त्यो केटोले त भन्थ्यो नि, तिमी कस्ती प्राकृतिक छ्यौ ।’ उसले मुन्टो उठाएर लेनीतिर हेरी अनि आफ्ना पाखुरा र हातलाई हावामा हलुकासँग फैलाएर 'म पनि अभिनय गर्न सक्छु’ भन्ने खालको हाउभाउ देखाई । औंला र नाडीको लचकताले नृत्यको बान्की देखाई ।

लेनीले गहिरो हाइ काढ्यो । बाहिरबाट घोटाका टाप बजारिएको र मान्छेहरू चिच्याएको आवाज आयो । ‘कसैले जितेजस्तो छ,’ कर्लीकी श्रीमतीले भनी ।

साँझको घाम झर्दै जाँदा प्रकाश भने तबेलाको भित्र उचालिँदै गएर डुँडमा पर्‍यो र घोडाका टाउकासम्मै पनि पोखियो ।

लेनीले भन्यो, ‘बरु यो छाउरोलाई बाहिर कतै लगेर सुटुक्क मिल्काइदिन पर्छ कि क्या हो । अनि त जर्जलाई यो छाउरो मरेको कुरा थाहै हुन्न । अनि त मैले खरायो खेलाउन पाइहाल्छु ।’

कर्लीकी श्रीमतीले रिसाउँदै भनी, ‘तिम्रो दिमागमा खरायोबाहेक अरू केही आउँदैन ?’

‘अब हाम्रो आफ्नै जग्गा हुन्छ, स्यानो !’ लेनीले व्याख्या गर्न थाल्यो, ‘त्यहाँ हाम्रो घर हुन्छ, बगैंचा हुन्छ, अल्फाअल्फाको घाँसबारी हुन्छ अनि त्यो अल्फाअल्फा चाइँ खरायोलाई खुवाउने हो नि ! म बोरा ले’र बारीमा जाने हो । बोरामा घाँस भरेर ल्याउने हो अनि खरायोलाई ख्वाउने हो ।’

उसले सोधी, ‘खरायो भनेपछि किन यति साह्रो हिरिक्कै भ’को ?’

यसको उत्तर दिनुपहिले ध्यानपूर्वक सोच्नुपर्ने अवस्था आयो लेनीलाई । ऊ सावधानीपूर्वक केटीको अझ नजिकै गयो, ठ्याक्कै उसको अघिल्तिर । र, फुस्फुसायो, ‘मलाई नि नरम भुत्ला भ’का राम्रा जनावर खेलाउन मन पर्छ । अस्ति नै यौटा मेलामा जाँदा मैले लामा भुत्ला भ’का खरायो देख्या थें । तिनोरू कम्ता राम्रा त थेनन् ! खेलाउने कुरा नभा’को बेलाँ मैले मुसा भए नि मुसारेर बस्थें ।’

कर्लीकी स्वास्नी लेनीदेखि अलिक परतिर सरी । ‘मलाई लाग्छ, तिमी पागल हौ,’ उसले भनी ।

‘नाइँ, हैन !’ लेनीले इमान्दरीपूर्वक बचाऊ गर्‍यो, ‘जर्जले भनेका, म त्यस्तो छँदै छैन । मलाई नि राम्रा कुरा खेलाउन मन पर्छ, नरम कुरा !’

कर्लीकी स्वास्नी थोरै आश्वस्त भई । ‘ए, नरम कुरा मन नपर्ने त को पो हुन्छ र ?’ उसले भनी । ‘सप्पैलाई मन पर्छ । मलाई नि सुती र मलमलको कोमलता छुन मन पर्छ । तिम्लाई मलमली छुन मन लाग्छ ?’

लेनी खुशीले खितित्त हाँस्यो । ‘अँ नि, कस्तो मन पर्छ !’ ऊ खुशीले चिच्याउँदै भन्यो, ‘अनि मसँ नि थियो अस्ति नै, यौटी महिलाले दे’की थिन्, मेरी आफ्नै काकी क्लाराले ! उन्ले मेरै हातमा दिकी थिइन, लगभग यी यत्रो पो थ्यो । ऐले मसँ त्यो मलमलको कपडा भैदे’को भए नि हुन्थ्यो नि !’ उसका आँखीभौंहरू खुम्चिए । ‘मैले काँ फालें, काँ !’ उसले भन्यो, ‘मलमल देख्नै नपाएको पनि कति समय भो कति !’

(जोन स्टेनबेकको प्रसिद्ध उपन्यास ‘अफ् माइस एन्ड मेन’को गनेस पौडेलद्वारा अनूदित उपन्यास ‘मुसा मानुष’लाई 'बुक–हिल'ले बजारमा ल्याएको हो ।)

प्रकाशित : आश्विन २४, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — असोज २५ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज २३ गते कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं(खनपरुदे प्रकाहा)को निधन भएकाले केन्द्रीय कार्यसमितको बैठक स्थगित गरिएको हो । 

प्रसाईंको शुक्रबार काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । प्रसाईंको निधनमा कांग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ ।

त्यस्तै असोज २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित : आश्विन २४, २०७७ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×