भट्टराईको आत्मसंस्मरण

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक गोविन्दराज भट्टराईले आफ्नो जीवन र संघर्षका प्रारम्भिक दिनहरूलाई सम्झेर लेखेको ‘सम्झनाको सागरमा केही दिन’ आत्मसंस्मरण प्रकाशित भएको छ । निजात्मक अनुभूति दिने शैलीमा लेखिएका डेढ दर्जन संस्मरणमा हाङ्देवा (ताप्लेजुङ), च्याङ्थापु (पाँचथर) देखिको संघर्षमय क्षण र झापाको घैलाडुब्बामा आएर माध्यमिक तहको पढाइमा भेटिएका केपी ओलीसहितका साथीसंगीको चर्चा भट्टराईले गरेका छन् ।

घैलाडुब्बाको आदर्श विद्या मन्दिरमा माध्यमिक तहको विद्यार्थी छँदा २०२५ सालतिर चर्किएको राजनीतिक खैलाबैलाबारे भट्टराईले लेखेका छन्– ‘ती दिनमा प्रतिबन्धित दलहरू झापामा र सिमानापारि सक्रिय थिए । एकपल्ट राधाकृष्ण मैनाली, सीपी मैनाली, उमाराम प्रसाईं आएर हड्ताल गर्ने विषयमा हामीलाई सम्झाएका थिए । खड्ग ओली मेरा एक वर्ष जुनियर हुन्, उनी कक्षा ९ मै पक्राउ परिसकेका थिए ।’


भट्टराईले अहिले प्रकाशित संस्मरण कृतिमा आफ्नो जीवनको युवाकालसम्मको महत्त्वपूर्ण घटना र संघर्षका क्षणलाई उतारेको बताए । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको यो संस्मरणअघि भट्टराईका ‘एक्लै एक्लै एक्लै’ र ‘विश्वविद्यालयमा अग्निपूजा’ पनि रत्नबाटै प्रकाशित छन् । यसबाहेक, उनका ‘सँगै बसौं यो रात’, ‘गोधूलीमा दश पाइला’ र ‘मिर्मिरेमा दश पाइला’ जस्ता निबन्ध संग्रह प्रकाशित छन् । उनका ‘मुगलान’, ‘मणिपुरको चिठी’, ‘सुकरातका पाइला’, ‘सुकरातको डायरी’ लगायतका आख्यान पनि चर्चित छन् ।

प्रकाशित : पुस १५, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

मायाको नाममा मन खिस्रिक्क

अरुणा उप्रेती

पछिल्ला दुई महिनामा मलाई पाँच वटा निजी स्कुलका शिक्षकशिक्षिकाले बालपोषणबारे अभिभावकलाई कसरी बुझाउने भनेर छलफल गरिदिन आग्रह गर्नुभयो । शिक्षकशिक्षिकाले बालबालिकालाई स्कुलमै खाजा दिने कुरा सुनाउँदा म छक्क पनि परें र दुःखी पनि भएँ । 

मकवानपुरगढी गाउँपालिकाले उपलब्ध गराएको रकमले ज्वालादेवी प्राविका विद्यार्थी स्कुलमा खाजा खाँदै । तस्बिर : प्रताप/कान्तिपुर 

एउटा स्कुलकी शिक्षिकाले भन्नुभयो, ‘मेरो स्कुलमा ६ वर्षको एउटा बच्चा छ । उसले चपाउनै जान्दैन । उसलाई दालभात सबै मिसाएर पिसेर दिनुपर्छ । बच्चाका आमाबाबुले उसलाई ख्वाउन गाह्रो हुने भनेर सबै कुरा मिक्सरमा पिसेर खान दिने गर्दा रहेछन् । बच्चाको दाँतको पनि राम्रो विकास भएको छैन ।’ यो सुनेर मेरो मन खिस्रिक्क भयो ।
बिचरा बच्चाले आमाबाबुको ‘विषालु प्रेम’ को फल भोगिरहनुपरेको छ । मैले भनें, ‘बच्चाका मातापितालाई भनिदिनुस्, यसरी बच्चालाई सबै कुरा पिसेर दिइयो भने उसको दाँत बिग्रन्छ । उसको पाचनशक्ति पनि कमजोर हुन्छ । दाँतले चपाउँदा अनुहारका मांसपेशीहरू पनि बलिया हुन्छन् । चपाएर खान नजाने बच्चालाई शारीरिक–मानसिक
असर पर्छ ।’

अर्की शिक्षिकाले पनि भन्नुभयो, ‘मेरो पनि ४ वर्षको बच्चालाई सबै कुरा लेदो नै बनाएर दिनुपर्छ । भिडियोमा बालगीत र नृत्य नदेखाई खानै खाँदैन उसले । खुवाउन साह्रै गाह्रो छ ।’ यस्ता कुरा सुनेपछि मलाई लाग्यो, अभिभावकले मायाको नाममा बालबालिकालाई ‘अस्वस्थ’ बनाउँदै छन् ।

अहिले त बच्चा ६ महिना नहुँदै मोबाइल हेर्न थाल्छ । यसले बच्चालाई समस्या पर्छ भन्ने स्पष्ट नै छ । सहरमा मात्र होइन, गाउँघरमा पनि मोबाइल चलाउने बालबालिकाको जमात बढ्दो छ । ‘स्मार्ट मोबाइल’ अहिले ‘स्टाटस’ को प्रतीक भएको छ । यो ‘स्टाटस’ ले भविष्यमा पार्ने समस्याबारे, मोबाइल र फेसबुक लतबारे बल्ल केही छलफल सुरु भएको छ । तर प्रायः मातापिता के सोच्छन् भने, मेरो बच्चाले ४ वर्ष पुग्दासम्म मोबाइल चलाउन जानेन भने लाजमर्दो हुन्छ । यस्तो गलत विचारले बच्चाको मस्तिष्कमा विष भरिन्छ भन्ने कुरा बालरोग र मनोरोग विशेषज्ञहरूले भनिदिनुपर्छ । बच्चाले आमाबाबुले बोलेको, हाउभाउ गरेकोबाट धेरै कुरा सिक्छ । उसलाई मोबाइल मात्र दिँदा त्यो सिकाइबाट वञ्चित हुन्छ ।

कतिपय स्कुलमा गएर अभिभावकहरूसँग छलफल गर्दा मैले बच्चाले चिउरा र मकै चपाउन नसक्ने हुनाले दूधमा कर्न फ्लेक्स र मुसेली हालेर खान दिने गरेको कुरा पनि सुनें । यसबाट मैले बुझें, कर्न फ्लेक्स दिँदा बच्चालाई बढी पौष्टिक तत्त्व भएको खाना दिइएको भन्ने आमाबाबुले ठान्दा रहेछन् । कर्न फ्लेक्स मकैबाटै बन्छ भन्ने उनीहरूलाई ज्ञान रहेनछ । मकैमा बाहिरबाट रेसादार पदार्थ मिसाउनै पर्दैन, लौह तत्त्व पनि केही मात्रामा मकैमा हुन्छ । मकै, भटमास खाँदा र मोही पिउँदा पर्याप्त लौह तत्त्व पाइन्छ भन्ने जानकारी पनि नभएर मकै अपहेलित, तर कर्न फ्लेक्स राम्रो मानिन थालेको होला !

एक वर्षअघि सुदूर पश्चिम पुगेका बेला त्यहाँकी एक महिला स्वयंसेविकाले भनेको कुरा मलाई याद आउँछ । तिनले भनेकी थिइन्, ‘हामीलाई बालबालिकालाई पौष्टिक खाना पम्पकिनको खीर बनाउन सिकाउने मानिसहरू काठमाडौंबाट आए । हामी पनि खुसी नै भयौं, नयाँ कुरा सिकिन्छ भनेर । तालिम दिनेहरूले हामीलाई पौष्टिकताले भरिपूर्ण पम्पकिन देखाउँदा पो थाहा भयो, यो त हाम्रै बारीमा फल्ने फर्सी पो रहेछ !’

त्यसै गरी अर्की महिलाले भनेकी थिइन्, ‘बच्चालाई हामीले भात–खाजा दिँदा खानै मान्दैनन् । तर एक जनाले बाहिरबाट ल्याएको राइस फ्लेक्स दिँदा मजासँग खान्छन् ।’ यो सुनेर हाँसो उठे पनि मैले नहाँसिकनै भनेकी थिएँ, ‘राइस फ्लेक्स र च्युरामा उस्तै पौष्टिक तत्त्व हुन्छ । तपाईंले राइस फ्लेक्स नपाए च्युरा नै ख्वाए पनि हुन्छ ।’ उनी दंग परिन् । मलाई चाहिँ दुवै एउटै हुन् नभनेकामा नमज्जा लाग्यो ।

‘मोलासेस’ पौष्टिक खाना हो र यसमा पर्याप्त मात्रामा क्याल्सियम र लौह तत्त्व पाइन्छ भन्ने कुरा मैले अमेरिका जाँदा थाहा पाएँ । लौ त्यो वस्तु किनेर नेपालमा पनि लैजानुपर्‍यो भनेर एक परिचितलाई भनेँ । मोलासेस उनकै घरमा रहेछ । खाँदा थाहा भयो, यो त नेपालमा सजिलै पाइने ‘चाकु पो रहेछ । यसमा भएको पौष्टिकताका कारण नै माघे संक्रान्तिमा खाने चलन चलाएका रहेछन्, पुर्खाहरूले । सहरबजारका हाम्रा अभिभावकलाई ‘चाकु बालबालिकालाई दिने गर्नू’ भन्दा ‘त्यस्तो जाबो चाकुले पनि बालबालिकालाई के फाइदा गर्ला र’ पो भन्ने हुन् कि ?

बालबालिकालाई सहजै बनाउन र खुवाउन आमाबाबुले अलिकता ध्यान दिए पुग्छ । पैसा खर्च गरीगरी पत्रु खाना किनेर खवाउँदा एक दिनका लागि त सजिलो होला, तर बच्चालाई मधुमेह, उच्च रक्तचाप, मोटोपन भयो भने जीवनभर परिवारलाई नै दुःख हुन्छ । पत्रु खाना खुवाएर बच्चालाई एक छिन खुसी पार्नुभन्दा रैथाने खाना नै खुवाउनुपर्छ ।

प्रकाशित : पुस १५, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×