४ लाखको पहिचान सम्मान खगेन्द्र संग्रौलालाई


काठमाडौँ — लेखक/साहित्यकार खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान–२०२०’ प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषले मंगलबार एक विज्ञप्ति जारी गर्दै ४ लाख २ हजार २ रुपैयाँ राशीको सम्मान संग्रौलालाई दिने घोषणा गरेको हो ।


सन् २०१५ मा स्थापित पुरस्कार कोषले चार वर्ष ‘पहिचान पुरस्कार’ प्रदान गर्दै आएको थियो । पहिचान स्थापनामा योगदान पुर्याएका व्यक्तित्वहरुलाई हरेक पाँच वर्षमा एकपटक ‘पहिचान सम्मान’ प्रदान गर्ने कोषले जनाएको छ । यो सम्मान प्राप्त गर्ने संग्रौला पहिलो लेखक हुन् ।
यसअघि २०१६ मा ‘फेरिदो सौन्दर्य’ निबन्ध संग्रहका लागि राजन मुकारुङलाई, २०१७ मा ‘गोयाङको सुगन्ध’ कविता संग्रहका लागि मृत्युपर्यन्त अर्जुन खालिङलाई, २०१८ मा ‘भुइँया’ ननफिक्सनका लागि यज्ञशलाई, २०१९ मा ‘नथिया’ उपन्यासका लागि सरस्वती प्रतीक्षा र ‘आफर’ संयुक्त कविता संग्रहका लागि उन्मुक्त पुस्तालाई २ लाख २ हजार २ रुपैयाँको पुरस्कार प्रदान गरिसकिएको छ ।
४ लाख बराबरकै पुरस्कार ४ वर्षसम्म पहिचानसम्बन्धी जुनसुकै विधाका कृतिलाई प्रदान गरिएपछि पुनः पाँच वर्षपछि राशी वृद्धि गरि सम्मान प्रदान गरिने कोषले जनाएको छ । सम्मानित हुने व्यक्तित्व भने जुनसुकै क्षेत्रका हुनसक्ने बताइएको छ । सम्मान चैत २२ गते काठमाडौंमा प्रदान गरिनेछ ।
प्रकाशित : पुस १६, २०७६ १९:०८