कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्रबारदेखि पोखरा साहित्यमय बन्ने

पोखरा — पर्यटकीय नगरी पोखरा फेरि एकपल्ट साहित्यमय बन्ने बएको छ। नेपाल लिटरेचर फेस्टिभलको आठौं संस्करण यही शुक्रबारदेखि फेवा किनारमा हुने भएको हो । फेस्टिभल लेकसाइडको बाराही मैदानमा मंसिर २७ देखि ३० सम्म हुनेछ ।

शुक्रबारदेखि पोखरा साहित्यमय बन्ने

पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाईटीले जनाएका छन्।


बुकवर्म फाउन्डेसनका निर्देशक अजित बरालले फेस्टिबलका अघिल्ला संस्करणबन्दा यसपल्ट नयाँ वक्तालाई उभ्याइने जानकारी दिए । उनले सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आएकाले यसपल्ट ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिभलमा ल्याउन लागिएको जानकारी दिए ।


४ दिनसम्म चल्ने फेस्टिभलमा १ सय १० बढी वक्ता सहभागी हुनेछन्। त्यसमध्ये १२ बढी विदेशी लेखक छन्। फेस्टिभलमा ४० बढी सेसनमा छलफल चल्ने छ । आयोजक बरालले विदेशी लेखकको उपस्थितीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखेको बताए ।


यसअघि लिटरेचर फेस्टिबलको पहिलोदेखि ४ संस्करण काठमाडौंमै गरिएको थियो। ५ औं संस्करणदेखि बने पोखरामा आयोजना गर्न थालिएको हो।


फाउन्डेसनका निर्देशक बरालले तत्कालीन समयमा काठमाडौंमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै फेस्टिभल भएको सुनाए। उनले भने, ‘भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेका थियौं तर अहिले पोखरा नै उत्तम ठाउँ भएको छ। यो पोखरेलीको पनि महोत्सव हो।’


अर्को आयोजक संस्था र्यान्डम रिडर्स सोसाईटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिभलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगेको दाबी गरे।


‘यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजिवीलाई नै सहभागी गराउन पाउँदा हामी पनि खुसी छौं।’


नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको ह्वाट द बुक क्लबकी उपाध्यक्ष अनिशा बराइलीले बताइन् । महोत्सवले पोखरालाई छुट्टि मनाउन आउने सहरमात्रको परिचयबाट माथि उठाएर साहित्यको केन्द्र बनाएको उनले बताइन्।


महोत्सवको आठौं संस्करणमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डीएससी साहित्य पुरस्कार प्रदान गरिने बताइएको छ।


पुरस्कारको राशी २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) रहेको छ। दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ८ वर्षदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको हो।


नेपाल साहित्य महोत्सवसँग सहकार्य गरी पुरस्कार वितरण गर्न पाउँदा पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले खुसी व्यक्त गरिन्।


पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रवर्द्धन गर्ने हुँदा यो सहकार्यले दुवैलाई फाइदा हुने विश्वास लिएको उनी सुनाउँछिन्।


महोत्सवको उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ। यसअघि कात्तिकमा महोत्सवको जनकपुर संस्करण भइसकेको छ ।

प्रकाशित : मंसिर २४, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?