कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीर्थ भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यज्ञशलाई 

नवलपरासी — यो वर्षको तीर्थ भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार लेखक तथा पत्रकार यज्ञशलाई प्रदान गरिने भएको छ । 

तीर्थ भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यज्ञशलाई 

स्वर्गीय पत्रकार तीर्थ भुसाल स्मृति ट्रस्टले गैरआख्यान, साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै यज्ञशलाई यो पुरस्कार दिने निर्णय गरेको जनाएको छ । ट्रस्टका अध्यक्ष प्राध्यापक झपेन्द्रेश्वर भुसालले पुरस्कार छनोट समितिको निर्णय अनुसार उनलाई सम्मान गर्न लागिएको जानकारी दिए ।


छनोट समितिमा भुसालसहित प्रध्यापक भूपेन्द्र शर्मा भट्राई (गण्डर्षि) र नवलपुर एफएमकी प्रबन्ध निर्देशक मुना दाहाल पनि थिए । समितिले पत्रकारिता र लेखनमार्फत् नेपाली समाजको बेग्लै चित्र उजागर गरेकाले उनलाई पुरस्कारका लागि योग्य ठानिएको बताएको छ । सोमबार कावासोतीमा आयोजना हुने एक समारोहमा उनलाई ताम्रपत्र र नगद राशिले सम्मान गरिने ट्रस्टले जनाएको छ ।


२०७४ मा प्रकाशित यज्ञशको गैरआख्यान कृति ‘भुइयाँ’का लागि उनले पहिचान पुरस्कार २०७४ र आबुखैरेनी वाङ्मय पुरस्कार पाएका छन् । उनले चर्चित भारतीय लेखक उदय प्रकाशका कृति मोहनदास (उपन्यास) र नेलकटर (कथा संग्रह) नेपाली भाषमा अनुवाद समेत गरेका छन् । उनले डेढ दशकभन्दा अघि पत्रकारिता थालेका थिए ।


पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएम १०४ दशमलव ७ मेगाहर्जका संस्थापक प्रबन्ध निर्देशक तीर्थराज भुसालको २ वर्षअघि दुर्घटनामा परि निधन भएको थियो । पत्रकारितामा स्नातकोत्तर भुसालले आफ्नै लगानीमा कावासोतीमा नवलपुर एफएमको स्थापना गरि संचालनमा ल्याएका थिए । नेपालमा एफएमबाट फेसबुक लाइभको ट्रेन्ड भुसालले नै नवलपुर एफएममार्फत पहिलो पटक सुरु गरेका थिए ।


रेडियोले उनै भुसालको स्मृतिमा साहित्य र पत्रकारितामा कलम चलाउने देशभरीका उत्कृष्ट श्रष्टालाई हरेक वर्ष यो पुरस्कार दिने व्यवस्था गरेको हो । गत वर्ष नवलपरासीकै कृयाशिल पत्रकार प्रेमचन्द्र रौनियारलाई यो पुरस्कार प्रदान गरिएको थियो ।


प्रकाशित : मंसिर २२, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?