कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मृत्युपछि महान् नभन्नू’

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफ्नो मृत्युपछि आफूलाई राम्रो मान्छेको रूपमा स्तुति नगाउन अपिल गरेका छन् ।

‘मृत्युपछि महान् नभन्नू’

पछिल्लो समय नेपाली खेलकुदमा खलनायकको रूपमा देखिएका थापाले आफूमाथिका आरोपको स्पष्टीकरणसमेत दिन नदिई अन्याय गरिएको बताए ।


‘लेखा समितिको निर्णयदेखि अख्तियारले सफाइ दिएकोसम्मका कुरामा तथ्य बंग्याएर प्रचार भएको छ,’ आत्मकथा प्रकाशनको अन्तिम तयारीमा रहेका थापाले आवरण सार्वजनिक समारोहमा भने, ‘म मरेपछि मेरो शरीर राष्ट्रिय खेलकुद परिषद् र एन्फामा राखेर जग हसाउँने काम नगरियोस्, आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिन र निर्णय म जीवित हुँदैमा पाउन चाहन्छु ।’


बुकहिल प्रकाशनले थापाको आत्मकथा सार्वजनिक गर्न लागेको हो । केही अस्वस्थ रहेका थापा परीक्षणका लागि देशबाहिर जाने भएकाले आत्मकथा प्रकाशन मिति केही पर धकेलिने भएको छ । बुकहिलले फागुनमा सार्वजनिक गर्ने तयारी गरेको छ । आत्मकथामा मुख्य: आफूमाथि लागेका आरोपको स्पष्टीकरणको रूपमा उल्लेख्य ध्यान दिएको थापा आफैंले प्रस्ट पारेका छन् । पत्रकार हिमेशरत्न बज्राचार्यको सहलेखनमा आत्मकथा आउने घोषणा गरिएको हो ।


७/८ वर्षदेखि नै पुस्तकको तयारीमा थिएँ तर त्यसयताका केही गम्भीर घटनाक्रमका कारण यो योजना स्थगित भयो,’ पत्रकार सम्मेलनमा थापाले भने, ‘पछिल्लो १ वर्षदेखि त्यसलाई तीव्रता दिइएको छ र लगभग तयारी सकिएको । यसमा मैले ममाथि भएको अन्यायको खुलासा गरेको छु र नेपाली खेलकुद र फुटबलप्रतिको गुनासो र चिन्ताहरू प्रस्तुत गरेको छु ।’


३५ वर्ष फुटबलका लागि योगदान गर्दा आफूमाथि चरित्रहत्या गर्ने काम मात्र भएको थापाको दावी छ । ‘अख्तियारले सफाइ दिएको मुद्दामा राजनीतिक प्रभावमा उन्मुक्ति भनियो, लेखा समितिले निर्णय नै नगरेका कुराहरू निर्णय भएको भनेर प्रचार भयो र नेपालको मुद्दा र फिफाले लगाएको आरोपलाई एउटै रूपमा प्रचार गरियो,’ उनले थपे ।


‘मेरो बालककालदेखि फुटबलमा प्रवेश, राष्ट्रिय टोली र कप्तान, २०५२ सालमा एन्फा अध्यक्षको रूपमा प्रशासनिक निकायमा प्रवेश र त्यसयताका सम्पूर्ण कार्यलाई समेट्ने प्रयास गरेको छु, यो पुस्तक गणेश थापालाई चिन्ने र मेरो कार्यकालमा नेपाली फुटबलको अवस्थालाई

चित्रण गर्न लामो समयसम्म प्रभावकारी रहनेछ ।’

प्रकाशित : कार्तिक ४, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?