कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कीर्तिपुरमा जापानी पुतली

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानी रंगमञ्चमा पुतलीको प्रयोग निकै पुरानो मानिन्छ । विभिन्न माध्यमबाट बनेका पुतलीहरूको चाल र संगीतको तालमा कथावाचन गरिने यो शैलीको यतिबेला कीर्तिपुरमा अभ्यास भइरहेको छ । जापानी रंगकर्मी इरिना सजी कहिले कपडाको पुतली उठाउँछिन् कहिले काठ र कागजका ।

कीर्तिपुरमा जापानी पुतली

उनी पुतलीलाई नै पात्र बनाएर तिनका लय, ताल र गति सिकाइरहेकी छन् । नेपाली थिएटरका लागि नौलो फर्म मानिने पुतली प्रस्तुतिलाई जापानी थिएटरको सहकार्यमा थिएटर मल कीर्तिपुरले कार्यशाला नै चलाइरहेको छ ।


जापानी पुतली थिएटरका अनुभवी निर्देशक सजीलाई साथ दिन जापानी कलाकारहरू एरी तोमोई, इजावा रेई र मियामोतो पनि कार्याशालामा सहभागी छन्, जहाँ १५ नेपाली रंगकर्मी तथा १० बालबालिका पुतली थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पुतली थिएटर तथा यसको समुदायसँगको सम्बन्धबारे छलफलसँगै पुतली निर्माण, सुव्यवस्थित सञ्चालन, त्यसबाट कथावाचन र प्रस्तुति अभ्यासमा व्यस्त छन् ।


जापानको उटरभिज न पर्फमेन्ससँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कुल र आसितेज नेपालको साथमा असोज २७ गतेदेखि थिएटर मलकै रंगमञ्चमा ११ दिनसम्म सञ्चालन हुने ८० घन्टाको कार्यशालामा सहभागीहरूले निकै उत्साहका साथ प्रशिक्षण लिइरहेको थिएटर मलका संस्थापक तथा रंगकर्मी केदार श्रेष्ठले बताए ।


रंगमञ्चमा पुतलीकै माध्यममा कथा प्रस्तुत गरिने यो थिएटर फर्म विशेषगरी बालबालिकाका लागि युरोप तथा एसियाका धेरै मुलुकमा निकै प्रचलित छ । तर नेपालमा भने यसको अभ्यास खासै नरहेकोले कार्यशाला गरिएको रंगकर्मी श्रेष्ठ सुनाउँछन् । श्रेष्ठका अनुसार, बालबालिका तथा वयस्क रंगकर्मीलाई सिर्जनात्मक अभिवृद्धिका लागि पुतली थिएटर अत्यन्तै प्रभावकारी छ ।


‘पुतली थिएटरमा काठ, कपडा, कागजका माध्यमबाट बनाइएका पुतलीका माध्यमबाट रंगमञ्चमा फरक तरिकामा प्रस्तुति दिन सकिन्छ,’ उनी भन्छन्, ‘कलाकारले यसमा आफ्ना वरिपरि रहेका विभिन्न वस्तुको प्रयोगबाट कलाकृति बनाउन सिक्छन् र वस्तुमा कस्तो भावको चरित्र प्रस्तुत गर्ने भन्ने पक्षसमेत अनुभव गर्न पाउँछन् ।’ यस्ता खाले थिएटरमा पुतली प्रयोग गरे पनि कथाअनुसार लय, धुन, गति र संवाद भने मानिसको नै हुन्छ तर अन्य थिएटरमा भन्दा कम संवाद रहने गर्छ ।


जापानी निर्देशक सजीका अनुसार एसियामा पनि आफ्नै खाले प्रस्तुतिसहितको पुतली थिएटरको लामो इतिहास छ । नेपालमा भाषाका कारण पुतली थिएटरमा केही समस्या आउने डर भए पनि नेपाली कलाकार र बालबालिकाले छिट्टै आफ्ना कुराहरू बुझेकोमा सजी दंग छिन् ।


‘पाँच दिन बितेको पत्तै भएन,’ उनी भन्छिन्, ‘नेपालीहरू छिटो र सहजै सञ्चार गर्न सक्ने रहेछन् ।’ नेपाली कलाकारको कार्यशालामा लगाव देखेर नेपालमा पनि पुतली थिएटरको सम्भावना राम्रो भएको उनको अनुमान छ । नेपाली लोककथाहरू रमाइला, सकारात्मक र आशावादी भएकाले अनुमति भएमा नेपाली लोककथामा जापानमा पनि पुतली नाटक गर्ने उनको इच्छा छ ।


कार्यशालामा पाँचौं दिनबाट नै नेपाली कथाहरू छानेर पुतली सोका लागि नेपाली पात्रअनुसारको पुतली निर्माण कार्य सुरु भइसकेको छ भने अहिले नेपालको लोकप्रिय ‘शिशिर वसन्तको कथा’ र अर्को एउटा कथामा पुतली नाटकको तयारी हुँदै छ । कार्यशालाको अन्तिम दिन कात्तिक ७ मा सहभागी बालबालिका र रंगकर्मीहरूले थिएटर मलमा नै छुट्टाछुट्टै पुतली प्रस्तुति दिने बताइएको छ ।


प्रकाशित : कार्तिक ४, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?