दुर्गा मूर्ति बनाउन भ्याइनभ्याई

प्रमिता ढकाल

भरतपुर — बडादसैंको नवरात्र आइतबारदेखि सुरु भयो । चितवनको खैरहनी नगरपालिका—१ का बोधराज डल्लाकोटीलाई नवरात्रका लागि दुर्गाका मूर्ति बनाउन यतिबेला भ्याइनभ्याई छ ।

बिहानदेखि बेलुका अबेरसम्म उनी मूर्ति निर्माणमा खटिएका छन् । बडादसैंको नवरात्रभरि दुर्गापूजा गरिन्छ । ९ दिनसम्म पूजा गरिएको देवीको मूर्तिलाई नदीमा सेलाउने परम्परागत प्रचलन छ । विभिन्न टोल विकास समिति, मन्दिर व्यवस्थापन समितिले सामूहिक पूजनका लागि दुर्गा मूर्ति लैजान्छन् । घटस्थापनाको दिन उनकोबाट मूर्ति लैजानेहरू थुप्रै थिए ।

दुर्गा पुजनका लागि आवश्यक एक सेटमा देवी दुर्गासहित ६ वटा देवदेवीको मूर्ति आवश्यक पर्छ । देवी, दानव, गणेश, कुमार, लक्ष्मी र सरस्वतीको मूर्ति तयार भएपछि मात्रै दुर्गा पूजाका लागि मूर्ति तयार हुन्छ । माटो र परालको प्रयोग गरेर बोधराज आफ्नै हातले मूर्ति बनाउँछन् । माटो र परालले बनेको मूर्तिलाई कपडा, शृंगार, मुकुटले सजाएपछि देवीको शक्ति स्वरूप तयार हुन्छ । एक सेट मूर्ति बनाउन करिब २५ हजार खर्च हुन्छ । करिब एक महिनाअघिदेखि नै बोधराजले मूर्ति बनाउन सुरु गरेका हुन् । ‘अर्डर आउनुअघि नै बनाउन थालेको थिएँ,’ बोधराजले भने, ‘अर्डर आउला र बनाउला भन्दा तभ्याइँदै भ्याइन्न ।’

दक्ष कामदार नहुँदा सबै काम आफैंले गर्नुपर्ने भएकाले एक महिनाअघिबाटै मूर्ति निर्माण सुरु गरेको उनी बताउँछन् । धेरैपटक काम सिकाउने गरी सहयोगी राखेका उनले निरन्तरता कसैबाट पाएनन् । अधिकांश युवाको रोजाइमा वैदेशिक रोजगार पर्ने भएकाले यहाँ सीपको काम गर्ने जाँगर नदेखाउने उनको अनुभव छ । ‘मूर्तिकलामा सीपसँगै एकाग्रता चाहिन्छ,’ उनले भने, ‘आजकालका युवामा एकाग्रता निकै कम पाउँछु ।’ यस पटक पनि मूर्ति निर्माणपछि रंगरोगनका लागि एक जना सहयोगी राखेका छन् । दैनिक ज्यालामा काम गर्ने गरी आवद्ध भएका नवलपरासीका तुलबहादुर दुर्लामी पनि वैदेशिक रोजगारका लागि पासपोर्ट तयार गरेर बसेका छन् ।

उद्योग दर्ता गरी व्यवस्थित रूपमा अघि बढेका बोधराजलाई यो समयमा अर्को समस्या पनि छ । प्रत्येक वर्ष विश्वकर्मा पूजादेखि नवरात्रसम्मका लागि आउने छिमेकी मुलुकका घुमन्ते व्यापारीसँग अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता उनलाई छ । ‘हामीले माटो र परालबाहेक सबै सामान महँगोमा किन्नुपर्छ,’ उनले भने, ‘उनीहरूको प्रतिस्पर्धामा जाँदा लागत मूल्यभन्दा पनि कममा बिक्री गर्नुपर्ने बाध्यता छ ।’ साजसजावटका कच्चा सामग्रीसहित बन्दोबस्तीले आएका उनीहरूले सस्तोमा मूर्ति बिक्री गर्दा ग्राहकको रोजाइमा पर्ने उनले बताए । फर्माको प्रयोग गरी छिटोछिटो ठूलो संख्यामा निर्माण गरिएका सस्ता मूर्तिको तुलनामा एक महिनाको आफ्नो लगन बिक्री गर्नुपर्दा खिन्न मान्छन् ।

सरकारलाई कर तिरेर व्यवसाय दर्ता गरी उद्यम गरिरहँदा पनि सरकारलेआफ्नो समस्यालाई बुझ्ने कोसिससम्म नगरेको उनको भनाइ छ । एकातर्फ अस्वस्थ्य प्रतिस्पर्धा, अर्कोतर्फ कामदारको अभाव झेल्दै आएका बोधराजले दसैंका लागि तयार गरिएका मूर्तिमा नाफाभन्दा पनि धर्मको आस्था र सन्तुष्टि खोज्ने गरेको बताए । अन्य समयमा उनी सिमेन्ट, बालुवा, रड, फाइबर, मार्बल प्रयोग गरी मूर्ति निर्माण गर्छन् । अरू बेला शिव, पार्वती, गणेश तथा बुद्ध मूर्तिको माग बढी आउने उनले बताए ।

भगवान्का मूर्तिबाहेक मेला महोत्सवलाई आवश्यक पर्ने कलात्मक मूर्ति, हात्ती, गैंडाका मूर्तिहरू तयार गर्छन् । उनले बनाएका मूर्तिहरू काठमाडौं, बुटवल, गाईघाट, सुनसरी, मोरङ, झापा, पर्वतसम्म पुगेका छन् । मूर्तिकलामा रमाइरहेका बोधराज यसअघि पोट्रेट चित्र कोर्ने गर्थे । २०५० सालदेखि सुरु गरेको पोट्रेट चित्रकला उनले २०६५ सालमा छोडेका हुन् ।

‘चित्रकलाबाट जीवनयापन सहज हुन छाडेपछि मूर्तिमा रमाउन चाहेँ,’ उनले भने, ‘धेरै प्रतिस्पर्धी नहुँदा यसमा राम्रै आम्दानी छ ।’ उनले बनाएका मूर्तिहरू न्यूनतम २५ सय देखि डेढ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । खर्च कटाएर मासिक एक लाख रुपैयाँ आम्दानी हुन्छ ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

साँखु खोज्दै स्रष्टा

कान्तिपुर संवाददाता

काठमाडौँ — बुहारी भित्र्याउने भिन्नै ढोका, छोरी अन्माउने अर्कै । देउतालाई स्वागत गर्ने र मृत्यु संस्कारमा प्रयोग गर्ने ढोका पनि भिन्नाभिन्नै । बीचमा झुरुप्प बस्ती, मन्दिर, डबली र कलात्मक घरहरू । यो हो उत्तरी काठमाडौंको पुरानो बजार साँखुको दृष्य । यही बजारमा छ, तिब्बत जान हिँडेको हात्तीको सालिक । अलिक मास्तिरको बज्रयोगिनी पुज्न थालेको बखत मञ्जुश्रीले चोभारको डाँडो काटेकै थिएन भन्ने मिथक छ स्थानियमा । यिनै मिथकीय कथा, सम्पदा र संस्कृति खोतल्दै यो सांस्कृतिक सहरमा शनिबार एक हूल चित्रकार र कविहरू पुगे । 

कला, साहित्य र रंगमञ्चमार्फत स्थानिय संस्कृति, सम्पदा र विषयवस्तु उजागर गर्ने ‘जेसुम यात्रा’ अर्न्तगत स्रष्टाहरूले यसपटक साँखु चुनेका हुन् । उनीहरूले शाली नदीदेखि हाइकिङ गर्दै बजार घुमे, एक घण्टा लाएर बज्रयोगिनी मन्दिरको सिँडी उक्ले । चित्रकारहरूले सांस्कृतिक सम्पदाका अनेक पक्षलाई क्यानभासमा उतार्दै गर्दा कवि/लेखकहरूले डायरी कोरे । घुम्ती प्रदर्शनी गर्दै तल ओर्लेर नगरपालिकाको सभाहलमा सिर्जना सुनाए ।

चित्रकार दीपेन्द्रमान बनेपालीले बज्रयोगिनीकै मन्दिरको प्रत्यक्ष दृश्यचित्र उतारे । कृष्णगोपाल श्रेष्ठ मन्दिरमाथिको चोकमा रहेको पुरानो हिटीभित्र पसे । उनले खिइँदै गइरहेको ढुंगेधारालाई चित्रको विषय बनाए । संस्कृतिविद प्रकाशमान सकोका अनुसार लिच्छविकाल भन्दा अगाडिको मानिने यो ढुंगेधाराको स्वरूप पहिले अर्कै थियो । समयक्रममा बदलियो । ‘पहिले यो धारामाथि ठूलो सिंहले एउटा जनावर च्यापिरहेको र उक्त जनवारले चाहिँ न्याउरी मुसा च्यापिरहेको देखिन्थ्यो’, उनले भने, ‘अहिले यसको स्वरुप हरायो ।’

कृष्णगोपालसँगै चित्रकारहरू अमुल्य डंगोल र स्वयल श्रेष्ठले पनि बज्रयोगिनीमा रहेको बुद्धको मुहारचित्रदेखि मन्दिरका टुँडालसम्म कलामा उतार्न भ्याए । हाइकिङ अघि स्रष्टाहरूलाई शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठ र उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले टिका र खादा लगाइदिएर स्वागत गरेका थिए । साँखुको ऐतिहासिक-सांस्कृतिक पक्षबारे बोल्दै मेयर श्रेष्ठले भुकम्पको पीडाबाट भर्खरै उठ्दै गएको साँखुले आफ्नो मौलिक पहिचान जोगाउने प्रयास गरिरहेको बताए ।

हाइकिङ क्रममा संस्कृतिविद प्रकाशमान सकोले स्रष्टाहरूलाई विभिन्न शिलापत्र, तामपत्रलगायतका सन्दर्भहरू बताएका थिए । उनले ‘मणिशैल महाबदान’ ग्रन्थमा उल्लेख भएर अनुसार साँखुको बस्ती ३३ सय वर्ष पुरानो भएको र शिलालेखहरूले पनि त्यो पुष्टि गर्ने बताए । ‘साँखुको पुरानो नाम सको हो’, उनले भने, ‘नेवार भाषामा यसको अर्थ तिब्बतमुनिको देश भन्ने लाग्छ ।’ यही ‘तिब्बतमुनिको देश’ घुम्दै दिनभर कविहरूले कोरेका रचना भने साँझ नगरपालिका हलमा सुनाएका थिए ।

कवि छविरमण सिलवालले साँखुको वर्णन गर्दै ‘अदृश्य ईश्वरको नाममा’ रचना सुनाए । गणेश बुढाले ‘नयाँ युगको नयाँ चित्र’ भन्दै साँखुको बौद्ध र हिन्दु सम्पदा दुवैको वर्णन गरे । जेसुम संयोजक एवं कवि अनिता लामाले चाहिँ आधुनिकताको नाममा सभ्यतामाथि हुँदै आएको प्रहारलाई ‘सभ्यताको ट्राजेडी’ कवितामा समेटिन् । सगरमाथा आहोरीसमेत रहेकी कवि एवं अभिनेत्री रोजिता बज्राचार्यले पुरानो संझनासँग अहिलेको चेतना जोडेर आफ्नो मौलिक पहिचानको वकालत गरिन् ।

धर्मानन्द भट्ट, रामेश्वर श्रेष्ठ, मंगल बाडे, रामकृष्ण सिंह, मुकुन्द पौडेल, शंकर सन श्रेष्ठ लगायतले कविता सुनाए । मेयर, उपमेयर र वडा अध्यक्ष हितमान तामाङले स्थानिय सांस्कृतिक पहिचान बचाउन आफूहरू लागिपरेको र स्रष्टाहरूको सिर्जनामा सकारात्मक सन्देश भेटिएको बताए । जेसुम यात्राको यो दसौं शृंखला हो । जेसुम संयोजक अनिता लामाले मुलुकका विभिन्न थलोमा स्थलगत सिर्जना गरिएको चित्रहरूको छिट्टै एकमुष्ट प्रदर्शनी र कविताहरूको पुस्तक प्रकाशन गर्ने योजना रहेको सुनाइन् ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्