लिम्बू स्रष्टाको तङसङ्

कान्तिपुर संवाददाता

काठमाडौँ — लिम्बू समुदायको सांस्कृतिक पहिचान के हो ? मौलिक चिनारी कतातिर चुक्यो ? अनि इतिहास कसरी अँध्यारोतिर धकेलियो ? लिम्बू कविहरूले शनिबार राजधानीमा आ–आफ्ना सिर्जनामार्फत् बहस गरे ।

कार्यक्रमको नामै थियो– ‘कविता तङसङ् । लिम्बू भाषामा तङसङ्को अर्थ अनुष्ठान हुन्छ । मुलुकका विभिन्न भेकबाट आएका २२ जना कविहरूले साहित्यमार्फत् आफ्ना मौलिक अस्तित्व अनुष्ठान गरेका हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा याक्थुङ लेखक संघले गरेको कार्यक्रममा लिम्बू समुदायमा ग्रहदशा र अनिष्ट रोक्न तीन रातसम्म गरिने महत्त्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा लिइने तङसङ्को झल्को दिने गरी अग्रभागकै भित्तातिर ‘सिलाम साक्मा’ नामक तक्मा झुन्ड्याइएको थियो । लिम्बू संस्कृतिमा नराम्रो कुराछेक्न यसो गरिन्छ ।

त्यसको वरिपरि बाँसबाट निर्मित डालोमा लिंगो अड्याइएको थियो । तङसङ्मा कविहरूले लिम्बू समुदायका विविध पक्ष, ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक जीवनका प्रतिविम्ब, प्रेमका वियोगान्त कथालगायतका सन्दर्भ पस्के । कवि बिमला तुम्खेवाले सार्वजनिक बसको यात्रालाई स्मरणसँग आफूलाई तुलना गर्दै सहरको भीडमा हराइरहेको आफ्नो भूगोल, देश र ठाउँलाईखोजी गरिन् ।

उत्तम लिम्बूले ‘तर तिमी आएनौ’ शीर्षकमा मुलुकको राजनीतिक अराजगता, जीवनको बाध्यात्मक परिस्थितिसँगै घर छोडेर हिँडेकाहरूलाई आमाले पर्खिरहेको सन्दर्भ पस्के ।

सीता तुम्खेवाले ‘ढुंगा’ शीर्षकको कवितामा जति नै समयले नेटो कटे पनि ढुंगाको कठोरता कहिल्यै परिवर्तन नहुने भाव पोखिन् । अप्सरा लावतीले ‘कलियुगको मध्यधारमा’ कवितामा लिम्बू महिला र सबैलाई तङसङ् आत्माहरू जगाउँदै पूर्खाले अर्जेको भूमिमा एकताबद्ध भएर चेतनशील हुन आग्रह गरिन् । कवि साङसेन वारफले मातृभाषामा लेखेको नागरिकताको माग गरे ।

चन्द्रवीर तुम्बापो, हाङयुग अज्ञात, प्रकाश आङ्देम्बे, प्रकाश थाम्सुहाङ, सुन्दर कुरुप, स्वप्निल स्मृति, मुनाराज शेर्मा, राज माङ्लाक, विष्णु नेम्वाङ, बच्चु हिमांशुजस्ता कविताहरूले लिम्बू जातिको पुर्ख्यौली संस्मरण, इतिहास, मौलिक संस्कृति र भाषामाथि भइरहेको अतिक्रमणको लेखाजोखा गरे ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

धेरै दर्शकमाझ चिनिन ड्रिमगर्ल

कान्तिपुर संवाददाता

काठमाडौँ — रोमान्टिक कमेडी फिल्म ड्रिमगर्ल आयुष्मानको नजरमा धेरै दर्शकलाई मन पर्ने खालको फिल्म हो । त्यसैले पनि क्लास अडियन्समा चिनिएका उनी अब मास अडियन्समा पनि पुग्न लोभिएका रहेछन् । यसको अर्को कारण खोतल्दै आयुष्मानले थपे, ‘हुन त म विचारप्रधान र जागरण दिने खालका फिल्म नै खेल्ने हो ।

र, मलाई दर्शकले पनि त्यस्तै रूपमा चिन्न थालेका छन् । तर ती फिल्म खासमा आम दर्शकमाझ पुग्नुपर्ने हो । यदि म ड्रिमगर्लजस्ता फिल्म खेलेर मासमा पनि चिनिन सकें भने ती दर्शक मेरा अरू खालका फिल्म हेर्न पनि आउन सक्छन् । ताकि सामाजिक मुद्दामा बनेका मेरा फिल्ममा कम्तीमा धेरैभन्दा धेरै दर्शक तान्न सकूँ ।’बलिउड अभिनेताको करिअर पछिल्ला वर्ष निकै चम्केको छ ।

पछिल्लो पटक रिलिज उनको आर्टिकल १५ ले पनि राम्रै तारिफ कमायो । आयुष्मानको अभिनयको त चर्चा हुने नै भइहाल्यो ।
खासगरी आयुष्मान विचारप्रधान र शिक्षाप्रद् फिल्ममा बढी देखिएका छन् भने आफूलाई पनि जिम्मेवार अभिनेताको रूपमा स्थापित गरिरहेका छन् ।

यति बेला भने आयुष्मान फिल्म ड्रिमगर्लमा फरक भूमिकामा देखा पर्दै छन् । ट्रलरमा उनलाई युवतीको भेषमा देखाइएको छ । वैकल्पिक धारका फिल्महरूमा खेल्दै आइरहेका आयुष्मानले ड्रिमगर्ललाई भने मसलेदार फिल्म भनी टिप्पणी गरेका छन् ।

फरक धारका फिल्मबाटै आफूलाई मूलधारमा चिनाएका आयुष्मानले यति बेला आएर किन मसलेदार फिल्म खेल्न लालायित भए त ? जवाफमा अभिनेता भन्छन्, ‘मैले यो फिल्म खेल्न राजी हुनुको पछाडि मेरै स्वार्थ छ । किनभने म राम्रो व्यावसायिक फिल्म खेल्न चाहन्थें । जसले गर्दा म धेरैभन्दा धेरै दर्शकमाझ पुग्न सकूँ र चिनिन सकूँ ।’ – एजेन्सी

प्रकाशित : भाद्र २९, २०७६ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्