कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रज्ञाका चार प्रकाशन सार्वजनिक

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानका विभिन्न चारवटा पत्रिकाको नयाँ अंक सार्वजनिक गरिएको छ । गद्य आख्यानप्रधान ‘समकालिन साहित्य’, बहुभाषिक ‘सयपत्री’, अनुवादप्रधान ‘रुपान्तरण’ र मैथिलीको ‘आङन’ सार्वजनिक गरिएको हो । 

प्रज्ञाका चार प्रकाशन सार्वजनिक

आइतबार कमलादीस्थित प्रतिष्ठानको हलमा उपकुलपति जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय, प्राज्ञ सदस्यहरू उषा ठाकुर, माया ठकुरी, लक्ष्मी माली, योगेन्द्र यादव, गोपिन्द्र पौडेलले सार्वजनिक गरेका हुन् ।


‘सयपत्री’ अर्धवार्षिकमा कार्यकारी सम्पादक चतुर्भुज केवरतका अनुसार यस अंकमा विभिन्न २० भाषाको नेपाली अनुवादसहितका सामग्री समेटिएका छन् । जसमा अवधी, बज्जिका, बान्तावा, चाम्लिङ, दनुवार, धिमाल, दुङमाली, गुरुङ, केवरत, कुलुङ, कुमाल, लिम्बु, मगर, मैथिली, माझी, नाछिरिङ, संस्कृत, थारु, वाम्बुले र याक्खा भाषा रहेका छन् ।


‘समकालिन साहित्य’ त्रैमासिकमा समालोचना, आख्यानमुलक रचनाहरू समेटिएको कार्यकारी सम्पादक पुष्करराज भट्टले जनाएका छन् । ‘रुपान्तरण’ वार्षिकका कार्यकारी महेश पौड्यालका अनुसार यसमा विभिन्न विदेशी भाषाबाट नेपालीमा र नेपालीबाट हिन्दीमा साहित्यिक रचनाहरू अनुवाद गरिएका छन् । ‘आङन’ वार्षिकका कार्यकारी सम्पादक धर्मेन्द्र विह्वलले मैथिली भाषा, साहित्य, संस्कृतिका सामग्रीहरू समेटिएको जनाएका छन् ।


उपकुलपति गुरुङले प्रज्ञा–प्रतिष्ठानले आफ्नो प्रकाशन पत्रिकामार्फत् नयाँ लेखक, स्रष्टाको खोजी गरेको बताए । ‘यी पत्रिका सबैका साझा हुन् र यसमार्फत् वर्तमान समाजलाई प्रतिबिम्बित गरेर विविध लेख, रचना प्रकाशन गर्ने कामलाई निरन्तरता दिएको छौं,’ संस्कृतिविद् गुरुङले भने, ‘यसमा पाकादेखि नवीन लेखक स्रष्टाहरूको खोजी तथा रचनामार्फत् उनीहरूको सिर्जनाको जगेर्ना गर्न प्रतिष्ठान प्रतिवद्ध छ ।’


यसैगरी प्रतिष्ठानले चौमासिक ‘कविता’, नेपाल भाषाको वार्षिक ‘थायभू’, लिम्बू भाषाको वार्षिक ‘फक्ताङ्लुङ’, भोजपुरी भाषाको वार्षिक ‘महुआ’ र त्रैमासिक बुलेटिन ‘प्रज्ञा गतिविधि’ प्रकाशन गर्दै आएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?