छायामा बाल साहित्य

सुशीला तामा‌ङ

काठमाडौँ — बजारमा दिनुहँ नेपाली साहित्यका कृति बढिरहेका छन् । पुस्तक लोकार्पण, अन्तरक्रिया परिचर्चाजस्ता कार्यक्रमहरू पनि भइरहेकै छन् । अत्यधिक बिक्रीदेखि अग्रिम लेखकस्वसम्मको चर्चा पनि मिडियाहरूमा बरोबर भइरहेका छन् ।

अन्विका गिरी

भविष्यको कर्णाधार मानिने बाल साहित्यमा भने खासै गुणात्मक काम नभइरहेको दाबी गर्छिन् साहित्यकार अन्विका गिरी । केही दिनअघिमात्रै उनले बाल साहित्यका दुई कृति बजारमा ल्याएकी थिइन् ।

उनका अनुसार ‘बाल साहित्य’ का पुस्तकहरू बजारमा पाइने भएता पनि बालमस्तिष्कलाई नै केन्द्रित गरेर आउने पुस्तक भने थोरै छन् । प्रायः नेपाली बाल साहित्यमा बाल विकासभन्दा पनि परम्परागत संस्कार सिकाउने पक्षका पुस्तक धेरै छन् । उनलाई लाग्छ– ‘यस्तो अवस्थामा बाल साहित्यको धारलाई केही परिवर्तन गर्नुपर्छ ।’ सांग्रिला बुक्सले छापेको उनको ‘आमाले सक्नुहुन्छ’ बाल कथा संग्रहमा यस्तै फरक धारको वकालत गरेकी छन् उनले ।

परिवारमा बुबा मात्र नभएर आमाले पनि उत्तिकै जिम्मेवारी बहन गर्न सक्छिन् भन्ने भाव बुझाउने ७ वटा कथा छन् कृतिमा । ‘आमाले सक्नुहुन्छ’, ‘आमाको बचत’, ‘आमाले हिसाब जान्नुभो’, ‘आमाले बराबरी गर्नर्भुो’, ‘आमाको दोकान खुल्यो’ जस्ता रोचक शीर्षक छन् ।

त्यस्तै उनको अर्को पुस्तक ‘सानीका ज्ञानी कुरा’ मा बालयौन दुर्व्यवहारलाई बुझाउन कविताकै शैलीमा लेखेर सचित्र वर्णन गरिएका छन् ।

यसमा बाल संसारलाई नै समेटिएर साथीभाइ, आफन्तहरूको चिनारी, बदमास मान्छेहरू कस्ता हुन्छन्, तिनीहरूले यौन दुर्व्यवहार कसरी गर्न सक्छन् र यदि गरेमा सबैभन्दा पहिले आमालाई नै भन्नुपर्छ भन्ने सन्देश सरल र सरस ढंगबाट प्रस्तुतगरिएका छन् ।

प्रौढहरू केन्द्रित थुप्रै पुस्तक छ्याप्छ्याप्ती बजारमा पाइए पनि बाल साहित्यका सामग्री एकदमै न्यून पाइनु दुःखद रहेको लेखक गिरीले सुनाइन् । ‘बाल साहित्य नै छायामा छ,’ उनले भनिन्, ‘बाल साहित्य लेखनमा केही स्रष्टा सक्रिय देखिए पनि कतै चर्चा छैन ।’

बाल साहित्यबाट नै लेखन थालेकी उनले करिब ढेड दशकअघि ‘हाम्रो कुरा पनि सुन्नुस्’ सचित्र बालकथा प्रकाशन गरेकी थिइन् । त्यतिखेर बाल साहित्यप्रति त्यति चर्चा र प्रतिक्रिया नै नभएपछि उनले प्रौढ साहित्य लेखनतिर हात हालिन् र ‘कम्युनिस्ट’
कथासंग्रह निकालिन् ।

प्रत्येक घरमा बालबालिका छन् । उनका अनुसार उनीहरूको बालसुलभता, मनोविज्ञान र उत्सुकतालाई पूरा गर्ने खालका नेपाली पुस्तक भने बजारमा पाउनै मुस्किल छ । ‘आजका बालबालिका भोलिका कर्णधार हुन् । उनीहरूलाई परिवार र समाजसँग समायोजन गर्दै लैजान स्कुलमा दिइने ज्ञान मात्रले पुग्दैन,’ उनकोमत छ ।

एउटै समुदाय वा बुबालाई मात्र आयआर्जन गरेर ल्याउने, आमालाई घरको भान्साकोठामा मात्र सीमित गरी लेखिएका बाल साहित्यका पुस्तकभन्दा केही लैंगिक समानता देखाउने र अहिले समाजमा घटिरहेका बालयौन हिंसाका घटनासमेत उल्लेख गरिएका उनका पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने उनले दाबी गरिन् ।

बढ्दो कामकाजी संस्कृतिले गर्दा निकै व्यस्त देखिने अभिभावकसँग बालबालिकाका लागि समय नै छैन । धेरैले बालबालिकालाई मोबाइल तथा टेलिभिजनतिर लगाएर आफूलाईपन्छाउन खोज्छन् । ‘यसले गर्दा आमाबाबु र सन्तानबीच हुनुपर्ने निकटता नै घट्दै जान्छ,’ उनले भनिन्, ‘अभिभावकले आफ्नो बच्चालाई धेरैभन्दा धेरै समय दिनुपर्छ । पुस्तकहरू पढेरै सुनाउनुपर्छ । उनीहरूमा पढ्ने परम्परा बसालिदिनुपर्छ ।’

पुस्तक भनेको स्कुलका पाठ्यक्रमअनुसारका सामग्री मात्रै हुन् र उनीहरूको परीक्षामा आउने अंक गणना मात्रै सफलता हो भन्ने सोच प्रत्येक अभिभावकले बदल्नुपर्ने उनको धारणा छ । ‘बाहिरी ज्ञानगुनका कुरा पनि बालबालिकालाई दिनुपर्छ,’ उनले भनिन् ।

बदलिँदो सामाजिक संरचनादेखि बालमनोविज्ञानलाई ध्यानमा राख्दै पढेका सामग्री आफ्नै लागि हुन् भनी उनीहरूको विश्वास जित्ने गरी बालसाहित्यलाई अघि बढाउन कठिन हुने गिरीले सुनाइन् । उनले भनिन्, ‘प्रत्येक शब्द र अक्षरहरूमा बालापनको महसुस गराउनुपर्छ । यो निकै कठिन कार्य हो ।’

अग्रजले समेत बेवास्त गरिएको बालसाहित्य उठाउन सबै लाग्नुपर्ने उनको मत छ ।गिरीका बालबालिका केन्द्रित पाँचवटा पुस्तकसँगै कथा संग्रह ‘कम्युनिस्ट’, उपन्यास ‘मान्छेको रङ’ लगायत गरी आठवटा कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित : भाद्र ८, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

गुमनाम ‘महानन्द पुरस्कार’

कान्तिपुर संवाददाता

काँकडभिट्टा — कुनै समय पूर्वका सर्जकहरूमा एउटा खुल्दुली हुने गर्थ्यो, वर्षको महानन्द पुरस्कार कसले पाउला भन्ने । प्रतिष्ठित यो पुरस्कारको अहिले भने चर्चासम्म चल्दैन । दशकयता उक्त पुरस्कार अलपत्र परेको छ । 

खासमा पञ्चायती शासनकालमै २०३८ मा एउटा साहित्यिक संस्था स्थापना भएको थियो । नेपाली साहित्य विकास समितिको नाममा स्थापित उक्त संस्थाका अगुवा थिए– रामबाबु प्रसाईं, दान खालिङ, बैरागी काइँला, भवानी घिमिरे, गणेशबहादुर प्रसाईंलगायत ।

संस्थाको मुख्य उद्देश्य सबै राजनीतिक दल आवद्ध लेखकहरूलाई एउटै छातामा समेटेर लैजानु पनि थियो । त्यही भएर त्यो बेला भन्ने गरिन्थ्यो, कम्युनिस्ट, कांग्रेस र पञ्चायत (ककाप) । अर्थात् सबै दलका लेखक अटाउने संस्था । यही संस्थाले २०४३ सालमा देउसी खेलेर महानन्द पुरस्कार स्थापना गरे । जनस्तरबाट संकलित एक लाख रुपैयाँको अक्षयकोष खडा गरिएको थियो । पहिलो पुरस्कार २०४४ सालमा शनिश्चरे माविको प्रांगणमा वितरण गरिएको थियो ।

महानन्द सम्मान इलामका कवि स्वर्गीय विष्णु नवीनलाई र प्रोत्साहन पुरस्कार कवि दुर्गा दाहाललाई दिइएको पूर्वअध्यक्ष कृष्ण धरावासीले बताए । उनका अनुसार पुरस्कार भाषाशास्त्री महानन्द सापकोटाको स्मृतिमा स्थापना गरिएको थियो ।

खासगरी मेची अञ्चलको साहित्यिक विकासका लागि प्रत्येक दुई वर्षमा पुरस्कार वितरण गरिन्थ्यो । धरावासी भन्छन्, ‘अहिले सुन्दै छु, लामो समयदेखि यो संस्था निस्क्रिय छ रे । यो संस्थालाई मर्न दिनु हुँदैन भन्ने मेरो बुझाइ छ ।’

कृष्ण धरावासी, रविमान लम्जेल, हीरा आकाश, सरोज ओली, रोहिणीविलास लुइँटेल, चूडामणि रेग्मी, स्वयम्भूलाल श्रेष्ठलगायत अग्रजहरूले यो पुरस्कार पाइसकेका छन् । पछिल्लो समय २०६८ मा झापाको धरमपुरमा पुरस्कार वितरण गरिएको थियो । पछिल्लो सम्मान कवि कृष्ण बराललाई दिइएको थियो ।

त्यसयता यो संस्था पूरै मुर्झाएको आरोप मेची अञ्चलका साहित्य सर्जकहरूको छ । महानन्द पुरस्कार समितिका पूर्वसचिव चिन्तामणि दाहालका अनुसार ऐतिहासिकसंस्था भएकाले यसलाई सक्रिय बनाउनुपर्छ ।

पुरस्कार समितिका अध्यक्ष कवि केशव आचार्यले आठ वर्षदेखि पुरस्कारको गतिविधि सेलाएको बताए । उनले आफ्नो अस्वस्थताका कारण काम गर्न नसकेको बताए । ‘मेरो नेतृत्वमा दुइटा पुरस्कार वितरण भए, त्यसपछि काम गर्न नसकिएको यथार्थ हो ।’

उनका अनुसार बिर्तामोडको एक्सेल बैंकमा पुरस्कारको करिब डेढ लाख अक्षयकोष छ । ब्याज बढेको बढ्यै छ । तर, पुरस्कार वितरण गर्न सकिएको छैन । समितिका सचिव चन्द्र भण्डारीले आगामी माघभित्रमा पुरस्कार प्रदान गरिने दाबी गरे ।‘गत वैशाखमै पुरस्कार वितरणको योजना थियो तर विशेष कारणले सकिएन,’ उनले भने, ‘अब माघमा वितरण गर्ने छौं ।’

प्रकाशित : भाद्र ८, २०७६ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्