त्रिपिटक बुझाउने विश्वकोश

बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक पालि भाषामा भएकाले सबैले बुझ्दैनन् । बुद्धकालीन नेपाली विश्वकोशले यसको अन्त्य गरेको छ
हिमेशरत्न वज्राचार्य

काठमाडौँ — बौद्ध धर्मको गहन अध्ययनका लागि नेपालमा सामग्री अभाव रहेको पाइन्छ, त्यसमाथि नेपाली भाषामा छैनन् भन्दा पनि हुन्छ । त्यसैले पनि धेरैका लागि बौद्ध धर्मबारे राम्रोसँग बुझ्न कठिन हुने गरेको छ । अब भने केही सजिलो हुने भएको छ । यसै साताबाट २७ पुस्तकको संगालोका रूपमा बुद्धकालीन नेपाली विश्वकोश उपलब्ध भएको छ ।

वीर पूर्ण पुस्तक संग्रहालयले यसलाई बजारमा ल्याएको हो । बौद्ध धर्मको मूल ग्रन्थ हो त्रिपिटक । यो पालि भाषामा छ । यसको सरल अनुवाद पनि पाइन्न । यस्तोमा बौद्ध धर्मबारे सजिलै बुझ्ने उपाय के हो त ? बुद्धकालीन नेपाली विश्वकोश त्यही उपायसम्म पुग्ने सबैभन्दा सटिक बाटो हुनेछ । ‘बौद्ध धर्मका जिज्ञासुका लागि यो विश्वकोश प्रकाशनमा आउनु आफैंमा अभूतपूर्व र अद्वितीय छ,’ प्रकाशक संस्थाका दुण्डबहादुर वज्राचार्यले भने । उनी लामो समयदेखि त्रिपिटकको अनुवादमा व्यस्त छन् ।

उनले जीवनको अधिकांश समय त्रिपिटकको अनुवादमै बिताएका छन् । नेपाल भाषामा त्रिपिटकका अधिकांश ग्रन्थ उपलब्ध भएका छन् । उनकै अनुवादमा नेपाली भाषामा त्रिपिटकको दीघनिकाय र मझिमनिकाय प्रकाशित भइसकेका छन् । यो क्रम अझ अगाडि बढ्नेछ । वज्राचार्यको अनुभवमा पनि सबैका लागि त्रिपिटक अध्ययन सजिलो छैन, एकैपल्टमा बुझ्न गाह्रो हुन्छ । त्यसका लागि सबैभन्दा पहिले यिनै २७ पुस्तक पढ्नु उपयुक्त हुन्छ ।

यी सबै पुस्तकको पृष्ठ जोडदा साढे १३ हजारभन्दा बढी हुन्छ । यी पुस्तक बेलाबेला प्रकाशित भएका हुन् । लेखक भने भिक्षु अमृतानन्द हुन् । उनले त्रिपिटकलाई आधार मानेर बुद्धकालीन ग्रन्थमाला लेखे । ती पुस्तक दुर्लभजस्तै भइसके, सजिलै पाउन सकिन्न । यस्तोमा वीर पूर्ण पुस्तक संग्रहालयले यसलाई बुद्धकालीन नेपाली विश्वकोशको स्वरूप दिएको हो ।

नेपालको थेरवादी बौद्ध धर्मका अग्रणी भिक्षुमा पर्छन्, अमृतानन्द । तानसेनको भीमसेन टोलमा शाक्यकुलमा जन्मेका उनी बौद्ध धर्मको प्रचारप्रसार गरेको आरोपमा जेलसमेत परेका थिए । सन् १९४२ यता उनले काठमाडौं आएर बौद्ध धर्मको प्रचारमा सक्रिय रहे । उनी नै बौद्ध धर्मबारे नेपाली, नेपाल भाषा र अंग्रेजीमा आजसम्म सबैभन्दा बढी पुस्तक लेख्ने लेखक हुन् । उनका ६ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

अमृतानन्दले त्रिपिटकका ग्रन्थ र सूत्रमा उल्लेख भएका चरित्रलाई क्रमबद्ध मिलाएर २६ पुस्तक लेखे । त्यसमा बुद्धकालीन ब्राहमण भाग १ सबैभन्दा पहिले ०२८ सालमा प्रकाशन भएको थियो । त्यसपछि बुद्धकालीन गृहस्थी, राजपरिवार, परिव्राजक, महिला, श्रावक चरित, श्राविका चरित, ब्रहमादिदेव, प्रेतकथा, विमानकथाका पुस्तक निस्के । यी सबै सुरुमा आनन्दकुटी विहारबाट प्रकाशन भएका थिए । अब यी सबैलाई नयाँ स्वरूप दिइएको छ ।

विश्वकोशको २७ औं कृतिमा भने संक्षिप्त बुद्ध जीवनीसँगै अनुरुद्ध स्थवीर, सम्राट् अशोक र बुद्धशासनको इतिहास रहेको छ । ‘भिक्षु अमृतानन्दले निकै मिहिनेत गरेर यी सबै पुस्तक तयार पारेका हुन् ।

यत्तिको गहन अध्ययन गरेर लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तक सम्भवतः अरू भाषामा पाइन्न,’ वज्राचार्यले थपे, ‘हाम्रा लागि नेपाली भाषामा यति धेरै पुस्तक उपलब्धि हुनु वास्तवमै निकै ठूलो उपलब्धि हो । यसले नेपाली भाषालाई पनि धनी बनाएको छ ।’

प्रकाशित : श्रावण १३, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

‘बसाइँ’ लेखकलाई अनेसास

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली भाषा–साहित्यका क्षेत्रमा आधा शताब्दी लामो योगदानका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले भारतको असमवासी साहित्यकार लीलबहादुर क्षत्रीलाई ‘अनेसास वासुदेव–मालती साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । 

पुरस्कारमा २ हजार १ सय ११ डलर रहेको छ । क्षत्रीका ‘बसाइँ,’ ‘ब्रह्मपुत्रका छेउछाउ’ लगायत उपन्याससँगै कथा, निबन्ध, समालोचना, कवितासहित एक दर्जन कृति प्रकाशित छन् ।

८६ वर्षीय लेखक क्षत्रीको ‘बसाइँ’ लाई पहिलो पटक मदन पुरस्कार पुस्तकालयले विसं २०१४ सालमा प्रकाशन गरेको थियो ।
नेपाली पहाडी समाजको चित्र र बसाइँसराइको कथामा बुनिएको यो कृति नेपाली साहित्यमा सबैभन्दा बढी बिक्री हुनेमध्ये एक लोकप्रिय सामाजिक यथार्थवादी उपन्यास हो ।

यही उपन्यासमाथि चलचित्रकर्मी सुभाष गजुरेलले फिल्मसमेत बनाएका छन् । भाषा–साहित्यको प्रवर्द्धनमा जगदम्बाश्री, भानु पुरस्कार, अगम स्मृति अवार्डलगायत सम्मान पाइसकेका स्रष्टा क्षत्रीको योगदानको कदर गर्न अमेरिकावासी दुर्गा दाहालले प्रायोजन गरेको विशेष नगद पुरस्कारसहितको सम्मान प्रदान गर्न लागिएको अनेसासले जनाएको छ ।

अनेसासका महासचिव गणेश घिमिरेले जारी गरेको विज्ञप्तिअनुसार आउँदो अगस्ट पहिलो साता लन्डनमा हुने छैटौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा यो पुरस्कार प्रदान गरिनेछ । ‘मैले गरेको नेपाली भाषा–साहित्यको कर्मलाई योगदान सम्झेर पुरस्कृत गरिएकामा आनन्द लागेको छ,’ क्षत्रीले भारत असमबाटै कान्तिपुरसँग फोनमा भने, ‘यस्तो खबरले यो उमेरमा पनि सिर्जनशील बनिरहन प्रेरणा दिएको छ ।’

प्रकाशित : श्रावण १३, २०७६ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्