कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बासुदेव मुनाल’ बाल प्रतिभा पुरस्कार आयुषलाई

काठमाडौँ — स्वर्गीय बासुदेव कोइराला मुनालको ७० औं जन्मजयन्तीको अवसर पारेर बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भारतीय रियालिटी शो 'सारेगामापा लिटिल च्याम्प'मा चौथो स्थान हासिल गर्न सफल नेपालका आयुष केसीलाई बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६ प्रदान गरिएको छ । केसीले २१ हजार रुपैयाँ पनि पाएका थिए । 

‘बासुदेव मुनाल’ बाल प्रतिभा पुरस्कार आयुषलाई

स्व.बासुदेव मुनालको स्मृतिमा गठित बासुदेव कोइराला मुनाल स्मृति फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मुनालको भिडियो बायोग्राफी पनि देखाइएको थियो । भिडियो जीवन पराजुलीले निर्देशन गरेका हुन् ।


रेडियो नेपालको बालकार्यक्रम सञ्चालकका रुपमा बढी चिनिने मुनाल लोकप्रिय गायक पनि हुन् । मुनालको २०७४ असोज १४ गते घाँटीको क्यान्सरले निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका मुनाल मष्तिकघातबाट पनि पीडित थिए ।


कार्यक्रममा उपस्थित मन्त्री गोकर्ण विष्टले मुनालले बाल साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै देशले सधैं सम्झने व्यक्तिको रुपमा प्रशंसा गरे । उनी आफू पनि मुनालको रेडियो कार्यक्रम र गीत सुनेर हुर्किएको सम्झिए । कार्यक्रममा मुनालकी बालसखा सुशीला कार्कीदेखि रक्षामन्त्री ईश्वर पोखरेल, हास्य अभिनेता हरिवंश आचार्य, गीतकार कृष्णहरी बराल, अभिनेता दीपकराज गिरी, साहित्यकार नवराज लम्साललगायतले स्व. मुनालको स्मरण गरेका थिए ।


स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका इच्छा बासुदेव कोइराला मुनाल स्मृति फाउण्डेशनबाट पूरा गर्ने बताए । उनले ‘मुनाल साँझ’ गर्नेदेखि कृतिहरु प्रकाशन गर्नेपनि बताए । बासुदेव कोइराला मुनाल स्मृति फाउण्डेशनका अध्यक्ष तथा स्वर्गीय मुनालका भाई प्राडा उपेन्द्र कुमार कोइराला (मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति) ले दाई अभुतपूर्व क्षमताको भएको बताए ।


स्वर्गीय मुनालले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’ लगायत १५० वटा आधुनिक गीत, सयवटा बालगीत, १२० वटा लोक गीत र ११ वटा राष्ट्रिय गीत गाएका छन् । उनले बाल साहित्यमा समेत कलम चलाएका थिए ।

प्रकाशित : असार २७, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?