‘प्रगतिशील लेखन भाले मौरीजस्तो’

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय प्रगतिशील लेखन पछि परेको चर्चा–परिचर्चा हुँदै आएको छ । प्रगतिशीलताको नाममा पार्टीको नारा बोक्ने या परम्परागत लेखनमै रमाउनेजस्ता आरोप लाग्दै आएका पनि छन् ।

केहीअघि प्रगतिशील लेखक संघबाट विद्रोह गरेर निस्केका स्रष्टाहरूले पनि प्रगतिशील लेखनको दिशा, दृष्टिकोण र गुणवत्तामाथि प्रश्न ठड्याएका थिए । राजधानीमा केही स्रष्टाहरूले ‘अबको प्रगतिशील लेखन’ बारे शुक्रबार घना बहस गरे ।

ताराकान्त पाण्डेयले यही शीर्षकमा पेस गरेको ‘अबको प्रगतिशील लेखन’ विषयक कार्यपत्रमा ‘प्रगतिशील लेखकहरूले चिन्तनको तरिका र मस्तिष्कको पद्धतिमै परिवर्तन ल्याउनुपर्ने’ आवश्यकता औंल्याए । कवि स्नेह सायमीले प्रगतिशील लेखन बलियो हुन नसक्नुमा परम्परावादी लेखन जिम्मेवार रहेको विचार दिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै कवि वासुदेव अधिकारीले ‘प्रगतिशील लेखनको आन्दोलन भाले मौरीहरूको जमातजस्तो’ भएको भन्दै प्रगतिशील लेखनका अगुवाहरू रानीमौरीजस्तो हुनुपर्ने बताए । कवि तथा आख्यानकार सरल सहयात्रीले अहिलेको प्रगतिशील लेखनमाथि वैचारिक तहबाटै बहस ल्याउनुपर्ने बताए, गीता त्रिपाठीले पनि सही थपे ।

नेपाल प्रज्ञा प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग र युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आयोजित विमर्शमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यकारले मुलुकमा भएको परिवर्तनलाई आत्मसात गरी सोहीअनुसार दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने बताए । सदस्यसचिव जगत्प्रसाद उपाध्यायले युद्धप्रसाद मिश्रको लेखनको तारिफ गर्दै प्रगतिशील लेखकहरूले समाजलाई रूपान्तरण गराउन सर्वप्रथम आफैं रूपान्तरित हुनुपर्ने बताए ।

निबन्ध तथा समालोचना विभागका प्रमुख गोपीन्द्र पौडेलले मिश्रबाट नयाँ पुस्ताले सिक्नुपर्ने औंल्याए । विमर्शमा प्रगतिशील लेखक संघका अध्यक्ष जीवेन्द्रदेव गिरी, पूर्व अध्यक्ष मातृका पोखरेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, रामप्रसाद ज्ञवाली, सावित्रीकुमार कक्षपती मल्ल, पुष्करराज भट्ट, बालाकृष्ण अधिकारीलगायतले विचार राखेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृति प्रवर्द्धनको आफ्नै तरिका

सुशीला तामा‌ङ

काठमाडौँ — नितु डंगोल देवी महाकालीको रूपमा थिइन् । उनको मुहारमा पोतिएको रातो, नीलो, सेतो र हरियो रंगका भिन्नाभिन्नै अर्थ थिए । सुनौलो मुकुटका साथै महाकालीको पहिरनका कारण उनी देवीजस्तै देखिएकी थिइन् । सामान्यत : सौन्दर्य प्रतियोगिताहरूको ‘ट्यालेन्ट सो राउन्ड’ नृत्य आधारित हुन्छन् ।

नेवार संस्कृति प्रवर्द्धनका लागि आयोजित मिस नेवाःका प्रतिस्पर्धी ।

मिस नेवाःको फरक विशेषताचाहिँ के हो भने, डेढ दशकदेखि यसले संस्कृतिलाई ट्यालेन्ट सोको मूल थिम बनाउँदै आएको छ । त्यही भएर नितु डंगोल देवीको आवरणमा प्रस्तुत हुँदै थिइन् राजधानीमा शनिबार सम्पन्न ट×्यालेन्ट सोमा ।

देवी मात्रै बनेनन् उनी । चर्या पनि नाचिन् । काठमाडौंकै २३ वर्षीया यिनले अनुहारको हाउभाउबाटै महाकालीको अनेक भाव प्रस्तुत गरिन् । नेवार समुदायभित्र विभिन्न पर्वमा हुने चर्या नृत्यको प्रभाव उनमा नपर्ने कुरै थिएन । उनले भने मिस नेवाःको स्टेजमा आफूलाई प्रस्तुत गर्न हालै यसको विशेष प्रशिक्षण नै लिएकी थिइन् । ‘अहिले आधुनिकताका कारण पुरानो संस्कृति र नृत्यहरू हराउँदै छन्,’ उनले भनिन्, ‘त्यही भएर मैले यो नृत्य सिकेकी हुँ ।’ उनका अनुसार चर्या नृत्यमा काल अर्थात् महांकालको रूप नै प्रमुख हुन्छ । ‘करुणाको देवीसमेत मानिने महांकाललाई रिस, क्रोधजस्ता भावमा उर्तानु यो नृत्यको विशेषता हो,’ उनले भनिन् ।

कीर्तिपुरकी २३ वर्षीया सुजिना श्रेष्ठ भने जीवित देवी कुमारीको भेषमा थिइन् । कुमारीकै भेषमा उनले आफ्नो प्रस्तुति दिइन् । नेवार समुदायमा देवीका रूपमा पुजिने कुमारीको विशेष महत्त्व रहेको उनले बताइन् । धार्मिक धारणाअनुसार कुमारीको नृत्यमा तलेजु भवानीप्रतिको भक्तिभाव पनि हुन्छ । यो परम्परासँग तत्कालीन राजा र तलेजु भवानीबीचको मिथकीय सम्बन्ध पनि जोडिएको छ ।

नारीलाई दुर्व्यवहार गरेपछिको परिणामस्वरूप राज्यले नै नारीलाई पूजा गर्ने परम्परा बसालिएको थियो त्यति बेला । प्रस्तुति हेरेपछि ललितपुर नगरपालिका–२१ खोकनाका वडा अध्यक्ष रवीन्द्र महर्जन प्रभावित बने । ‘मान्छेले मान्छेलाई पूजा र सम्मान गर्ने संस्कार हो यो,’ उनको धारणा थियो । ‘सामाजिक सञ्जाल र न्यु मिडियाका कारण युवा पुस्ता आफ्नो सांस्कृतिक पहिचानबाट टाढा हुँदै गइरहेको बेला फरक र सिर्जनात्मक ढंगले पनि संस्कृति प्रवर्द्धन गर्ने सकिने रहेछ’ भन्दै उनले ट्यालेन्ट सोमा उत्रिएका सहभागीहरूको प्रशंसा गरे ।

मिस नेवाः ११३९ मा यो चौधौँ संस्करणका लागि नितु, सुजिनासँगै रुजी शाक्यले नेवारी धान नाच प्रस्तुत गरिन् भने युनिशा शाही, अजुमी शाहीले नेवारी शैलीकै आधुनिक नृत्य गरे । कृतिका प्रजापती, रोजी गुभाजू, रेफिना श्रेष्ठलगायत १७ युवतीहरूले आआफ्ना प्रस्तुति दिए ।

मौलिक सांस्कृतिक ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले डेढ दशकदेखि मिस नेवाः गर्दै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् । मिस नेवाःको अन्तिम प्रतिस्पर्धा यही जेठ ३१ गते राजधानीमा हुँदै छ ।

कार्यक्रममा प्रस्तुति हेरेपछि निर्णायक मण्डलमा रहेका नेपाल क्यूकोसिन सिसन कराते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठले नयाँ पुस्तामा संस्कृति प्रवर्द्धन गर्न मिस नेवाको योगदान निकै सिर्जनशील रहेको भन्दै प्रसंशा गरे । पूर्वमन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न ट्यालेन्ट शोको निर्णायकमा नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, पूर्वमिस नेवाः रिजु मानन्धर, गायक प्रवेशमान शाक्य, बुटिक एसोसिएसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी विजयरत्न तुलाधर, समाजसेवी श्याम खड्गी, उद्यमी प्रदीपमान प्रधान लगायत निर्णायकमा थिए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्