कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काँठ घुम्दै कविता भन्दै

काठमाडौँ — पूर्वबाट आए जसराज किराती, मनु मञ्जिल, हेमन यात्री र सविता गौतम दाहाल । हेटौंडाबाट निमेष निखिल र चितवनबाट भूपीन 
खड्का ।

काँठ घुम्दै कविता भन्दै

पोखराबाट तीर्थ गुरुङले दिएको साथलाई राजधानीबाट मोमिला जोशी, विप्लव प्रतीक, रमेश क्षितिज, विप्लव ढकालदेखि भूपाल राईलगायतले निभाए । यी स्रष्टाले सधैं गतिविधि भइरहने राजधानीको केन्द्रमा हैन, काँठ क्षेत्रमा गएर जनजीवन बुझे, हाइकिङ गरे अनि कविता सुनाए ।


बूढानीलकण्ठमा सक्रिय वाग्द्वार साहित्य समाजको निम्तो मान्न शुक्रबारै शिवपुरी जंगलमुनिको बस्ती डाँडागाउँ पुगेका उनीहरूले शनिबार भव्य कवि गोष्ठी गरे । डाँडागाउँस्थित पेन्देल आमा समूहद्वारा सञ्चालित होमस्टेमा शुक्रबार साँझ तामाङ संस्कारअनुसार निधारमा टोटलाको फूल लाउँदै गर्दा कवि विप्लव ढकाल भावुक बने ।


डम्फु बजाउँदै र तामाङ शैलीको डोली चढाउँदै स्रष्टालाई होमस्टेमा भित्र्याइएको थियो । स्थानीय खानपानको स्वादसहित रात बिताएपछि शनिबार बिहानै स्रष्टा जंगलको नागबेली बाटो हुँदै विष्णुद्वार उक्ले । विष्णुमती नदीको शिरतर्फबाटको यो बाटोमा ऐतिहासिक र सांस्कृतिक मिथहरूको वर्णन गर्दै बाटो डोहोर्‍याए स्थानीय कवि बिना थिङ र श्याम संकल्पले । तीन घण्टाको हाइकिङमा स्रष्टाहरूले बौद्ध स्तूप, गुम्बादेखि मन्दिरसम्मको दर्शन गरे ।


हाइकिङपछि बूढानीलकण्ठमै आयोजित कवि गोष्ठीमा मुलुकको राजनीति, जनजीवन, सांस्कृतिक पहिचानदेखि समकालीन कविताको अनुहारसम्मको बहस चल्यो । कवि राजेन्द्र पराजुलीले ‘म एक सम्पादक दैनिक अखबारको’ शीर्षकको कवितामा सञ्चारकर्मसँग जोडिएका अनेक विसंगत पक्ष कवितामा समेट्दा सुलोचना मानन्धरले रातलाई पनि नडराईकन आफ्नो बनाउनुपर्ने सकारात्मक चिन्तनको कविता सुनाइन् । भूपाल राईले ‘मेरो कविता कसैले मन पराउँदैन’ भन्दै एकल जातीय र अखण्ड विचारले मुलुकलाई समावेशी र सहिष्णुताको दिशातिर नलैजाने अभिव्यक्ति दिए ।


उनले पछिल्लोपटक कविता वाचन ‘सन्दुरीहरूको क्याटवाक’ जस्तै बनिरहेको भन्दै व्यंग्य पनि कसे । लगत्तै विप्लव ढकालले नेपालीमा मौलाउँदै गएको गाली संस्कृतिमाथि कटाक्ष गर्दै कविता सुनाए । मोमिलाले आँखाबाट बग्ने आँसुले मस्तिष्क र मुटु दुवै भिजाउनुपर्ने भन्दै मानवीयताको वकालत गरिन् ।


पाका कवि वैरागी काइँलाले ‘माया मेरो मफलर भए...’ कविताको टुक्रा वाचन गर्दै उद्घाटन गरेको गोष्ठीमा अर्का पाका कवि दुर्गालाल श्रेष्ठलगायतका साधक पुरस्कृत भए । दुर्गाले सहर कंक्रिटको जंगल बनिसकेको भावको सिर्जना सुनाएपछि जसराज किराती, मनु मञ्जिल, बिन्दु शर्मा, राजन मुकारुङ, विप्लप प्रतीक, गीता त्रिपाठी, हेमन यात्री, विमल तुम्खेबा, रमेश क्षितिज, तीर्थ गुरुङ, भूपीन खड्का, स्वप्निल स्मृति, गिरीश शिरीष मगर, दीपक सापकोटा, सविता गौतम, हेमन्त विवश, काशीराम विरश, लक्ष्मी रुम्बा, भूपेन्द्र खड्का, आरके अदिप्प गिरीलगायतले कविता सुनाए । सुन्ने पंक्तिमा थिए, लेखक सञ्जीव उप्रेती, अर्चना थापा, कुमारी लामालगायत पनि ।


कवि अनिता लामाले सहजीकरण गरेको गोष्ठीमा समालोचक महेश पौडेलले ‘समकालीन नेपाली कविता ः प्रवृत्ति र परिलक्षण’ विषयक कार्यपत्र प्रस्तुत गरे भने लक्ष्मण श्रेष्ठले टिप्पणी गरे । वाग्द्वार साहित्य समाजका अध्यक्ष श्याम संकल्पको मुक्तक संग्रह ‘फाटेको मन’ लोकार्पण पनि गरियो । संग्रहमाथि स्रष्टा रामबहादुर पहाडीले टिप्पणी गरे ।


बूढानीलकण्ठ नगरपालिका ३ सँगको सहकार्यमा स्रष्टाले काँठ यात्रा गरेका हुन् । देशभरका स्रष्टा आफ्नो थलोमा पाउँदा खुसी लागेको बताए वडाध्यक्ष बालकृष्ण श्रेष्ठले । यही खुसियालीमै स्थानीय जेष्ठ नागरिक साइली तामाङले सेलो गाइन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?