नेपालभाषामा सिर्जना घट्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालभाषा (नेवारी भाषा) साहित्य सिर्जना कार्यक्रम घट्दै जान थालेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपालभाषा परिषद्ले संयुक्त रूपमा आयोजना गरेको ‘नेपालभाषा साहित्यमा काव्ययात्रा गोष्ठी’ मा ऊक्त विचार व्यत्त गरेका हुन् ।

नेपालभाषाको काव्यिक इतिहास ४ सय ६८ वर्षअघि सुरु भएको हो । मल्ल कालमा नेपालभाषा राजकीय भाषाका रूपमा प्रयोग गरिन्थ्यो ।

‘नेपालभाषा साहित्य प्राचीनकालदेखि अहिलेको अवस्थासम्म हेर्दा सबैभन्दा बढी लेखिएको, बढी पुस्तक प्रकाशन भएको तथा बढी सर्जक भएको विधा कविता नै हो,’ नेपालभाषाको कविता यात्रा शीर्षक कार्यपत्र प्रस्तुत गर्दै राजेन मानन्धरले भने, ‘प्रजातन्त्रपछि गणतन्त्र आयो । मानौं जनताले चाहेको सबै थोक आयो । यस्तो अवस्थामा नेपालभाषा काव्य क्षेत्र फेरि एकपल्ट खुलेर हुर्कनुपर्ने थियो । तर त्यो पनि अपेक्षाकृत सक्रिय बन्न सकेन । न नयाँ सिर्जनाले नयाँ रंग देखाउन पायो न पुराना हस्तीहरूले आफूलाई समयसापेक्ष बनाएर पस्कन सकेँ ।’

काव्य विधाअन्तर्गत गद्य र पद्य कविता, मुक्तक, गीत, गजल, हाइकु, खण्डकाव्य, महाकाव्यलाई लिइएको मानन्धरले उल्लेख गरेका छन् । राजनीतिक आन्दोलनसँगै जातीय मुद्दाले भाषालाई पहिचानको विषयका रूपमा उठाइएकोले भाषा बाँचिरहेको भान मात्र परेको तर सम्बन्धित समुदायका स्रष्टाहरूको प्रवर्द्धन हुन नसकेको दाबी गरे ।

‘अर्कोतर्फ अबको समाज पहिलेजस्ता साँघुरिएको परम्परावादी वा यथास्थितिवादी रहेन,’ कविहरू प्रविधिको प्रभावबाट मुक्त नरहेको उल्लेख गर्दै मानन्धरले भने, ‘विज्ञान र प्रविधिको विकाससँगै मोबाइल, इन्टरनेटमा व्यक्तिगत पहुँच बढेकाले समाजलाई व्यापकपरिवर्तन गरिदिएको छ ।’

समालोचक पूर्ण ताम्राकारले कार्यपत्रमाथि टिप्पणी गर्दै शुक्रराज शास्त्रीले नेपालभाषामा कृति लेखन र ग्रन्थ प्रकाशन गरेकैले तत्कालीन राज्यसत्ताले फाँसी चढाएको बताए । उनले भने, ‘यो भाषा नेवार जातिले बोल्छन्, लेख्छन् पढ्छन्, साहित्यको संरक्षण गर्छन् । तर, सरकारले मुलुकमा बोलिने भाषाहरूलाई उचित स्थान नदिएकाले आज ह्रासोन्मुख स्थितिमा पुगेका छन् ।’

प्रकाशित : जेष्ठ ७, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

सडकका लागि १ खर्ब प्रस्ताव

विमल खतिवडा

काठमाडौँ — आगामी वर्षका लागि सडक क्षेत्रलाई करिब एक खर्ब बजेटको प्रस्ताव अर्थ मन्त्रालयमा पेस भएको छ । सडक विभागले उक्त बजेट माग गरेको हो ।

जुन अघिल्लो आर्थिक वर्षभन्दा करिब ३० प्रतिशत बढी हो । उक्त रकमले नयाँ र केही पुराना सडक तथा पुलको स्तरोन्नति गर्ने विभागले जनाएको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार सप्तरीको कञ्चनपुर–कमला सडक र मुग्लिन–पोखरा सडकलाई चार लेन बनाउन लागिएको हो । बुटवल–नारायणगढ सडक चार लेन बनाउन सुरु गरिसकिएको छ । ‘मुग्लिनपारि खैरहनीबाट पोखरासम्म ८४ किमि चार लेन सडक निर्माण हुनेछ,’ उनले भने, ‘यसका लागि स्टिमेट फाइनल हुँदै छ, यो तीनवर्षीय योजना हो ।’

त्यस्तै सप्तरीको कञ्चनपुरबाट सिन्धुलीको कमला नदीसम्म ८० किमि सडकको स्तरोन्नति गरिँदै छ । विभागका अनुसार हाल उक्त सडक दुई लेन पनि छैन । ‘सवारी चाप धेरै छ,’ उनले भने, ‘त्यसैलाई मध्यनजर गर्दै पुराना सडकलाई चार लेन बनाउन लागेका हौं ।’ नयाँ सडक थप भएपछि जाम कम हुनेछ ।

‘पोखरामा विमानस्थल बनिरहेको छ, त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकको चाप बर्सेनि बढ्दो छ, जुन चापलाई हवाईमार्गले मात्र धान्न सक्दैन,’ उनले भने, ‘सडक मार्ग हुँदै जाने पर्यटक पनि हुन्छन्, तिनै पर्यटकलाई लक्षित गर्दै पुरानो सडकलाई चार लेनको बनाउन लागिएको हो ।’

‘काठमाडौं–पोखरा आउजाउ गर्न नागढुंगासम्म उपत्यका सडक विस्तार आयोजनामार्फत सडक निर्माणको काम भइरहेको छ, असारपछि सडक सहज बन्नेछ,’ उनले भने, ‘नागढुंगादेखि सिस्नेखोलासम्म टनेल राख्दै छौं, जसको आगामी आर्थिक वर्षमा निर्माण सुरु हुनेछ, सिस्नेखोलादेखि नौबिसेसम्म अहिले भइरहेको त्रिभुवन राजपथ नचलाउने गरी साढे ११ किमि नयाँ चार लेन सडक बन्नेछ ।’ दुवैतिर दुई–दुई लेन थप भएपछि चार लेन सडक हुने उनले बताए ।

हुलाकी र मध्यपहाडी सडकलाई रफ्तारमा लगिनेछ । ‘यी सडकलाई २/३ वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ उनले भने, ‘केही ठाउँमा पुलको काम बाँकी छ, त्यही भएर मध्यपहाडी र हुलाकी सडकमा करिब २० अर्ब चाहिने देखिन्छ ।’ उनका अनुसार नयाँ बन्ने सडकमा भने एडीबीको सहयोग रहनेछ । ‘एडीबीको पैसा भए पनि राष्ट्रिय बजेटमा आउने भयो,’ उनले भने, ‘त्यसैले गत वर्षभन्दा ३५ देखि ४० प्रतिशत बढी बजेट चाहिने देखिन्छ ।’

पाल्पाको सिद्धबाबाको बुटवल–पाल्पा सडक खण्डमा टनेल निर्माणका लागि डिजाइन बनिसकेको छ । यो पनि आगामी आर्थिक वर्षमा सुरु गर्ने तयारी गरिएको छ । त्यहाँ पनि बजेट प्रस्ताव गरिएकाले निर्माण हुन सक्ने उनले बताए ।

‘अहिले हामीलाई दिएको सिलिङले पुग्ने भएन, अर्थ मन्त्रालयसँग कुरा भइरहेको छ,’ उनले भने, ‘सिलिङ फाइनल भइसकेको छैन, राम्रै वृद्धि हुने अपेक्षा गरेका छौं ।’ नयाँ आर्थिक वर्षमा भनिएका सबै नयाँ प्रोजेक्ट सुरु हुने भएकाले पनि बजेट वृद्धि हुनुपर्ने उनले बताए ।

‘गत आवभन्दा यो वर्ष सडकका लागि बजेट विनियोजन राम्रै वृद्धि हुने अपेक्षा गरेका छौं,’ उनले भने, ‘त्यसमा पनि सरकारको कार्यक्रममा धेरै सडक नै पर्छन् । नयाँ आर्थिक वर्षबाट टनेल निर्माणको काम पनि सुरु गर्न लागिएकाले त्यसका लागि बजेट छुट्याउनुपर्ने हुन्छ ।’

नौबिसेदेखि मुग्लिनसम्म अहिले भएको सडक राम्रो छ । ‘त्यो सडक मुग्लिनमा जस्तो बढाइयो भने धेरै पहिरो आउने समस्या हुन सक्छ,’ उनले भने, ‘त्यही भएर जहाँ घुम्ती धेरै भएर सडक लम्बिएको छ, त्यहाँ सीधा बनाउन पुल हाल्नुपर्ने हुन्छ, लेन बढाएर मात्र भएन, क्षमता बढाउनुपर्ने हुन्छ ।’

उकालो पर्ने ठाउँमा छुट्टै लेन थपेर धेरै लोड बोक्ने ट्रकलाई आउजाउमा सजिलो हुनेछ । त्यस्तै आवश्कयताअनुसार ओभरहेड ब्रिजसमेत निर्माण गरिनेछ । देशभर करिब ७५ हजार किमि सडक छ । जसमा संघअन्तर्गत रहेका राष्ट्रिय राजमार्गहरूको लम्बाइ करिब १५ हजार किलोमिटर छ ।

राष्ट्रिय राजमार्गको कोटेश्वर क्षेत्रतर्फ दैनिक ३० देखि ३५ हजार सवारी साधन गुड्छन् । कर्णाली राजमार्गमा भने दैनिक २ सय गुड्ने गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीका अनुसार आउने बजेटमा पुराना सडकलाई निरन्तरता दिइनेछ ।

‘पुराना सडकले निरन्तरता पाउनेछन्, केही पुराना सडकलाई थप स्तरोन्नति गर्नेछौं,’ उनले भने, ‘नागढुंगादेखि सिस्ने खोलासम्मको टनेलको काम सुरु हुनेछ ।’ चार लेन सडकको काम पनि यो वर्ष नै सुरु हुनेछ । ‘पोखरापट्टि यो आर्थिक वर्षमै सुरु हुन्छ, मुग्लिनतर्फ अलि ढिला सुरु हुनेछ,’ उनले भने, ‘त्यस्तै कञ्चनपुर–कमला खण्डमा पनि सुरु हुनेछ ।’ बुटवल–नारायणगढको निर्माण सुरु भइसकेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्