राजदरबार हत्याकाण्डमा आधारित पुस्तक 'दरबारको दु:खान्त' सार्वजनिक हुँदै
काठमाडौँ — तत्कालीन राजा विरेन्द्रका एडीसी सुन्द्रप्रताप रानाले दरबार हत्याकाण्ड र राजपरिवारसँगको सम्बन्धमा आधारित पुस्तक 'दुरबारको दु:खान्त' सोमबार सार्वजनिक हुने भएको छ । किताब पब्लिसर्सले प्रकाशन गरेको यो पुस्तकमा तत्कालिन राजा, रानी र युवराजको एडिसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदा रानाले भोगेका,देखेका थुप्रै घट्नाका बारे उल्लेख गरिएको छ ।
एडीसी राना २०५८ जेठ १९ गते नारायणहिटीमा गोली चल्दाचल्दै घट्नास्थलमा पुग्ने पहिलो सुरक्षाकर्मी हुन् । 'राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरी मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो,’ एडिसी रानाले भने, 'दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो ।'
पुस्तकमा दरबार हत्याकाण्डको वरिपरीमात्र नभएर तत्कालिन राजपरिवारका सदस्यहरुको स्वाभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाईहरु ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्बन्ध लगायतका थुप्रै निजी प्रसंगहरु पनि यसमा समावेश गरिएको किताब पब्लिसर्सले बताएको छ ।
पुस्तकमा राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पढ्न पाइने प्रकाशन गृहले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रकाशित : जेष्ठ ४, २०७६ १७:५९