कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसाईंको 'वरिपरि नै सर्वाेपरि'

काठमाडौँ — लेखक जीवनकुमार प्रसाईंको पुस्तक 'वरिपरि नै सर्वाेपरि' को शुक्रबार राजधानीमा एक कार्यक्रम गरी लोकार्पण गरिएको छ । 

प्रसाईंको 'वरिपरि नै सर्वाेपरि'

लेखक प्रसाईंको यो तेस्रो पुस्तक हो । यसअघि उनले 'जीवन जिउने काइदा' र 'सधैं तन्नेरी' शीर्षकका दुई पुस्तक ल्याइसकेका छन् ।


पुस्तकमा हाम्रै वरिपरि र आसपासका संसारलाई समेटिएको पुस्तक लोकापर्णपछि समीक्षात्मक टिप्पणी गर्दै प्रमुख अतिथि तीर्थबहादुर श्रेष्ठले भने, 'पुस्तकभित्र प्रकृतिको वर्णन गहन रूपमा गरिएको छ । हामीले रुख, पानी आदिलाई प्रकृतिका रूपमा चिन्छौं । तर पुस्तकमा लेखकले यी प्राकृतिक कुराको पनि आफ्नै प्रकृतिको व्याख्या गर्नुभएको छ । रुखको प्रकृति यसको आकारप्रकार, स्वरूप हो भने पानीको प्रकृति बग्ने, जम्ने, छाल हान्नु हो ।'


श्रेष्ठले पुस्तकभित्र पञ्चतत्त्व पृथ्वी, जल, तेज, वायु र आकाश जस्ता पक्षलाई अर्गानिक रूपमा हरियालीमा परिवर्तन गर्ने कुरा उल्लेख गरिएको उल्लेख गरे । पुस्तकभित्र प्रकृतिसँगै सांस्कृतिक सम्पदा, मानिसको आहार, स्वास्थ्य, आध्यात्मिक, ज्ञानविज्ञान र प्रविधिका कुरा तथ्यगत रूपमा उल्लेख गरिएको छ । ठाउँठाउँमा राखिएका काव्यात्मक शैलीले पुस्तकमा लेखिएका कुराहरू अझ सुन्दर बनाएको श्रेष्ठले बताए । भने, 'मानिसलाई जहाँ र जस्तो अवस्थामा रहे पनि स्वास्थ्य र शरीर चाहिन्छ । जोसँग स्वस्थ शरीर छ, उसले नै जीवन भोग्न सक्छ ।'


लेखक प्रसाईंले स्वास्थ्य, खानपान, वातावरणले मानिसको गुणस्तरीय जीवनयापनलाई बहुआयामिक प्रभाव पार्ने उल्लेख गर्दै भौतिक सुखले मात्र मानिस रहन नसक्ने जिकिर गरे । 'उसलाई बाँच्न नदी किनार र हरियाली वातावरण नै चाहिन्छ । खानेकुरामा विषादी कम गरौँ । हीरा नभए पनि कीरा चाहिन्छ । हरियो जगत् जोगाऔं । फूल फुल्छ, भमरा आउँछ, हरियाली भएमा मात्र हामी हरियो हुन सक्छौं,' प्रसाइर्ंले भने । नेपालयले प्रकाशन गरेको पुस्तकमा 'हरियो जीवन', 'प्राणवायु अक्सिजन ताजा हावा', 'आआफ्नो भोजन' जस्ता शीर्षकमा प्रकृति, जीवन, भोजन, संस्कृति, मानव जीवनबारे उल्लेख गरिएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?