कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

गोर्खाल्यान्डबारे 'फातसुङ'

काठमाडौँ — नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास ‘फातसुङ’ सार्वजनिक झएको छ  । काठमाडौंमा शुक्रबार आयोजित कार्यत्रममा लेखक खगेन्द्र संग्रौला, भूषिता वशिष्ठ र उपन्यासकार काविमोले पुस्तक सार्वजनिक गरेका हुन्  ।

गोर्खाल्यान्डबारे 'फातसुङ'

भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा उपन्यासको कथा बुनिएको छ ।


लेखक संग्रौलाले उपन्यासले दार्जिलिङको माटोको कथालाई जीवन्त रूपमा देखाएको बताए । ‘छुदेनको ‘फातसुङ’ गोर्खाल्यान्ड आन्दोलनका रक्तरञ्जित सपनाहरूको कारुणिक र त्रासद अभिलेख हो । आकारमा सानो, अर्थमा ठूलो र आम मानिसको एक जीवन्तकथा । सरल वृत्तान्त र चित्रमय भाषाको सुन्दर सम्मिश्रण । रुचिकर र आनन्दमयी,’ उनले भने । दार्जिलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने संग्रौलाको भनाइ छ ।


कार्यक्रममा लेखक वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन् । उनले भाषा जातीयताको पहिचान रहेको र ‘फातसुङ’ ले त्यसलाई प्रस्ट्याउने उनको भनाइ छ । उनले भनिन्, ‘भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ । राजनीतिक चेतनाको सूत्रधार हो, भाषा ।

त्यसैले ‘फातसुङ’ जस्ता लोकभाषी पुस्तकको महत्ता दूरगामी छ ।’ पुस्तकमा ठेट भाषाले महत्त्व पाएको छ । भाषामा समृद्धिका लागि ‘फातसुङ’ जस्ता पुस्तकले महत्त्वपूर्ण योगदान दिन सक्ने उनले बताइन् । यसले लोकभाषालाई जीवन्त राख्न पनि सघाउने उनको भनाइ छ । ‘यो पुस्तकले त्यस्तो कथा बोक्छ, जसले धारा १४४ र गाउँमा आउने धाराको फरकपन छुट्ट्याउन सक्दैनन्,’ उनले भनिन् ।


लेखक छुदेनले उपन्यास ‘फातसुङ’ मा भाषिक पहिचानसहित गोर्खाल्यान्डको माग गर्दै विभिन्न समयमा भएका आन्दोलन र संघर्षको कथा उतारेको बताए । उनले भने, ‘ती आन्दोलनमा सयौं मान्छे मारिए । त्योभन्दा ठूलो कुरा हजारौं मान्छेको सपना भत्काइयो । यो उपन्यास त्यही सपनाहरूको कथा हो ।’

प्रकाशक अजित बरालले यस उपन्यासले नेपालीभाषी भारतीय लेखकहरूको पुस्तकप्रति नेपाली पाठकहरूको रुचि जगाउने दाबी गरे । उनले छुदेनको लेखनशैली विशिष्ट र पृथक् रहेको बताए । लेप्चा भाषाको शब्द फातसुङको नेपाली अर्थ माटोको कथा हुन्छ । उपन्यास फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

प्रकाशित : चैत्र २३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?