कुन्देलिङ गुम्बामा भृकुटी र चिनियाँ राजकुमारी

फूलमान वल

सिन्धुपाल्चोक — लस्करै मूर्ति । गौतम बुद्ध, आर्य अवलोकितेश्वर, रातो भैरव, महाँकाल अनि पद्मसम्भवको । दायाँबायाँ र पछिल्तिर भित्तामा भने भृकुटीदेखि तत्कालीन चिनियाँ राजकुमार वेनचेङसम्मका चित्र सजिएका छन् । यो हो सिन्धुपाल्चोक लिसंखु (ह्रिस्याङ्गो) स्थित छ्योइफेल कुन्देलिङ गुम्बा ।

सिन्धुपाल्चोक लिसंखुस्थित छ्योइफेल कुन्देलिङ गुम्बामा रहेका भृकुटी (बाँया) र चिनियाँ राजकुमारी वेनचेङका चित्र । तस्बिर : कान्तिपुर

लिच्छविकालमै बनेको यो ऐतिहासिक गुम्बाका भित्तेचित्रले यति बेला भने नयाँ रंग पाएका छन् ।

सात वर्ष लगाएर दार्जिलिङका खाइबा (चित्रकार) हरूले यो पुरानो गुम्बाको भित्ता चिटिक्क पारेका हुन् । गुम्बाका सचिव समेत रहेका लेखक बुद्ध योञ्जनका अनुसार दार्जिलिङका चर्चित भित्ते चित्रकार पासाङ घेलाको नेतृत्वमा चार कालिगडको मेहनतबाट कलाकृति तयार पारिएको हो ।

कथा छ घ्याङको
नेपाल सरकार, गुम्बा व्यवस्थान तथा बौद्ध दर्शन प्रवद्र्धन समितिको अनुसन्धानअनुसार यो गुम्बा एक हजार वर्ष पुरानो हो, जति बेला मल्लकाल सुरु भएकै थिएन । त्यति बेला काठमाडौंपूर्वमा छ ठूला घ्याङ थिए । लिसंखुको यो गुम्बासहित दोलखाको चरिघ्याङ, रामेछापका पोङदी र ढोङमे अनि काभ्रेका नाङरे र बाङथली । यी अहिले पनि अस्तित्वमा छन् । लिसंखुको गुम्बा भने तामाङ समुदायको योञ्जन थरको उत्पत्ति कथासँग पनि जोडिन्छ । संगीतकार गोपाल योञ्जन, भाषाविद् अमृत योञ्जन, पूर्वराजदूत गणेश योञ्जनदेखि पहिलो कान्छा सगरमाथा आरोही शम्भु तामाङसम्मको लहरो यही थलोसँग जोडिन्छ ।

गुम्बाका सचिव बुद्ध योञ्जनका अनुसार, यो गुम्बा सुरुमा मास्तिर जंगलबीच थियो, प्राचीन काष्ठकला सहित । १९९० को भुइँचालोले केही असर गरेको यो गुम्बा तल भन्ज्याङमा सर्‍यो, ७३ वर्षअघि ।

‘तैपनि हजार वर्ष पुरानो मूर्तिकला, छ्योर्तेन र थाङका चित्र बचाउने कोसिस गरियो,’ उनले भने, ‘अहिले नयाँ भित्तेचित्र बनाइएका भए पनि स्केच चाहिँ हजार वर्ष पुरानै हो ।’

डोल्मा र डोल्कर
दार्जिलिङका कालिगडले सात वर्ष लगाएर कोरेका भित्ते चित्रहरूमध्ये डोल्मा र डोल्करको कथा रोचक छ । तामाङहरू भृकुटीलाई डोल्मा भन्छन् । थाङका चित्रको भाषामा– हरिततारा । बजारमा चलेको नाम चाहिँ ग्रीनतारा । सातौं शताब्दीमा तिब्बतका राजा थिए स्रङचङ गम्पो ।

‘उनैसित बिहे भएर गएपछि थाङका चित्रहरूमा भृकुटीको महिमागान गरिन थाल्यो,’ थाङका चित्रकारसमेत रहेका बुद्धले भने, ‘यसको अर्को कारण तिब्बतमा बौद्ध दर्शन प्रचारप्रसार पनि हुन सक्छ ।’

भृकुटीसित तामाङ समुदायको नाता चाहिँ के हुन सक्छ ? डोल्माको नामबाट पुकारिने भएकाले पनि भृकुटीसित आफ्नो समुदायको खास सम्बन्ध हुन सक्ने अड्कल गर्छन् लिसंखुमै जन्मी हुर्केका पूर्वप्राज्ञ एवं चित्रकार निमा घ्याम्जो वल ।

गुम्बाको भित्तामा अन्य चित्रसँगै तत्कालीन चिनियाँ राजकुमारी वेनचेङको पनि चित्र छ । बेइजिङको तत्कालीन ताङ वंशकी राजकुमारी वेनचेङलाई कान्छी रानीका रूपमा भित्र्याएका थिए राजा स्रङचङ गम्पोले । थाङका चित्रको भाषामा उनलाई श्वेततारा (ह्वाइट तारा) भनिन्छ । अर्को नाम हो डोल्कर । चित्रकारहरू उनको शरीरमा सेतो रंग पोत्छन् । डोल्माको शरीरमा भने हरियो पोत्छन् । ‘तिब्बतीहरू भृकुटीलाई बेल्सा भन्छन् भने वेनचेङलाई ग्यासा,’ निमाले भने, ‘तामाङहरूले कोर्ने थाङकामा डोल्मा र बेल्साको चित्र अनिवार्य हुन्छ ।’

बुद्धका अनुसार, बौद्ध परम्परामा भित्ते चित्रको महिमा ठूलो छ । कुनै समय बौद्ध दर्शन प्रचारप्रसारका रूपमा जन्मिएको यस्तो प्रकृतिको भित्ते चित्र र थाङका कला गुफाकालीन ‘केभ आर्ट’ को परिमार्जित फर्म नै हो ।

‘हरेक गुम्बाको भित्तामा यस्ता चित्रहरू देख्न सकिन्छ,’ हालैको दिन साहित्यिक संस्था तामाङ डाजाङका तर्फबाट लेखक तथा कविहरूको टोलीलाई गुम्बामा निम्त्याएका बुद्धले भने, ‘इतिहास, सभ्यताको प्रतीक र संस्कृति बचाइराख्न यस्ता चित्रहरूले काम गरिरहेका छन् ।’

तामाङ समुदाय आठौं शताब्दी (पद्मसम्भवको समय) मा बौद्धमार्गी बनेका हुन् । त्यही भएर पनि गुम्बामा पद्मसम्भवको पनि चित्र छुट्दैन । पद्मसम्भवको अर्को नाम गुरु रिन्पोछे हो । यसबाहेक गुम्बा सजाउने क्रममा भित्तामा आर्य अवलोकितेश्वर, महाँकाल, बुद्ध जिवनीजस्ता चित्रहरूको पनि प्रयोग हुन्छ ।

‘बुद्ध जीवनी’ चित्रमा चाहिँ बुद्ध जन्मेदेखि ज्ञान प्राप्ति र महापरिनिर्वाणसम्मका घटनाक्रम चित्रकै माध्यमबाट देखाइन्छ । बुद्धका अनुसार, लिसंखुको छ्योइफेल कुन्देलिङ गुम्बाको विशेषता के हो भने यो लिच्छविकालीन बौद्ध कला–परम्पराको निरन्तरता पनि हो । कुराकानी क्रममा उनले लिब्छविकालीन छ्योर्तेन पनि देखाए । ढलोट माध्यममा बनेको यस्तो
छ्योर्तेन आधुनिक गुम्बामा पाइँदैन ।

अनि मूर्ति बोल्छ
२०७२ को भूकम्पअघि नै यो लिच्छविकालीन गुम्बाको जनस्तरबाटै जीर्णोद्धार सुरु भएको थियो । भूकम्पले गुम्बाको पछाडि भित्ता नराम्रोसँग भत्काइदियो । त्यसलाई पनि उठाएर अहिले नयाँ भित्ते चित्रसहित गुम्बाको भित्री र बाहिरी सजावट चिटिक्क पारिएको छ । कान्छा सगरमाथा आरोही शम्भुका तामाङका अनुसार जीर्णोद्धार क्रममा ह्रिस्याङगो सेवा समाजको भूमिका पनि महत्त्वपूर्ण रह्यो ।

समाजमार्फत नै भारतीय दूतावासले अहिले गुम्बा परिसरमा लामाका लागि आवासीय भवन र शौचालय मात्रै हैन, गुम्बाको आँगनमै ढुंगा बिछ्याएर कलात्मक बनाइदिएको छ । बौद्ध परम्परामा कुनै पनि सम्पदा या मूर्तिहरू निर्माण/पुनर्निर्माणपछि प्राणप्रतिष्ठा गर्ने (ह्राप्ने) चलन छ । अहिलेसम्म यी चित्र र मूर्ति निर्जीव छन्, प्राण भरिएको छैन । ‘केही महिनामै र्‍हाप्ने पूजा हुन्छ,’ बुद्धले भने, ‘त्यसपछि यी चित्र र मूर्ति जीवित भएको मानिनेछ । अनि भगवान्जस्तै उनीहरू बोल्ने विश्वास गरिन्छ ।’

प्रकाशित : माघ २५, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्

सीमान्तकृत स्वर 

रंगमञ्ज
फूलमान वल

काठमाडौँ — संसद्मा समेत एलजिबिटी समुदायको प्रतिनिधित्वको ‘स्वर्ण उदाहरण’ केही वर्षअघिको मात्रै हो । ‘मित्राची गोस्ट’ को नेपालीकरण र यसको चरित्र विश्लेषणका क्रममा यी कुरा ध्यान दिइनुपथ्र्यो । 

यसै पनि चिसो हुन्छ सिक्किममा । गत मार्च महिनाको एउटा चिसो साँझ राजधानी गान्तोकको एउटा क्याफेमा नेसनल स्कुल अफ ड्रामा (एनएसडी) सिक्किमका निर्देशक विपिनकुमार भने नेपाली रंगमञ्चको तातो गफ गर्दै थिए । तातो किन भने थिएटर ओलम्पियाको क्रममा उनले भारतको कुनै सहरमा नेपाली नाटक ‘जिउँदो आकाश’ हेरेका रहेछन् । आरके मेहता रोशनको निर्देशन र चन्द्रप्रसाद पाण्डेको लेखन रहेको यो नाटकमा अनिल सुब्बाले गरेको अभिनयको विपिन कुमारले खुलेर प्रशंसा गरे । लैंगिक अल्पसंख्यकको कथाव्यथा बोकेको यो नाटक काठमाडौंको सर्वनाम थिएटरमा लामो समय मञ्चन भएपछि थिएटर ओलम्पियाका लागि भारत पुगेको थियो ।

कफीगफ भइरहेको बेला सिक्किमकै रंगमञ्चको पनि चर्चा चल्यो । अल्पसंख्यक समुदायको रूपमा रहेको भारतीय नेपालीहरूको मनोदशा, उनीहरूको मथिंगलमा बेला–बेला उठ्ने भिन्न पहिचानको भोक अनि त्यस्तै भोकको परिवेशले चिथोरिएको मनोविज्ञान आफ्ना सिर्जनामा उठाउँदै आएका कवि वीरु वाङदेल छेवैमा थिए । भारतीय रंगमञ्चको मूलधारको सन्दर्भमा सिक्किमे रंगमञ्च या पूर्वोत्तर भारतीय कला, संस्कृति र भाषा आफंैमा सीमान्तकृत मनोदशाबाट गुज्रिरहेको बेला विपिन कुमारले अग्र्यानिक रंगमञ्चको सम्भावनाको कुरा गरे । ‘भारतीय अल्पसंख्यक समुदायका सांस्कृतिक मौलिकता र मिथकीय चेतना यहाँको रंगमञ्चीय मूलधारमा अझै आउनसकेको छैन,’ उनी भन्दै थिए, ‘सिक्किमले योसम्भावना बोक्छ ।’

फेरि उनले नेपालकै कुरा जोडे । ‘जिउँदो आकाश’ र अनिल सुब्बाको प्रशंसा गरे । ‘जिउँदो आकाश’ मा तेस्रोलिंगी पात्र गरेका उनै अनिल यतिबेला राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा भेटिन्छन्, नाटक ‘साथीको कथा’ मा । यस पटक उनी केन्द्रीय पात्रको रूपमा छैनन् । लैंगिक अल्पसंख्यककै विषयमा बनेको यो नाटकमा उनी बरु केन्द्रीय पात्र सुमी (सुष्मा निरौला) लाई प्रेम गर्छन् । सुमीचाहिँ महिला भए पनि पुरुषको स्पर्श मन नपराउने सीमान्तकृत चरित्र (लेजवियन) मा छिन् ।

मित्राची गोस्ट ?
भारतीय समलिंगी समुदायको समस्या र मनोविज्ञान समातेर विजय तेन्दुलकरले झन्डै चार दशकअघि नाटक लेखेका थिए, ‘मित्राची गोस्ट’ । मण्डलामा चलिरहेको ‘साथीको कथा’ यही नाटकको नेपाली रूपान्तरण हो । सागर चन्दले नेपाली अनुवाद गरेका छन् भने रेनुका कार्कीले निर्देशन । नाटकले नेपाली समाज कति संकुचित, साँघुरो र परम्परागत चिन्तनबाट गुज्रिरहेको छ भन्ने भिन्न पाटोलाई तेस्रोलिंगी मनोविज्ञानबाट उजागर गर्छ । प्रेम सम्बन्धमा जब भिन्न लैंगिक चेतना प्रवेश गर्छ, पुरुष स्पर्श स्त्रीलाई चिसो लाग्छ र स्त्री स्पर्शले पुरुष पग्लिँदैन, अनि व्यक्तिगत सम्बन्ध जटिलतातिर मोडिन्छ । पाँच जना पात्रले खेप्ने यस्तै जटिल सम्बन्धको विस्तृति हो ‘साथीको कथा’ । सम्बन्धको वैयक्तिक अनुभूति, प्रेम र समलैंगिक मनोविज्ञानको विरुद्ध परम्परागत सामाजिक मान्यता र त्यसले निर्माण गर्ने जटिल सम्बन्धभित्र नाटकका चरित्रहरू जेलिएका छन् ।

समलिंगी सम्बन्धको सवालमा यो नाटक आफैंमा एउटा बहस हो । ‘जिउँदो आकाश’ ले जसरी लैंगिक अल्पसंख्यकको मुद्दाहरूलाई प्रकाशमा ल्याउने काम गर्‍यो, यसले पनि त्यसैमा इँटा थप्ने प्रयास गरेको छ । तर, नेपाली सन्दर्भमा कुनै पनि उत्पीडित समुदायको मुद्दा उठाउँदा वस्तुगत विश्लेषणभन्दा पनि अतिवादी कोणबाट अलिक चर्कै ढंगले प्रस्तुत हुँदै आएको देखिन्छ । यसको प्रभाव ‘साथीको कथा’ मा पनि देखिन्छ । विषयवस्तुको अतिवादी प्रस्तुतिबाट यो जोगिएको छैन । जस्तो कि समलिंगी भएकै कारण घरबाट छोरी निकालिनु, कलेजबाट रेस्टिकेट हुनु अनि अति भएपछि आत्महत्या गर्नु । नेपाली समाजमा एलजिबिटी समुदायको अवस्थिति जस्तो छ, त्यसको सापेक्षताअनुकूल नाटकको चरित्र विश्लेषण हुनसकेको छैन ।

विजय तेन्दुलकरले लेखेको उतिबेलाको भारतीय सामाजिक परिवेश र समय अनि अहिले हामीले भोगिरहेको नेपाली समाज र समयबीच ठूलो अन्तर छ । लेजवियन, गे, बायोसेक्सुअल या ट्रान्सजेन्डरको सवाल । भारतीय कानुनी व्यवस्था र हाम्रो कानुनी व्यवस्था पनि आकाश जमिनको फरक छ । समलिंगी भएकै कारण कलेजबाट निष्कासन हुनुपर्ने अवस्था त निकै परको कुरा, उनीहरू आत्मस्वाभिमान साथ शिर उठाएर हिँड्ने पाउने अवसर मात्रै हैन, नागरिकताको कानुनी हकसमेत उपलब्ध छ नेपालमा । संसद्मा समेत एलजिबिटी समुदायको प्रतिनिधित्वको ‘स्वर्ण उदाहरण’ केही वर्षअघिको मात्रै हो । ‘मित्राची गोस्ट’ को नेपालीकरण र यसको चरित्र विश्लेषणका क्रममा यी कुरा ध्यान दिइनुपथ्र्यो ।

साहित्य, कला, फिल्म या नाटक, यिनलाई दृष्टिकोण र विवेकसहितको सिर्जनशील उत्पादनको रूपमा लिइन्छ । यस्ता उत्पादनले पार्ने असर सहज र दिर्घकालीन हुन्छ । त्यही भएर सफ्ट पावर भनिएको हो यस्ता उत्पादनलाई । सकारात्मक रूपमा मुद्दा उठाउन खोजिएको भए पनि ‘साथीको कथा’ मा मूलपात्रले गर्ने आत्महत्याले सम्बन्धित समुदायमा उत्प्रेरणा हैन, निराशा बाँड्छ । यद्यपि लैंगिक हिसाबले सीमान्तकृत समुदायको विषयलाई रंगमञ्चमा ल्याएर रेनुका कार्कीले प्रशंसनीय काम गरेका छन् । अभिनयमा पनि कुनै खोट छैन ।

सुनले बिगार्छ सम्बन्ध
पछिल्लो समय नेपाली रंगमञ्चमा स्वत:स्फूर्त रूपमा बिस्तारै सीमान्तकृत समुदायको आवाज मुखरित हुँदै छ । सरकारी प्रज्ञा प्रतिष्ठानहरू परम्परागत चिन्तनको निद्रामा मस्त सुतिरहेको बेला निजी थिएटर समूहहरूको गतिविधि लोभलाग्दो बन्दै गइरहेको छ । मण्डला थिएटरमा देखाइएको राजन मुकारुङको ‘हेत्छाकुप्पा’, प्रदीप चौधरीको ‘कालापत्थर माथि’, दयाहाङ राईको ‘मितज्यू’, शिल्पी थिएटरमा देखाइएको रमेशरञ्झन झाको ‘सखी’, घिमिरे युवराज निर्देशित ‘म्हेन्दोमाया’, किरण चाम्लिङको ‘लाटो पहाड’, सोनाम लामा मोक्तान निर्देशित ‘सोनाम ग्याल्मो’ पछिल्ला केही उदाहरण हुन् ।

उदाहरणको पंक्तिमा अर्को सिर्जना थपिएको छ, थारू भाषाको नाटक ‘करोट’ । यतिबेला सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘करोट’ ले थारू समुदायको अग्र्यानिक स्वाद पस्किरहेको छ । प्रवण आकाशको लेखन र निर्देशन रहेको ‘करोट’ को विषयवस्तु युनिभर्सल भए पनि नाटकको सांस्कृतिकता थारू समुदायमा आधारित छ ।

‘सुनले सम्बन्ध बिगार्छ’ भन्ने लोकोक्ति प्रचलित छ थारू समुदायमा । यसैलाई टिपेर प्रवणले नाटक लेखेका हुन् । ‘करोट’ को अर्थ हुन्छ कोल्टे फेर्नु । धन सम्पत्ति र लालचले कसरी सम्बन्धलाई कोल्टे फेर्ने अवस्थामा पुर्‍याउँछ भन्ने सर्वकालिक कथालाई थारू सांस्कृतिक रंग दिइएको छ । खासमा यो पारिवारिक विखण्डनको कथा हो । साइज बढ्दै गइरहेको मानवीय इच्छा, आकांक्षा र आवश्यकताले आज मानिसलाई कसरी विभाजित बनाउँदै लागेको छ ? नाटकले प्रश्न गर्छ । लोककथा आधारित भए पनि नाटकले आजको जीवनको समस्या र समाजको यथार्थ पस्किने प्रयास गरेको छ ।

पुरानोबाट नयाँ र पक्की घरतिर लम्किरहेका छन् आजका मानिस । खाली खुट्टाबाट साइकल, साइकलबाट मोटरबाइक र मोटरबाइकबाट निजी गाडीतिर दौडिरहेका छन् । त्यस निम्ति पुराना सामाजिक सम्बन्धहरू निमोठ्न पनि तयार छन् ती । अन्तत: उपभोक्तावादी संस्कृतिले खनेको आकांक्षाको फराकिलो चौरमा नमज्जाले पछारिन विवश
हुन्छन् । यस्तै एक पात्र छन् नाटकमा जसले सुन भेटिएपछि व्यक्तिगत आकांक्षाको खेती गर्छन्, सामूहिकता त्यागेर ।
लाहुरे भित्रिएपछि गाउँमा समस्या आइपरेको सन्दर्भ अर्थपूर्ण लाग्छ । आजका सीमान्तकृत र आदिवासी संस्कृतिमाथि बाहिरियाको प्रभावको विम्बको रूपमा अथ्र्याउन सकिन्छ यसलाई । दुई छोरा भिन्नै बस्नबाट जोगाउन आमाले गरेको प्रयास पनि उत्तिकै विम्बात्मक छ । आमालाई परम्परागत ज्ञान, सभ्यता, संस्कृतिको प्रतीक मान्ने हो भने यो नाटकलाई थारूलगायत सीमान्तकृत समुदायले अहिलेको समय भोगिरहेको सांस्कृतिक विचलनको दस्ताबेज मान्न सकिन्छ ।
नाटकको अर्को सौन्दर्य हो थारू भाषा । दुई वर्षअघि थारू भाषामै ‘भुरभुरा रहर’ नाटक प्रस्तुत गरेका प्रवणले राजधानीले नबुझेको भाषामा नाटक मञ्चन गरेर अर्को अर्थपूर्ण काम गरेका छन् । नेपाली समाजको विविधतालाई सहज रूपमा स्विकार्ने आम मनोविज्ञान निर्माण गर्न यस्ता कलात्मक प्रयासहरू भई नै रहनुपर्छ । यस हिसाबले पनि ‘करोट’ नाटकको आयाम फराकिलो छ । यद्यपि नाटकको पेसिङ भने स्लो लाग्छ ।

थारू समाजको दैनन्दिन प्रतिच्छाया पनि छ ‘करोट’ मा । हुन त थारू समाज पनि यतिबेला अरूजस्तै सांस्कृतिक/आर्थिक संक्रमणबाट गुज्रिरहेको छ । हलो–जुवा र किसानलाई पुष्ठभूमिमा पारेर सेल्फी खिच्ने ‘सेल्फिस जेनेरेसन’ यो समुदाय पनि हुर्किंदै छ यो समाजमा । यही संक्रमणले आज पुरानो मूल्य–मान्यता र अग्र्यानिक ज्ञानमाथि प्रहार गरिरहेको छ र बजारको रेडिमेड खुसी गाउँ भित्रिरहेको छ । थारू समुदायको माछा मार्ने संस्कृति र नाचगानसँगै लोकगीतसँग थारू समुदाय कति नजिक छ भन्ने सन्दर्भ प्रस्तुत गरेर नाटकले भने सीमान्तकृत संस्कृतिको वकालत गरेको छ । स्टेज सजावटमा अन्नको प्रतीकको रूपमा धानको बाला, भित्तामा पाँच औंलाको रातोमाटो छाप र मैथिली कलाभन्दा भिन्नै पहिचान बोकेको थारू भित्तेचित्रको प्रयोगमार्फत नाटकले थारू मौलिकताको अग्र्यानिक क्यानभास प्रस्तुत गरेको छ । यसले नेपाली रंगमञ्चमा सीमान्तकृत समुदायको उपस्थितिलाई बलियो बनाउन सघाउँछ ।

प्रकाशित : पुस २१, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्