संगीत र साहित्य हुँदै राजनीतिसम्म

जयपुर लिटरेचर फेस्टिभल
कान्तिपुर संवाददाता

जयपुर — ‘आफ्ना दु:ख भुलेर जसले गाउन सक्छ, त्यही गायक सफल हुन्छ ।’ गायिका उषा उत्थुपले करिब पाँच दशक लामो सफल गायनयात्राको सूत्र खोल्दा दर्शकश्रोताहरूको प्रतिक्रिया तालीको गडगडाहटमा आयो ।

भारतको पश्चिमी राज्य राजस्थानको जयपुरमा बिहीबार सुरु फेस्टिभलको तेह्रौँ संस्करणको पहिलो दिन उषा आयोजक सञ्जय रोयसँग गफिँदै थिइन् । विभिन्न भारतीय भाषामा गीत गाइसकेकी उषाले ‘आई बिलिभ इन म्युजिक’ शीर्षक विमर्शमा आफ्ना संघर्षका कथा मात्र सुनाइनन्, सबैलाई आफूबारे सोच्न बाध्य पार्ने गरी प्रेरित पनि गरिन् ।


होटलको नाइट क्लबबाट सुरु भएको उषाको गायनयात्रा पछि गएर बलिउडसँग जोडिन पुगेको हो । ‘रम्बा हो...’, ‘डार्लिङ...’ जस्ता लोकप्रिय गीतकी गायिका बोल्ड गायनका लागि निकै कहलिएकी छन् । दक्षिण भारतीय भएर पनि उनले गाएका बंगाली, मराठी, हिन्दीदेखि भोजपुरी गीतसम्म त्यतिकै चलेका छन् ।


‘दम मारो दम...’ सुरुमा मैले नै गाउने निश्चित थियो,” उषाले सुनाइन्, ‘संगीतकार आरडी बर्मनले पछि आशा भोसलेलाई गाउन दिए ।’ यहाँ बिर्सन नहुने प्रसंग के छ भने, ‘हरे रामा हरे कृष्णा’ फिल्म अत्यधिक सफल हुनुमा यो गीतको पनि मुख्य भूमिका थियो ।


डिग्गी प्यालेसका छ विभिन्न स्थानमा चलिरहेका विमर्शहरूमा दर्शकश्रोता आ–आफ्ना रूचिअनुसार बाँडिएका थिए । भारतीय चलचित्र क्षेत्रका सुप्रसिद्ध गीतकार/कवि र निर्देशक गुलजार तथा उनकी फिल्म निर्देशक पुत्री मेघनाको सत्रमा दुई पुस्ताबीचका मनमुटावदेखि लिएर एउटी छोरीले आफ्ना प्रतिभावान् पिताबाट केके गुण अनुसरण गर्न सक्छिन् भन्ने विमर्शले दर्शकदीर्घामा उपस्थित धेरैलाई भावविहल तुल्याएको थियो ।


गुलजार र मेघनाबीच साहित्य लेखन र बाबु–छोरीबीचको सम्बन्धमाथि ‘बिकज वी आर : अ पोर्टे्रट अफ माई फादर’ शीर्षकमा भावुक अन्तरक्रिया चलिरहँदा केही पर रहेको चारबाग मञ्चमा राजस्थानका उपमुख्यमन्त्री सचिन पायलट भने पत्रकार श्रीनिवास जैनसँग राजस्थानमा हालै सम्पन्न चुनाव र भारतीय राष्ट्रिय कंग्रेसले हासिल गरेको सफलतालगायतका अन्य समसामयिक राजनीतिक विषयमा गफिइरहेका थिए ।


विपक्षीबिनाको लोकतन्त्रको कुनै अर्थ नरहने भन्दै पायलटले भारतको केन्द्रीय राजनीतिमा पछिल्लो समय विपक्षीको भूमिका अस्वीकार गर्ने प्रवृत्ति विकास भएको बताए । त्यति मात्र होइन, उनले पछिल्लो समय विभिन्न बहानामा युवाहरूको आवाज दबाउने कोसिस भइरहेको र त्यसले दीर्घकालमा भारतीय लोकतन्त्रको हित नगर्नेसमेत औँल्याए । राजनीतिमा धैर्यको फल जहिल्यै मीठो हुने बताउँदै उनले आ–आफ्ना जिम्मेवारी पूरा गर्न सके जोसुकैले ढिलोचाँडो सफलता हात पार्नेसमेत दाबी गरे ।


कवि/गीतकार गुलजार र उनकी छोरी मेघना ‘बिकज वी आर : अ पोर्टे्रट अफ माई फादर’ शीर्षक अन्तरक्रियामा  ।


मुगल टेन्टमा लेखक उपमन्यू चटर्जी र पत्रकार प्रज्ञा तिवारीबीच भएको अन्तरक्रिया भने बिलकुलै भिन्न प्रकृतिको थियो । पत्रकार तिवारीका तिखा प्रश्न र चटर्जीको रुखो जवाफबीचको घम्साघम्सी त्यतिकै रुचिकर थियो । ‘इंग्लिस अगस्ट’ का लेखक चटर्जीले लामो उपन्यास लेखनलाई म्याराथनसँग र छोटा कथालाई सय मिटर दौडका रूपमा अथ्र्याएका थिए ।


अर्थशास्त्री विवेक देवरोय र पुष्पेश पन्तबीचको ‘पत्रिका गेम चेन्जर सिरिज’ ले पनि थुप्रै दर्शक बटुल्यो । पाँचदिने फेस्टिभलमा पाँच सयभन्दा बढी लेखकहरूले अन्तरक्रिया गर्नेछन् । पहिलो दिन नै विविध क्षेत्रसँग सम्बन्धित ३२ विषयमा छलफल भए ।


उत्सवको उद्घाटन सत्रमा बेलायती लेखक रुथ पडेल र रसायन शास्त्रमा नोबेल पुरस्कार विजेता वेंकी रामकृष्णनले यस्ता फेरिस्टभले जोकोहीलाई आफ्नो रचनात्मक क्षितिज फराकिलो पार्न उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए । फेस्टिभल निर्देशक नमिता गोखलेले पहिलो संस्करणदेखि अहिलेसम्म आइपुग्दा पठन संस्कृतिमा उल्लेखनीय उन्नति देखेको अनुभव साटिन् ।

प्रकाशित : माघ ११, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

मडुरोले तोडे अमेरिकासँगको सम्बन्ध 

भेनेजुएला संकट
अमेरिकी कूटनीतिक नियोगका कर्मचारीलाई ७२ घण्टाभित्र देश छाड्न आदेश 
राष्ट्रपति मडुरोलाई अपदस्थ गरे रूसले सैनिक हस्तक्षेप गर्ने
रोयटर्स

काराकस — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता खुवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि राष्ट्रपति निकोलास मडुरोले अमेरिकासँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । 

राष्ट्रपति ट्रम्पले ३५ वर्षीय गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए । राजधानी काराकसमा गुआइडोले आफूलाई भेनेजुएलाको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेलगत्तै ट्रम्पले समर्थन जनाएका हुन् ।

मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गर्दै सम्बन्ध तोडेको घोषणा गरे । उनले भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र देश छाड्न आदेशसमेत दिएका छन् ।

अमेरिकाले ‘पूर्वराष्ट्रपति’ लाई उक्त आदेश दिने अधिकार नभएको प्रतिक्रिया दिएको छ । अमेरिकाले गुआइडोलाई समर्थन गर्न भेनेजुएलाको सेनालाई आग्रहसमेत गरेको छ ।

राष्ट्रपति ट्रम्पले गुआइडोलाई समर्थन गरेलगत्तै निष्पक्ष चुनाव गराउने उनको योजनाको प्रशंसासमेत गरेका थिए । ट्रम्पको प्रतिक्रियालगत्तै क्यानडा तथा ब्राजिल, कोलम्बिया, पेरुलगायतका देशले समेत उक्त कदमको समर्थन गरेका थिए । सबै दक्षिण अमेरिकी देशहरूले विपक्षी नेतालाई समर्थन गरिसकेका छैनन् ।

भेनेजुएलाको तेल उद्योगमा ठूलो लगानी गरेको रूसले गुआइडोको घोषणाको सार्वजनिक रूपमा विरोध जनाएको छ । उसले ती देशको कदम ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन’ भएको प्रतिक्रिया दिएको छ । रूसी समाचार संस्था इन्टरफयाक्सका अनुसार संसदको तल्लो सदनका सभामुख भ्याचेस्लाभ भोलोदिनले मडुरोलाई हटाउने घोषणा अवैध भएको बताए । सांसद फ्रान्ज किलिन्जेभिचले मडुरोलाई अपदस्थ गरिए रूसले सैनिक हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।

टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले मडुरोबोहक अन्यलाई राष्ट्रपति मान्नु अराजकता भएको प्रतिक्रिया दिएका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले घटनाबारे पेरिसले युरोपेली मित्रहरूसँग परामर्श गरिरहेको जनाएको छ ।
देशभरि लाखौं मानिसहरूले केही दिनदेखि वर्तमान राष्ट्रपति निकोलस मडुरोविरुद्ध प्रदर्शन गर्दै आएका थिए । त्यसको आडमा गुआइडो आफूलाई राष्ट्रपति घोषणा गरेका हुन् ।

अमेरिकी अधिकारीले मडुरोले सत्ता हस्तान्तरणको शान्तिपूर्ण संक्रमणलाई स्वीकार गर्ने अपेक्षा गरेको जनाएका छन् । गुआइडोलाई सुरक्षा फौजको समर्थन मिलिसकेको छैन । सैन्य फौजले मडुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन् । जसका कारण भेनेजुएला थप अनिश्चिततातर्फ धकेलिने सम्भावना देखिएको छ ।

को हुन् गुआइडो ?
हुवान गुआइडो विद्यार्थी नेताका रूपमा राजनीतिमा आएका हुन् । उनले पूर्व राष्ट्रपति हयुगो चाभेजले मडुरोलाई उत्तराधिकारी बनाउँदा चर्को विरोध गरेका थिए । मडुरो सन् २०१३ मा भेनेजुएलाको राष्ट्रपति निर्वाचित भएका थिए ।
उक्त कदमपछि गुआइडो निरन्तर रूपमा सरकारविरोधी प्रदर्शनमा सक्रिय छन् ।

मडुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धराशायी भएको छ । चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुको अभाव मुख्य समस्या हुन् ।

मडुरोले आफूलाई अपदस्थ गर्ने षड्यन्त्र गरिरहेको भन्दै विपक्षीविरुद्ध आपराधिक अनुसन्धान थाल्न अदालतलाई आदेश दिएका छन् । जसका कारण विपक्षी दलहरू उनीसँग झन रुष्ट छन् । मडुरोले राष्ट्रपतिको कार्यकाल सुरु गरेपछि भेनेजुएलामा चर्किएका प्रदर्शनका क्रममा आधा दर्जनभन्दा बढीको ज्यान गइसकेको छ ।

वार्तामार्फत समस्या सुल्झाउन राष्ट्रसंघको आग्रह संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुयलामा जारी राजनीतिक संकटबारे चिन्ता व्यक्त गर्दै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।

‘संवादमार्फत हामीले सबै समस्याको समाधान निकल्नेमा हाम्रो आशा छ । भेनेजुयलाका जनता र उक्त क्षेत्रमा विपत निम्तिने प्रकारको द्वन्द्वलाई हामीले टार्नेपर्छ,’ स्वीटजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको कार्यक्रममा बोल्दै गुटेरेसले भने ।

विपक्षी नेतालाई समर्थन गर्ने अमेरिका, ब्राजिल, कोलम्बिया, पेरु लगायतका देशलाई लक्षित गर्दै उनले ‘सार्वभौम देशका सरकारलाई आफ्नो चाहना बमोजिमा निर्णय गर्ने सम्भावना भएको’ बताए । ‘हामी भेनेजुलयामा जारी संकटका कारण त्यहाँका जनताले दु:ख पाएकोमा चिन्तित छौं,’ उनले भने ।

राष्ट्रसंघका अनुसार राजनीतिक संकटपछिको द्वन्द्वका कारण सन् २०१५ यता करिब २३ लाख जनताले भेनेजुयला छाडिसेका छन् ।

प्रकाशित : माघ ११, २०७५ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×