कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उषाको १२ वर्षमै बिहे !

अमृता अनमोल

थाहा छ, रुपन्देहीको मर्चवार क्षेत्रका केही साथीहरू अभिनयमा निकै रुचि राख्छन्  । आफैंले नाटक लेख्छन्  ।

उषाको १२ वर्षमै बिहे !

अभिनय गर्छन् । स्कुल बिदाको दिन नाटक देखाउन खटिन्छन् ।
किशोरी अधिकार मञ्च भन्ने संस्था गठन गरी त्यसमा आवद्ध भएर दुई वर्षदेखि उनीहरूले नाटक लेख्ने, अभिनय र प्रदर्शन गर्ने अभियान थालेका हुन् ।
नाटकबाट बालबालिकाका समस्या अभिभावक र सरोकारवालालाई सुनाउन उनीहरूलाई सजिलो भएको छ । बालविवाह, बहुविवाह, बोक्सी प्रथा, तलाक (सम्बन्धविच्छेद), दाइजोलगायत विषयमा उनीहरू नाटक बनाएका छन् । छोराछोरीबीचमा भेदभाव नगर्न, स्कुलमा विद्यार्थी नकुट्न, बालश्रममा नलगाउन नाटकमार्फत सन्देश दिएका छन् ।
नेपालको कानुनमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर मधेसका गाउँमा अझै पनि बालविवाह हुन्छ । बाबुआमाले छोरी १० वर्ष पुगेदेखि बिहेको कुरा गर्नुहुन्छ । १४/१५ वर्षभित्र अधिकांश बालिकाको विवाह नै हुन्छ । बालविवाहका कारण धेरै छोरीे स्कुल जान पाएका छैनन् । उनीहरूको लेख्ने, पढ्ने, खेल्ने र सिक्ने समय खोसिएको छ । भविष्य बर्बाद भएको छ । यही विषयमा उनीहरूले बनाएको नाटकले अहिले वाहवाही पाएको छ, जुन स्थानीय भोजपुरी भाषामा छ । बालविवाहविरोधी यो नाटकलाई उनीहरूले मर्चवार क्षेत्रका चोक–चोकमा देखाइरहेका छन् । बुटवल, भैरहवा, दाङ, कपिलवस्तु, नवलपरासी र काठमाडौंमा समेत देखाइएको मञ्चकी अध्यक्ष पुष्पा हरिजनले बताइन् ।
नाटककी मुख्य पात्र मर्चवार क्षेत्रकी उषा राय हुन् । उनी १२ वर्षकी छन् । कक्षा ५ मा पढ्दै छिन् । बाबुआमाले पढाइ छुटाएर विवाह गरिदिनुभयो । धुमधामले विवाह भयो । जब उनी घर गइन्, तब यातना सुरु भयो । राम्रोसित काम गर्न नसक्ने भन्दै पति, सासुससुरा सबैले कुट्न थाले । उनी घाइते भइन् । एक दिन पतिले घरबाटै निकालिदिए । घर छोडेर माइतीघर फर्किइन् । गाउँलेले बल्ल बालबिहेका कारण समस्या भएको थाहा पाए । उषा आफ्ना साथीसहित बालविवाहविरुद्धको अभियानमा लागिन् । बाबुआमाले पनि उनीहरूको साथ दिए । ४५ मिनेटको नाटक यथार्थपरक छ । कथा निकै कारुणिक छ भने अभिनय सशक्त र जीवन्त छ ।
बुटवलमा बालविवाहविरुद्धको प्रदेशस्तरीय रणनीतिक योजना कार्यक्रम थियो । त्यहाँ पनि यो नाटक प्रदर्शन गरियो । उपस्थित सबैका आँखा टिलपिलाए । नाटकको अन्तिममा किशोरकिशोरी उठे र गोलो घेरा बनाएर चिच्याए, ‘कम उमरमें सादी, जीवनका बरबादी’ । हलमा उपस्थित सबैले उनीहरूसँगै नारा लगाए । त्यसपछि सहभागीलाई प्रतिबद्धता गराए, ‘बालविवाह अन्त्य गरौं ।’
सामाजिक विकास मन्त्री सुदर्शन बरालले बालविवाहले बालबालिकामाथि अत्याचार गरेकाले यसलाई जरैदेखि फाल्नुपर्ने बताए । गैरसरकारी संस्था महासंघकी केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले बालविवाह प्रभावित क्षेत्रका गाउँगाउँमा नाटक लैजान सुझाव दिइन् ।
मञ्चकी सचिव दीक्षा पाण्डेले सिद्धार्थ सामुदायिक समाज र केयर नेपालले नाटक लेखन र अभिनय गर्न गराउन सघाएको बताइन् ।

प्रकाशित : पुस १३, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?