३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डाँडाको फुटबल

मैदान सानो छ । यही सानो मैदानमा खेलाडीको भीड छ । रातो र नीलो जर्सीमा सजिएकाहरू आपसमा घम्साघम्सी गरिरहेका छन् । यो दृश्य मैदानभन्दा माथिको पाखामा बसेकाहरूले एक तमासले नियालिरहेछन् । कोही ‘गोल.. गोल..’ भन्दै चिच्याउँदै त कोही ‘बल अघि बढाऊ..’ भन्दै हुटिङ गरिरहे छन् । दुवै पोस्टमा छात्रा गोल रक्षक छन् ।

डाँडाको फुटबल


खेलाडी पनि छात्रा मात्रै । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, खर्कडाँडामा अवस्थित नोर्बुलिङ मणिचौर माविको मैदानमा पहिलो पटक पुग्नेका लागि निकै रमाइलो लाग्न सक्छ यो दृश्य । विद्यालय डाँडामा छ, खेल मैदान भने केही तल ।
विद्यालयमा हरेक दिन चार बजेपछि अनिवार्य रूपमै एक घण्टा खेल अभ्यास गराइन्छ । खेल सिकाउन शिक्षक लाक्पा लामा खटिन्छन् । उनले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई विविध खेल सिकाउँछन् । तर सबैको रोजाइमा फुटबल नै पर्छ । शुक्रबार भने एक बजेपछि टिम बनाएर फुटबलमा प्रतिस्पर्धा गराइन्छ । फुटबल खेल्न छात्रभन्दा छात्रा बढी अग्रसर हुन्छन् । ‘सबैभन्दा मन पर्ने खेल नै फुटबल हो,’ खेल्दै गर्दा भेटिएकी १४ वर्षीया सुनिता सुनारले भनिन्, ‘अहिले विद्यालयको नाममा खेले पनि भविष्यमा देशको नाममा खेल्ने सपना छ ।’ कक्षा ८ मा पढ्ने उनले फुटबललाई खुट्टामा खेलाउन थालेको तीन वर्ष भयो ।
‘यहाँ चिसो छ, तर फुटबल खेल्दा चिसो भएकै थाहा नहुने,’ १४ वर्षीया जमुना तामाङले सुनाइन् । ‘सुरुमा मैदान पस्दा चिसो हुन्छ,’ भन्छिन्, ‘खेल्दै गएपछि कसरी गोल गर्ने भन्ने चिन्ता हुन्छ, चिसो भएकै थाहा पाइँदैन ।’ अघिपछि जुन पोसाकमा खेले पनि शुक्रबार भने जर्सी लगाएरै खेल्नुपर्छ । नीलो र रातो जर्सीको व्यवस्था विद्यालयले नै गरिदिएको हो । जुत्ता भने आफैं किन्ने हो । विद्यालयमा १ सय ६० विद्यार्थी छन् । जसमा छात्र ९८ र छात्रा ६२ जना छन् । छात्राको संख्या कम भए पनि फुटबल खेल्नमा उनीहरू नै सुरिन्छन् ।
‘जे कुरा पनि सिकेपछि न जानिन्छ,’ मैदानमा विपक्षी टिमलाई बल छक्याउँदै गरेकी १३ वर्षीया सोनिया तामाङले भनिन्, ‘हामी फुटबल सिक्दै छौं, एक दिन राम्रो फुटबल खेल्ने भएर देशले चिन्ने हुने छौं ।’
गाउँमा हिमालयन ओलम्पिकको व्यवस्थापनमा प्रतियोगिता हुन्छ, जसमा धेरै प्रकारका प्रतियोगिता आयोजना हुन्छन् । २१ वटा विद्यालयले सहभागिता जनाउँछन् । ‘अरू विद्यालयमा फुटबल खेल्ने छात्रा खेलाडी नै हुँदैनन्,’ शिक्षक लामाले सुनाए, ‘हाम्रा छात्रा खेलाडीले प्रतिस्पर्धा गर्ने टिम नै पाउँदैनन् ।’ अहिलेसम्म तीनपटक खेल आयोजना भइसकेको छ ।

विमल खतिवडा

प्रकाशित : पुस २७, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?