१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हिमालका हामी केटाकेटी

हेर्दाहेर्दर् आकाशबाट हिउँका सेता फुल्काहरू खस्न थाले । सुरबहादुर रोकाया, जो मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ मुर्मा गाउँका १० वर्षे बालक हुन्, हिउँ पर्नासाथ औधी खुसी हुन थाले । रमाउँदै उनी घरको छतमा उक्लिए ।

हिमालका हामी केटाकेटी


छत हिउँले सेताम्मे भइसकेको थियो । उनी हाँस्दै, उफ्रँदै हातमा हिउँ लिएर डल्लो–डल्लो बनाउन थाले । यतिन्जेलसम्म वल्लोपल्लो घरका बालबालिका पनि आ–आफ्नो छतमा आइसकेका थिए । उनीहरूले पनि सुरबहादुरले जस्तै हिउँका अनगिन्ती डल्लाहरू बनाउन थाले ।


अब के चाहियो १ वल्लो छतकाले पल्लो छतकालाई अनि पल्लो छतकाले
वल्लो छतकालाई हिउँका डल्लाहरूले हान्न सुरु भइहाल्यो । जिस्काउने, हिर्काउने र छल्ने । निकै रोमाञ्चक दृश्य थियो– बालबालिकाले हिउँ खेलेको, आ–आफ्नो घरको छतमा बसेर ।
अलि पर मुर्मा गाउँकै ९ वर्षीया रामदेवी रोकाया भने घरको ढोकामा बसेर हिउँ हेर्दै गीत गाउँदै थिइन् । आकाशबाट झरिरहेका सेता फुल्काहरू देखेर मन थाम्न नसकेर नाच्दै भाका हाल्दै थिइन्–
‘..आयो पुस
बूढापाका रुस
हिउँ आयो गाउँ खोली
चिच्चुवा खायौं पोली...’
सुरबहादुर र रामदेवी दुवै जना गाउँकै नेपाल राष्ट्रिय मावि कक्षा ५ का विद्यार्थी हुन् । अन्य हिमाली जिल्लामा जस्तै मुगुमा हिउँदका महिना हिमपात भइरहन्छ, यतिबेला उनीहरू पढाइभन्दा पनि हिउँ खेल्न रुचाउँछन् । भन्छन्, ‘जति धेरै हिउँ पर्‍यो, उति धेरै आनन्द लाग्छ ।’
यो वर्ष पहिलोपल्ट मुर्मा गाउँलगायत लेकाली बस्तीमा मंसिर २८ गते बाक्लो हिउँ पर्‍यो, दुई फिटभन्दा पनि बाक्लो । पुस १८ गते परेको पनि उस्तै थियो, दुई फिट भन्दा बाक्लो । त्यसयता केही दिनदेखि बेलाबेलामा हिउँ परिरहेकै छ । हिउँको चिसोमा उमेर ढल्केका बूढापाका घर बाहिर निस्कन त्यति रुचाउँदैनन् । कलिला बालबालिका भने कुनै चाड, पर्व वा मेला लागेजस्तै खेल्छन्, नाच्छन् र रमाउँछन् । हिउँका विभिन्न आकृति बनाउँछन् । अभिभावकसँग मोबाइल मागेर हिउँसँग फोटो खिचेर साथीभाइलाई देखाउँछन् । कतिपय बालबालिका भिरालो स्थानमा हिउँमा चिप्लेटी पनि खेल्छन् । सुरबहादुर भन्छन्, ‘हिउँ पर्दा निकै खुसी लाग्छ, त्यसमा खेल्न पाउँदा चिसोको वास्ता हुँदैन ।’ अभिभावकले ‘हिउँमा नजाऊ, हातखुट्टा कठ्यांग्रिन्छन्’ भनेर गाली गर्दा पनि सुन्या नसुन्यै गर्दै आफूहरू हिउँ खेल्न घरका छतदेखि चौर र खेतबारीका आलीमा दर्गुने गरेको उनले सुनाए । भोलिपल्ट जब आकाश सफा भयो र हिउँ पर्न रोकियो, तब स्थानीय बालबालिका हातमा काठको फल्याक र बेल्छा समातेर निस्किए । घरको छतदेखि आँगनमा जमेको बाक्लो हिउँ फाल्न थाले । ‘कलिला छोराछोरीले रहर गर्छन् र आफैं हिउँ फाल्छन्, यस्तो हेर्दा हामीलाई रमाइलै लाग्छ,’ छायाँनाथ रारा नगरपालिका–३ का कम्मरसिह खड्काले भने ।


विशेष गरेर शनिबार बिदाको दिन बालबालिका गाईगोरु चराउन वनपाखा जाँदा हिउँ खान्छन् ।
घरबाट नुन, चिनी, अमिलो लुकाएर लैजान्छन् र हिउँमा मिसाएर बरफ बनाएर रमाउँदै खान्छन् । नुन, चिनी अमिलो मिसाएको हिउँ लालीगुराँसको पातले खान सारै मज्जा आउने रामदेवीले बताइन् । सहरका बालबालिका बरफ खाएर स्वाद मेटाउँछन् भने कर्णालीका बालबालिका हिउँको बरफ बनाएर त्यसको धीत मार्छन् । हिउँमा खेल्नका लागि हिउँ परेको बहाना बनाएर अधिकांश बालबालिका स्कुल नआउने गरेको हेन्निकाँध गाउँस्थित प्राविका प्रधानाध्यापक रंगबहादुर कार्कीले बताए ।
बढी हिउँ खेल्न रमाउने बालबालिकाहरू बिरामी समेत हुने गरेको स्थानीय स्वास्थ्य चौकीका अहेब जयबहादुर मल्लले बताए । उनका अनुसार चिसोले हातमुख फुट्ने र औंलामा रगत जम्मे समस्या पनि देखिने गरेको छ । कतिपय बालबालिकालाई आँखा पाक्ने, आँखाबाट पानी बग्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने र घाँटी दुखेर बोल्न असहज हुने गरेको छ । ‘बालबालिकालाई हिउँ धेरैबेरसम्म खेल्न नदिनु राम्रो हो,’ अहेब मल्लको सुझाव छ ।

प्रकाशित : पुस २७, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?