मंसिरको मेलो

कान्तिपुर संवाददाता

वर्षायाममा रोपेको धानभएपछि पहेँलपुर,हिउँदयाममा किसानलेथाल्छन् भित्र्याउने सुर ।

गाउँभरिका किसानहरूले
खेतमा धान काट्न थाले,
धान काटेर खरै हालौँ
भन्नुहुन्छ हाम्रा बाले ।

गाउँका दाइदिदी सबै
दाइँ हाल्न जुट्नुभयो,
ठुल्दिदीले नयाँ धान
ढिकीमा लगी कुट्नुभयो ।

दही–केरामा चामल मिसाई
घरमा मीठो न्वागी खाइयो,
मंसिर लागेसँगै घरमा
नयाँ अनाज पाइयो ।

मनीषा पौडेल, कक्षा–८
नवोदित विद्याकुञ्ज, काठमाडौं

प्रकाशित : मंसिर १, २०७६ ११:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चखेवा र चल्ला

गंगा कर्माचार्य पौडेल

आहा ! कति धेरै हाँसहरू रैछन्, हेर त सविता,’ रक्कीले नदीतिर औलाले देखाएर भने  । ‘हाँस होइनन्, ती त चखेवा हुन्  ।

चखेवा पाहुना चरा हुन् रे,’ सविताले भनिन् ।
‘चरा पनि पाहुना हुन्छ ? नचाहिने कुरा । बरु म दुईचार ओटा मार्छु । यतै पोलेर खाम हुन्न ?’
रक्कीको कुरा सुनेर सविताले आत्तिँदै भनिन्, ‘हुन्न, हुन्न, मार्न हुन्न । आमाले भन्नुभएको पाहुनाहरू देवता समान हुन्छन् रे ।’
‘लाटी १ तिमीले कहिल्यै हाँसको छ्वएला खाएकी छौ ? कति मीठो हुन्छ । त्योभन्दा अझ टेस्टी हुन्छ होला चखेवाको मासु,’ रक्कीले फकाउन खोजे ।
रक्कीको घर काठमाडौंमा थियो । त्यहीँको बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्थे । यतिबेला उनी परीक्षापछिको बिदामा चितवनको सौराहा (सानीमाको घरमा) पुगेका थिए । सानीमाकी छोरी सविता रक्कीभन्दा ६ महिना कान्छी थिइन् र कक्षा ६ कै परीक्षा सकाएर बसेकी थिइन् ।
किसान परिवारकी छोरी सविता शनिबार र अरू वेला पनि स्कुल बिदा भएको दिन राप्ती किनारमा गाई चराउन जान्थिन् । त्यस दिन रक्की पनि सवितासँगै गएका थिए ।
रक्कीले फेरि भने, ‘आज म ढुंगाले हिर्काएरै भए पनि चखेवा मारेर त्यसको मासु नचाखी छोड्दिनँ । बरु तिमी पनि ढ्ुंगा बटुल्न सघाऊ त मलाई,’ रक्कीले नदी किनारका ढुंगा बटुल्न थाले ।
उसको चाला देखेर सवितालाई पीर पर्‍यो । त्यसपछि सम्झाउँदै भनिन्, ‘दाइ १ यी मासु खान भनेर घरमा पालिएका हाँसहरूजस्ता होइनन् । यिनीहरू त साइबेरियादेखि उड्दै यहाँ आएका हुन् । त्यहा कात्तिकदेखि नै हिउँ पर्ने हुनाले नदी, तालहरू बाक्लो हिउँबाट ढाकिन्छन् । त्यसपछि पानीमा निर्भर रहने पन्छीहरू जस्तै राजहाँस, कर्‍याङकुरुङ, सारस, सुइरे पुच्छर हाँसजस्ता थुप्रै प्रजातिका चराहरू त्यहाँबाट अन्य मुलुकमा बसाइँ सर्छन् । तीमध्ये केही नेपालमा आएर कोसी टप्पु, जगदीशपुर, सौराहाको राप्तीजस्ता नदी, तालतलैयामा बस्छन् । पानीमा पाइने साना कीरा, माछा खान्छन् । त्यही आसपासका टापु परेको सुरक्षित ठाउँका झाडीभित्र गुँड बनाई चल्ला कोरल्छन् । हुर्काउँछन्, बढाउँछन् । त्यसपछि यहाँ गर्मी बढ्दै गएपछि फेरि आफ्नै ठाउँमा फर्केर जान्छन् ।’
‘कति कुरा जानेकी ?’ रक्कीले अलि झर्केर बोले, ‘जहाँबाट आए नि के भो त ? मासु खान भैहाल्छ क्यारे ।’
‘दाइ १ तपाईं कति मासु मासु भनिरहनुहुन्छ ? ती निर्दोष प्राणीको मासु खाएर तपार्इं कति दिन अघाउनुहुन्छ ? तिनीहरूले हाम्रो के बिगारेका छन् र मार्नुपर्‍यो ?’
सविता जंगिएपछि रक्की अलि हच्किए ।
सविताले सोधिन्, ‘मैले भनेको एउटा कुरा मान्नुहुन्छ ?’
‘मान्छु, के कुरा हो भन न ।’
सविताले रक्कीलाई आँखा चिम्म गर्न भनिन् । उनले आँखा चिम्लेपछि डोर्‍याउँदै लगेर नदी किनारको डिलमा (जहाँबाट ती चखेवाहरू अझ नजिकबाट सर्लक्क देखिन्थे) पलेटी कसेर बस्न लगाइन् । त्यसपछि आँखा खोल्न भनिन् । नजिकैबाट चखेवाहरू देखेर हातैले समातुलाझैं गरी रक्की रोमाञ्चित भए । र, भने ‘आहा...।’
‘चुप चुप.. हाम्रो आवाज सुनेर ती चखेवाहरू उडेर अन्तै जालान्,’ सविताले रक्कीलाई सतर्क गराइन्, ‘तपाईं यी चखेवालाई कुनै हानिनोक्सानी पुग्ने काम नगर्नुृहोला । हेरेर मात्र बसिरहनू । म गाई फर्काएर यतै ल्याउँछु ।’
रक्कीले दंग परेर मनमनै सोचे, ‘सविता नभएको मौकामा एउटा ठूलै चखेवा मार्छु । बरु कुनचाहिं ठूलो होला ?’ उनले बथानका एकएक चखेवा नियाल्न थाले । त्यहीबेला ठूला चखेवाको साथमा केही साना चल्ला पनि देखे । माउ चखेवा वरिपरि घुमेर चल्लाहरूको सुरक्षा गरिहेको थियो । माउले ती चल्लालाई पानीमा डुबेर आहारा खोज्न सिकाउँदै थिए । चल्लाहरू माउ पानीमा डुबेको हेरेर आफूहरू पनि टाउको तल पुच्छर माथि पारेर पानीमा डुबे । अनि तुरुन्तै बाहिर निस्केर टाउको हल्लाउँदै फुर्रर पानी उडाए । एकछिनपछि फेरि डुबे । फेरि माथि उत्रिए । त्यसरी धेरै पटक पानीमा डुब्ने र उत्रने प्रयास गरेपछि बल्ल मसिना ढुंगाका कुरमा ठुँड जोतेर माउले जस्तै आहारा खोजे । त्यहाँबाट के टिपेर ल्याए कुन्नि । माथि उत्रेपछि घाँटी तन्काएर कुप्लुक्क निले । दुईचार पटक त्यसरी निलेर अघाएपछि चिँचिँचिँ गरी चल्लाहरू पानीमाथि फुर्किंदै नाच्न थाले ।
त्यो अनुपम दृश्यले रक्कीको मन पुलकित भयो । उनले मनमनै सोचे, ‘ओहो १ मैले चल्लाका बाआमालाई मारेको भए ती चल्लाहरू टुहुरा हुन्थे । अनि आहारा खोज्न नजानेर भोकै मर्थे विचरा...।
भो, अब म चखेवा मार्दिनँ, कहिल्यै नि मार्दिनँ ।’ रक्की बसेको ठाउँबाट जुरुक्कै उठे ।
सविता गाई फर्काएर फेरि त्यहीं आइपुगिन् र भनिन्, ‘हिँड्नुस् घर जाऔं । तीन बजी सक्यो, भोक पनि लाग्यो होला ।’ गाई अघि लगाएर घरतिर जाँदै गर्दा रक्कीले भने, ‘सविता १ आज झन्डै मैले चखेवालाई मारिनँ । सुन न मैले त्यहाँ बसेर हेरिरहँदा चखेवाका पनि हाम्रो जस्तौ बुबाआमा, बच्चासहितको परिवार देखें । उनीहरू आफ्नै संसारमा रमाइरहेका थिए । यदि मैले उनीहरूको बाआमा मारेको भए...!’
उनी भावुक बनेको देखेर सविताले भनिन्, ‘दाइ १ कुनै काम गर्नुभन्दा पहिले १० चोटि सोच्नुपर्छ । बिनासोचविचार गरेको कामले कसैको हित गर्दैन । मेरी आमाले भन्नुभएको । त्यसकारण तपाईंलाई मैले सोच्ने मौका दिनका लागि त्यहाँ बस्न भनेकी हुँ ।’
उनले थपिन्, ‘अर्को कुरा मासुकै लागि घरमा पालिएका पशुपन्छीबाहेक चराचुरुंगी, जंगली जनावर, गोही, कछुवा, माछाजस्ता जलचरलाई हेर्न पाइने, मार्न नपाइने नियम सौराहमा बनाइएको छ । यदि कसैले नियम उल्लंघन गरी मारेको भेटिएमा सजाय भोग्नुपर्ने हुन्छ । धन्न बच्नुभयो ।’
सविता र रक्की कुरा गर्दै घर पुगे । साँझ रक्कीले कपिमा दिउँसो देखेका चखेवाहरूको चित्र कोर्‍यो । त्यो देखेर सविता अत्यन्तै खुसी भइन् र आफूले पनि कोर्ने प्रयास गर्नि । रक्की सौराहामा बसुन्जेल सविताले जंगल सफारी, हात्तीसार, गोही प्रजनन् केन्द्र जस्ता थुप्रै ठाउँमा घुमाउन लगिन् । रक्की दिउँसो जहाँ जान्थे फर्केर साँझ घर आएपछि चित्र कोरिहाल्थे ।
रक्कीले त्यहाँ थुप्रै विदेशी पर्यटक र आन्तरिक पर्यटकलाई भेटेर सोधे, ‘तपाईहरु यहाँ किन आउनुभएको ?’
‘मानिसको जीवनमा ठूलो महत्त्व राख्ने जंगली जनावर, चराचुरुंगी र वनस्पति अवलोकन, अध्ययन र अनुसन्धान गर्नुका साथै मनोरञ्जनका लागि हामी सौराहा आएका हौं,’ प्रायः सबैले यस्तै जवाफ दिए । उनीहरूको जवाफले रक्कीको मनमा जनावर, पशुपन्छी र वनस्पतिप्रति माया पलायो । स्कुल बिदा सकिनुअघिल्लो दिन कपीभरि चित्र, दिमागभरि ज्ञान, आँखाभरि सौराहाका
दृश्य, हृदयभरि सानिमा र बहिनीको माया बोकेर रक्की काठमाडौं फर्किए ।

प्रकाशित : मंसिर १, २०७६ ११:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×