हाम्रा पालेदाइ !

कान्तिपुर संवाददाता

‘अब लाइन बस्नुपर्छ’ भन्दै हामीलाईदस बजेको घन्टी लाउँछन् हाम्रा पालेदाइ ।


चानेचुने मान्छे हैनन्,
सबलाई कजाउँछन्
पिरेडपिच्छे सम्झाउँछन्,
घन्टी बजाउँछन् ।
‘फेरि पढ्न आउनुपर्छ
खाजासाजा खाई’
खेलछुट्टीको घन्टी लाउँछन्,
हाम्रा पालेदाइ ।

सफा हुन सिकाउँछन्,
बढारकुढार गर्छन्
‘मैले भन्या सबले मान्छन्’
भन्दै मक्ख पर्छन् ।
‘आज अब भयो पुग्यो,
सबलाई बाई–बाई’
चार बजेको घन्टी लाउँछन्,
हाम्रा पालेदाइ ।
रमेशचन्द्र घिमिरे

प्रकाशित : कार्तिक २४, २०७६ ११:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गाउाको माया

कान्तिपुर संवाददाता

सौरभ र शिशिर दसैं र तिहारको लामो छुट्टीमा सहरबाट गाउँ आए  । दुवैलाई सहरको धुवाँधुलो, गाडीको चाप, भीडभाडदेखि वाक्क लागेको थियो  ।

गाउँमा जताततै हरियाली, स्वच्छ सफा र शान्त वातावरणले निकै आनन्द लाग्न थाल्यो । उनीहरू कक्षा ६ मा पढ्दैछन् । गाउँमा आएपछि वल्लो घर पल्लो घरका छरछिमेकका साथीहरूसँग पनि भेट भयो । रियाना र रिवाज बुटवलबाट आएका थिए । आयान काठमाडौंबाट आएको थियो । उनीहरू सबैको गाउँ गोरखा जिल्लाको पालुङटार नगरपालिका–३ राउतेपानी हो । गोरखा जिल्लाको एक ऐतिहासिक स्थल लिगलिगकोट पनि यहीँ छ । शाहवंशी राजाहरूको पालामा चेपे किनारबाट दौडेर जो पहिले लिगलिगकोट पुग्थ्यो सोही व्यक्ति राजा हुने चलन थियो भनेर उनीहरूलाई हजुरबाले सुनाउनुहुन्थ्यो ।
विगत केही वर्षदेखि चेपे किनारदेखि दौडेर को पहिले लिगलिग पुग्ने भनेर दौड प्रतियोगिता पनि हुँदै आएको छ । सौरभ र शिशिरले पनि यसपालि दौड प्रतियोगिता प्रत्यक्ष देख्न पाए । लिगलिगकोट ,चेपे नदी, बहादुर शाह र द्रव्य शाहका बारेमा उनीहरूले पढ्दै आएका थिए ।
एक दिन शिशिर, सौरभ, आयान, रिजन र रियाना मिलेर पिङ खेल्दै थिए । माथिल्ला घरे ठूलोबुबा उनीहरूले पिङ खेल्दै गरेको ठाउँमा आउनुभयो र सोध्नुभयो, ‘बाबुनानी हो १ तिमीहरूलाई गाउँ रमाइलो कि सहर ?’ शिशिरलगायत सबैले एकै स्वरमा सहरभन्दा गाउँ नै रमाइलो लागेको कुरा बताए ।
‘सहरभन्दा गाउँ के कारणले रमाइलो लाग्यो त शिशिर ?’ ठूलो बुबाले सोध्नुभयो । ‘सहरमा अचेल भीडभाड, होहल्ला, धुवाँधुलो, गाडीको चाप बढी छ । त्यो हेरी गाउँ अति नै सफा, सुन्दर र शान्त छ । त्यसैले गाउँ मन पर्‍यो’, शिशिरले जवाफ दिए ।
‘तिमीलाई किन रमाइलो नि सौरभ ?’ ठूलो बुबाले सौरभलाई पनि सोध्नुभयो ।
‘मलाई चाहिँ गाउँमा स्वतन्त्र अनुभव भयो । जहाँ जता गए पनि हराइन्छ कि भन्ने डर लाग्दैन, त्यसैले,’ सौरभले जवाफ दिए ।
‘मलाई चाहिँ गाउँमा आफ्नै बारीमा फलेको तरकारी खान पाइने, सफा पानी पिउन पाइने । पानी पनि प्रशस्त पाइने भएर गाउँ रमाइलो लाग्छ,’ रियानाले पनि आफूलाई लागेको बताइन् ।
‘गाउँमा धुवाँधुलो नहुने हुँदा स्वस्थ पनि भइन्छ, त्यसैले मलाई पनि गाउँ मन पर्छ,’ रिवाजले पनि आफ्नो विचार राखे ।
‘मलाई त पिङ खेल्न पाएर स्कुल जान नपरेर गाउँ रमाइलो लाग्छ,’ आयानले भने । आयानको कुरा सुनेर सबै जना हाँसे । उनी सबैभन्दा साना छन् । त्यसैले स्कुल जान नपरेपछि गाउँ रमाइलो भन्ने कुरा राखे ।
सबैको कुरा सुनिसकेपछि ठूलो बुबाले भन्नुभयो, ‘उसो भए गाउँ छोडेर तिमीहरू किन सहर गएका त ? गाउँमै बसे हुन्न ?’
‘हुन त हुन्थ्यो नि ठूलो बुबा तर गाउँमा राम्रो स्कुल छैन । हामी त पढ्नका लागि सहर गएका नि,’ शिशिरले भने ।
‘अनि गाउँमा जागिरको व्यवस्था पनि छैन नि, जागिर खान हाम्रो बाबाआमा सहर नै जानुपर्‍यो, अनि..?” रियानाले भनिन् ।
‘यी सबै कुराको गाउँमै व्यवस्था मिलाउन सकिन्न ठूलोबुबा ?’ रिवाजले प्रश्न गर्‍यो । ‘सक्न त सकिन्छ नि । तर हामीले साोचेजस्तै छिट्टै सकिन्न । जसरी अहिले सरकारले गाउँगाउँमा बाटो र बिजुली पुर्‍याएको छ नि, त्यसैगरी शिक्षा र रोजगारको पनि व्यवस्था गर्न सक्नुपर्छ । निकट भविष्यमा तिमीहरूको अभिलासा पूरा हुन सक्ला,’ ठूलो बुबाको कुरा सुनेर सबै जना खुसी भए ।
उनीहरूले निष्कर्ष निकाले– ‘साँच्चै बिजुली र बाटो सँगसँगै शिक्षा र रोजगार पनि भए गाउँ किन रित्तो हुन्थ्यो र ?’
सरस्वती श्रेष्ठ सरु

प्रकाशित : कार्तिक २४, २०७६ ११:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×