कुन चरा कस्ता ?

भीम घिमिरे

तिमीमध्ये क–कसले चरा चिन्छौ ? सबैलाई दुई/चारवटा चराको नाम कण्ठै हुन्छ  । लौ भनौं नाम ? काग, भँगेरा, फिस्टा, डांग्रे (रुप्पी), जुरेली, कोइली, चिबे  ।

भन्दाभन्दै कसैले १०/१५ वटा नाम पुर्‍याउलान्, कसैले त्योभन्दा थोरै ।
हामो देशमा पाइने चरा ८ सय ८६ थरिका छन् । हिमाल, पहाड, तराई सबैतिर फरक–फरक विशेषताका चरा पाइन्छन् । चराहरू जंगल मात्र होइन, हामा गाउँघरमा बस्ने पनि थुप्रै छन् । रूख, हाम्रा घरगोठमा गुँड लगाउने मात्र नभई भुइँमै फुल पार्ने, ओथारा बस्ने र चल्ला हुर्काउने पनि छन् । रूख र अग्लो ठाउँमा गुँड लगाउनेका तुलनामा भुइँमा गुँड लगाउने चरालाई शत्रुबाट धेरै जोखिम हुन्छ । हामीले देखिरहेकामध्ये लुम्बिनी क्षेत्रमा पाइने सारसले भुइँमा गुँड लगाउँछन् । त्यही फुल पार्छन्, चल्ला कोरल्ने र हुर्काउने गर्छन् । भुइँमा फुल पार्ने र चल्ला हुर्काउने चरालाई स्याल, जंगली कुकुर र सर्प आदिले दुःख दिन्छन् । बकुल्लाहरू बाँसझ्याङ, झाडी र रूखमा गुँड लगाउँछन् । उड्न नसिक्दै गुँडमा चलमलाइरहने बचेरा तल खस्ने खतरा हुन्छ । उड्न नसिक्दै
तल खसेकाहरूलाई माउले माथि लैजान सक्दैनन् ।
पात सिउने फिस्टो निकै सानो हुन्छ । त्यसले पात सिएको जसरी गुँड बनाउँछ । त्यसमा फुल पार्छ र त्यसबाट निस्कने चल्ला हुर्काउँछ । कहिलेकाहीँ जोडसँग हावाहुन्डरी चल्दा रूखका हाँगा भाँचिन्छन् । चराका गुँड खस्छन् । धेरैवटा चरा मान्छेका नजिक बस्दैनन् ।
हामीले परेवाका लागि बनाइदिए जसरी गुँड राखिदिने हो भने हाम्रा घरगोठमा गुँड लगाउने केही चरा बस्न आउँछन् । हामीमध्ये कतिपयले घर र पसलमा पिँजडामा सुगा पालेको देखेका छौं । सुगालाई छाडिदिने हो भने हामा छेउमा सजिलै आउँदैन । हाम्रो छेउछाउ नै बस्दैन । रूखका टोड्कामा बस्ने सुगाहरू मनलाग्दी उड्छन् । हुलका हुल किसानका खेतबारीमा पुगेर मकै खान्छन् । गौंथली र भँगेरा हाम्रा घरगोठमा गुँड लगाउँछन् । तर, यी चरालाई हामीले आफूले भनेको मान्ने बनाउन गाह्रो छ किनभने नजिक बसे पनि हामीनजिक जाँदा डराउँछन्, भाग्छन् ।
तिहारमा कागको पूजा गरिन्छ । तर, काग घरपालुवा चरो होइन । पहाड र तराईमा पाइने काग फरक–फरक प्रजाति छन् । कागहरू मान्छेकै बस्तीवरपर बस्छन् । झिक्राहरू चुच्चाले च्यापेर लग्दै अग्ला ठाउँमा गुँड लगाउँछ । फोहोरमा मिल्काइएका खानेकुरा खान्छ । शत्रुजीव आए कराएर सबैलाई सतर्क गराउँछन् । कुनै एउटालाई समस्या परे धेरैवटा काग भेला भएर हल्ला गर्छन् । आफ्ना गुँडवरपर मान्छे वा अरू जीवजन्तु जान खोज्दा ठुँगेर प्रतिकार गर्छ । अंग्रेजीमा ‘कमन मैना’ भनिने चरालाई ठाउँअनुसार हामी फरक–फरक नामले चिनिरहेका छौं । कतै डांग्रे, कतै रुप्पी र कतै सारौं भनिने यी चरा पनि शत्रुबारे हल्ला गरेर सतर्क गराउनेमा पर्छन् ।
संसारभर अहिले चराका आनीबानी हेर्न घुम्न जाने चलन बढेको छ । गाउँघरमा नदेखिने चरा पहाड, खोला र जंगलमा देखिन्छन् । यिनहरूका फरक–फरक आवाजलाई मन पराइन्छ । चराहरू बिहानै सक्रिय हुन्छन् । तिनको चिर्बिर आवाजले हामी बिहान भएछ भन्ने थाहा पाउँछौँ । घरछेउमा बगैँचा वा झ्याम्म परेको रूख छन् भने त्यहाँ बिहानै भेला भएका चरा हेर्न र तिनले चिर्बिर गरेको सुन्न रमाइलो हुन्छ । बोटबिरुवाका पात, डाँठ र जमिन चहार्दै उफ्रँदै उनीहरू खानेकुराको खोजी गरिरहेका हुन्छन् । लाटोकोसेरो र हुचिलहरू दिनभर एकै ठाउँ लुकेर बस्छन्, राति–राति आहारको खोजीमा निस्कन्छन् ।
फलफूलका बोटविरुवा चराका लागि ठूलो सहारा हुन् । केही चरा फूलका रस खान्छन्, धेरैले कीराफट्यांग्रा र फलहरू खान्छन् । सिकारी चरा आफूभन्दा साना प्रजातिका चरालाई नै सिकार गर्छन् भने केहीले खरायो, मुसा र माछालाई आहारा बनाउँछन् । चील सिकारी चरा हो । यसले साना चरा र खरायो मार्छ । चीलका कतिपय प्रजाति माछा मन पराउँछन् । लाटोकोसेरोका विभिन्न प्रजाति मुसा खान्छन् ।
चराहरूले आफ्नै प्रकारले बगैँचा र खेतबारीको रेखदेख गरिरहेका हुन्छन् । उनीहरूले पात, फूल र फल खाने कीराफट्यांग्रालाई आफ्नो आहारा बनाउँदा हामीलाई थाहै नपाई सहयोग पुर्‍याइरहेका हुन्छन् । हामीमध्ये कतिपयले देखेको अंग्रेजीमा सनबर्ड भनिने कालेबुंगे चराले फूलको रस चुस्छ । यसरी रस चुस्ने चराले पराग सेचनमा सघाएर बिरुवाको फूललाई फल लाग्न सहयोग गरिरहेका हुन्छन् । सनबर्ड देख्ता फिस्टाजस्तै लागे पनि अलिकति लाम्चो, रंगबिरंगी र चुचो थोरै लामो र केही घुम्रिएजस्तो तीखो हुन्छ ।
केही चराले फल र अन्न खाइदिएर किसानलाई दुःख पनि दिन्छन् । जंगलमा पर्याप्त फलफूल नपाएपछि उनीहरू जहाँ खानेकुरा भेटिन्छ, त्यही पुग्ने गरेका हुन् । जसरी मान्छे सजिलै खानबस्न पाइने ठाउँको खोजीमा रहन्छ, चरा पनि त्यसमा फरक छैनन् । उनीहरू गुँड लगाउन र खानेकुरा पाउन सजिलो ठाउँ खोजिरहेका हुन्छन् । पोखरी खनाएर माछापालन गरेकाहरूलाई माछा खाने चराले हैरान पार्छन् ।
रैथाने चराका धेरै प्रजाति वर्षभरि नै हाम्रा वरपर रहन्छन् । कतिपय घुमन्ते पनि छन् । घुमन्तेहरू गुँड लगाएर फुल पार्न केही समय अन्तै जान्छन् । चल्ला हुर्काएर उडाएपछि फर्कन्छन् । बगैँचा ठूलो र फलफूलका बोटविरुवा प्रशस्त छन् भने त्यहाँ आउने चराको संख्या पनि धेरै हुने गर्छ । पानी भएको ठाउँमा चराहरू नुहाउन मन पराउँछन् ।

प्रकाशित : कार्तिक २४, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

देवी मिस

कान्तिपुर संवाददाता

शमी गाउँबाट फर्किएको पनि सात दिन भएछ  । उनी गाउँको घर छोडेर आउन मानेकै थिइनन्  ।

माइजूले फकाएर ल्याउनुभएको थियो । सहरमा आउनेबित्तिकै अचानक उनलाई ज्वरो आयो । उनी आँखा चिम्लिएर बर्बराउन थालिन्, ‘गाउँको घर जान्छु । मेरो मनेपाठी खोई ? हजुरआमाले भनेको कथा सुन्छु । ठूलीआमासित जाँतो घुमाउँछु । ढिकीमा धान कुटेको हेर्छु । मेरो मयूरसँग मात्र नाच्छु । यस्तो पाकेटको दूध पिउन्नँ । मलाई गाउँकै गाईको दूध चाहिन्छ ।’
डाक्टरको उपचारले उनलाई छँॅदै छोएन । उनी औषधि खानै मान्दिनथिन् । उसले खाना पनि केही खान मानिनन् । गाउँकै मीठामीठा खाना खोज्न थालिन् ।
शमीकी आमा उनी सानैछँदा बित्नुभएको थियो । बुबाले अर्को बिहे गर्नुभयो । उनलाई सौतेनी आमाले गाली गर्ने, पिट्न थालिन् । हजुरआमाले आफ्नो गोठमा लगेर आफूसँगै राख्नुभयो । ऊ हजुरआमासित रमाएर बस्न थालिन् । स्कुल जान थालिन्, राम्ररी पढ्न थालिन् । उनी राम्राराम्रा चित्र पनि बनाउँथिइन् ।
एक दिनको कुरा हो । हजुरआमा बिरामी पर्नुभयो । उपचार गर्दा पनि निको हुनुभएन । उहाँ अचानक बित्नुभयो । माइजूले उनलाई फकाएर सहरमा ल्याउनुभएको थियो । सम्झाएर आफ्नै कोठामा राख्नुभएको थियो । उनी सहरमा बस्नै मानिनन् । गाउँकै हरियाली शान्त वातावरण खोज्न थालिन् । गाउँकै साथीहरू जुनेली, चाँदनी, विमली, देविकालाई सम्झिन थालिन् ।
एक दिन शमीलाई भेट्न देवी मिस आउनुभयो । उहाँले सबै कुरा थाहा पाएझैं गरी भन्न थाल्नुभयो, ‘शमी १ कहिले आयौ गाउँबाट ? ओहो १ तिमी त मोटाइछौ पनि । स्याउजस्तै राताराता भएछन् गाला त १ गाउँबाट के–के ल्याएकी छौ ?’ शमी बिस्तारै उठिन् । हर्केदाइले बुनिदिएको झोला झिकिन् । देवी मिसले खुसी हुँदै भन्नुभयो, ‘आहा १ निगालोले बुनेको कति राम्रो झोला । गिद्रोको ह्याट त झनै राम्रो रहेछ । ओहो १ चोयाको र्‍याक पनि ल्याएकी १ कति राम्रो रहेछ । चित्र पनि कति राम्राराम्रा बनाएकी १ चित्रमा हेर्दा त मलाई पनि तिम्रो गाउँ निकै सुन्दर लाग्यो । मलाई पनि लैजाऊ है तिम्रो गाउँमा ।’
देवी मिसले भान्साबाट जाउलो बनाएर ल्याउनुभयो । अनि शमीलाई फकाउँदै खुवाउन थाल्नुभयो । औषधि पनि उहाँले नै खुवाउनुहुन्थ्यो । देवी मिस सधैं आउनुहुन्थ्यो । राम्राराम्रा कथा सुनाउनुहुन्थ्यो । मीठामीठा खानुकुरा खुवाउनुहुन्थ्यो । उहाँले धेरै माया गर्नुहुन्थ्यो । शमीले मनमनै भनिन्, ‘साँच्चै देवी मिस कति जाती हुनुहुन्छ । कति राम्रा कथा सुनाउनुहुन्छ तर मलाई उहाँका कथा सुन्नै मन लाग्दैन । हजुरआमाका कथाहरू मात्र सुनूँ सुनूँ लाग्छ ।
शमीलाई देवी मिसले धेरैपटक सम्झाउनुभयो । उनी विस्तारै निको हुँदै गइन् । शमीकी माइजू पनि धेरै खुसी हुनुभयो । उहाँले देवी मिसलाई मुरीमुरी धन्यवाद दिनुभयो । एक दिन शमी राम्ररी निको भइन् । फेरि विद्यालय जाने भइन् । उनका चित्रहरू पनि विद्यालयमा राखिने भए ।
शमी कक्षा तीनमा पढ्न थालिन् । कक्षामा नयाँ साथीहरू मात्र थिए । सबै कुरा उनलाई अनौठा र नौला थिए तर पनि ऊ राम्ररी पढ्न थालिन् । देवी मिसको पढाउने तरिका उनलाई राम्रो लाग्यो । उहाँले राम्ररी बुझाएर पढाउनुहुन्थ्यो । राम्राराम्रा चित्र बनाउन सिकाउनुहुन्थ्यो ।
शमी पुस्तकालयमा थिइन् । पुस्तकालयका भित्तामा उनका चित्रहरू राखिएका थिए । उनी देवी मिसले लेखेका कथाहरू पढ्दै थिइन् । उनलाई देवी मिसले सुनाउनुभएको हेलेन र झमकको झलझली याद आयो । उनीभित्र नयाँ ऊर्जा थपिँदै गयो । हजुरआमालाई भुल्ने प्रयास विस्तारै गर्दै थिइन् । उसले देवी मिसमा हजुरआमाको अनुहार झलझली देख्न थालिन् । ‘अब मेरा आमा, बुबा र हजुरआमा देवी मिस नै हो’ भन्ने ठानिन् । पहिले पढाइ सक्ने अनि आफ्नै गाउँमा फर्किने अठोट पनि गरिन् ।
एक दिनको शमी चित्र बनाउँदै थिइन् । माइजू खाना पकाउँदै हुनुहुन्थ्यो । उनले मनमनै भन्न थालिन्, ‘अब म माइजूले भनेजस्तो कलाकार बन्दिनँ । देवी मिसजस्तै राम्रो मिस बन्छु । मेरै गाउँमा बस्छु । मेरै गाउँको स्कुलमा पढाउँछु । गाउँका सबै मानिसमा चेतना जगाउँछु । देवी मिसले भनेजस्तै मेरो गाउँलाई झनै सुन्दर बनाउँछु । आहा १ अनि त स्वर्ग मेरै गाउँ भइहाल्छ नि १ देवी मिसले भनेजस्तो माथि आकाशमा खोज्न जानै पर्दैन ।’
माइजूले खाना खान बोलाउनुभयो । उनी फटाफट भान्सामा गइन् । चकटीमा पलेँटी कसेर माइजूसँगै बसिन् । ‘क्या मीठो खाना’ भन्दै कपाकप खान थालिन् ।

कमला रिसाल ‘ज्योति’

प्रकाशित : कार्तिक १७, २०७६ १२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×