प्रकृति चिनाउने तिहार

गोविन्द पोखरेल

तिहार कस्तो पर्व हो ? काग, कुकुर, गाई, लक्ष्मी, गोरूको पूजा र भाइटीका सम्झेर केके गर्छौं भनेर हामी भन्न सक्छौं  । साथमा देउसी र भैलो खेल्ने कुरा पनि छुटाउँदैनौं  ।

दसैं, तिहारजस्ता चाडपर्वहरू मनाउने तरिका फरक छन् । यी बेला हामीले खाने परिकार पनि फरकफरक छन् ।
चाडपर्वहरू स्कुल छुट्टी हुने भएकाले खुसी मान्नुपर्ने समय मात्रै होइन । सबै धर्म, संस्कृतिमा चाडपर्वका आआफ्नै महत्त्व र बुझ्नैपर्ने सन्देश लुकेका हुन्छन् ।

तिहारलाई विज्ञानसँग जोडेर हेर्ने हो भने यो पर्वले हामीलाई प्रकृतिप्रेम सिकाउँछ । तिहारमा पूजा गरिने पन्छी र जनावरको आ–आफ्नै महत्त्व छ ।

तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई पुज्नु भनेको सबैं पन्छीप्रतिको प्रेम हो । काग एउटा महत्त्वपूर्ण पन्छी हो । यसले वातावरण सफा राख्न हामीलाई सघाएको हुन्छ । कागले सिनो र यत्रतत्र मिल्किएका खानेकुरा खान्छ । समूहमा बस्छ । शत्रु आए कागले मिलेर धपाउँछन् । कागको आवाज सुरिलो हुँदैन, त्यसैले यो कराएको हामीलाई मन नपर्नु स्वाभाविक छ । तर, जोखिमका अवस्थामा कागले कराएर सबै पशुपन्छीलाई सावधान गराउँछन् । त्यसैले कागबाट सिक्ने र सचेत हुने सन्देश पाइन्छ ।

कागले एकपटक चिनेको अनुहार हत्तपत्त नबिर्सने अध्ययनहरूले पनि देखाएका छन् । एउटा काग मर्दा थुप्रै कागहरू आएर घेरिएर बस्छन् र त्यो काग कसरी मर्‍यो भन्दै मृत्युको कारण खोज्छन् । कागको यिनै विशेषताले अरू पन्छीभन्दा अलि भिन्न छ ।

तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । हामीमध्ये धेरैलाई कुकुर मन पर्छ । कति जनाको त घरमै पालिएको पनि होला । मानिससँग कुकुरको नाता सदियौंदेखि सुरु भएको हो । मान्छेले घर बनाउन, समूहमा बस्न, लुगा लगाउन सिक्दै गर्दादेखि नै आफ्ना लागि अरू जनावरको सिकार गर्न कुकुरलाई अघि लगाउँथ्यो ।

बैज्ञानिकहरूले मानिसको सभ्यता विकासक्रम सँगसँगै कुकुरसँगको सम्बन्धलाई व्याख्या गर्छन् । इमानदारिता र मान्छेप्रतिको भक्ति कुकुर हामीलाई मन पर्नुको बलियो कारण हो । कुनै पनि कुरा सुँघेर पत्ता लगाउने क्षमताका कारण कुकुर प्रहरी र सेनाले गर्ने अनुसन्धानमा सबैभन्दा भरपर्दा साथी मानिन्छन् ।

घरमा पालेका कुकुरले आफ्नो मान्छे र बाहिरी प्रस्ट चिन्छन् । हामीलाई सुरक्षा दिन्छन् । मानिसले सुन्ने आवाजको दूरीभन्दा चार गुणा टाढाबाट कुकुरले सुन्न सक्छन् । अन्तरिक्षमा पुग्ने पहिलो जीव कुकुर हो । सोभियत संघले निर्माण गरेको स्पुतनिक–२ नामक यानमा आजभन्दा ६२ वर्षअघि लाइका नामको कुकुरलाई अन्तरिक्षमा पठाइएको थियो ।

तिहारको पुजिने अर्को जनावर हो गाई । परापूर्वकालदेखि मान्छेले गाई पाल्दै आएका छन् । गाईले दूध दिन्छ, गाईले गोब्र्याउँछ । दूध र गोबर दुवै हाम्रा लागि काम लाग्ने कुरा हुन् । गाईको दूध मान्छेका लागि पोसिलो भएजस्तै माटोका लागि गोबर मल पोसिलो मानिन्छ ।

सहरबजारमा ठाउँ नभएकाले मान्छेले गाईवस्तु पाल्न छाडे पनि दूध र त्यसबाट बन्ने कुराउनी, दही र घ्यू खान छाडेका छैनन् । गाउँका घरघरबाट सहकारी संस्थाहरू र किसानले डेरी उद्योगहरूमा पुर्‍याएको दूध नै हामीले प्याकेटमा बजारमा किन्न पाएका छौं ।

सूर्यबाट पृथ्वीमा आउने विभिन्न हानिकारक विकरणलाई गाईले सोस्ने काम गरेर वायुमण्डलाई स्वच्छ बनाउन मद्दत पुर्‍याउँछ । गोबर मलका रूपमा खेतबारीमा उपयोग हुन्छ ।

गाई पालेकाहरूले गोठ छेउमा प्लान्ट राखेर त्यसबाट निस्कने ग्यासबाट खाना पकाउने र बत्ती बाल्ने पनि गरिरहेका छन् । ग्यास प्लान्ट राख्नेले नराख्नेका तुलनामा दोहोरो फाइदा लिन सक्छन् । दूधबाट बनाइने घ्यूमा उच्च पौष्टिक तत्त्व हुन्छन् । गाईको दूधमा पोसिलो तत्त्व बढी हुने भएकाले शिशुहरूलाई पनि ख्वाइन्छ ।

तिहारमा धनकी देवी भनेर लक्ष्मीको पूजा गरिन्छ । सफासुग्घर घरमा लक्ष्मी आउँछिन् भनिन्छ । वास्तवमा सफा सुग्घर हुँदा हामीलाई रोगव्याधिले भेट्दैन । बिरामी नपरे खर्च हुँदैन । पैसाको बचतबाट थुप्रै काम गर्न सकिन्छ । चाहिएका कुरा किन्न सकिन्छ । आम्दानी दिने क्षेत्रमा लगानी गर्न सकिन्छ । त्यसैले धार्मिक हिसाबले गरिने पूजाको पनि अर्थ गहिरो छ ।

तिहारमा पुजिने जनावर गोरु पनि हो । विभिन्न मुलुकमा गाईगोरुको समूहले वनलाई डढेलो लाग्नबाट जोगाउँदै आएका छन् ।

यिनीहरू घाँस खान्छन् । वर्षमा एकपटक बढ्ने घाँस पुनः काट्न पर्छ कि जमिन जोत्नुपर्छ । त्यसो गरिएन भने घाँस सुक्छन् । सुकेका घाँसमा छिटो आगो लाग्छ । खुला चरिचरनमा छाडिने गाईगोरुले घाँस खाइदिएर आगलागीको जोखिमलाई कम गरेका हुन्छन् ।

गोरुलाई मानिसले खेत जोत्न र गोरु गाडा चलाउनका लागि प्रयोग गर्दै आएका हुन् । विभिन्न प्रकारका गाडीको विकास अगाडि गोरुको धेरै प्रयोग हुन्थ्यो । सडकमा टायरगाडा र खेत जोत्दा अब गोरुको प्रयोग भएको निकै कम देखिन थाले पनि यो जनावरको महत्त्व घटेको छैन ।

गोरु घोडाले भन्दा लामो समयसम्म हिँड्न सक्छ । प्रतिकूल मौसममा पनि धेरै सामानहरू बोक्ने भएकाले यसलाई मानिसले प्रयोग गर्दै आएका हुन् । सडक नपुगेका र ट्याक्टर चलाउन नसकिने खेतबारी जोत्न गोरु नभई हुँदैन ।

तिहारमा गोबर्धन पर्वतलाई पुजिन्छ । पर्वत अर्थात् पहाड । पर्वत पानीको स्रोत पनि हो । मध्य एसियाबाट उत्तर बहने चिसो हावालाई पर्वत शृंखलाले छेकिदिन्छ । यसबाट निस्किएका नदीले मलिलो तराईतर्फ माटो ओसार्छन् ।

तटीय क्षेत्रमा बसोबास गर्नेहरूले पर्वतबाट निस्किएका नदीमा भर पर्छर्न् । हिमालय पर्यटन आकर्षणको केन्द्र पनि हो । जलविद्युत् निर्माण तथा विभिन्न प्रकारका खनिजहरू पहाडी क्षेत्रमा पाइन्छ । तिहारमा गाईको गोबरलाई पर्वतजस्तो बनाएर पुजिन्छ । यसले हिमाल र पहाडप्रतिको हामो श्रद्धा दर्साउने गरेको छ ।


लक्ष्मीपूजाका दिन भैली र गोरु तिहारका दिन देउसी खेल्ने चलन छ । समूहमा खेलिने भएकाले देउसीभैलीले आपसमा मित्रता राख्नुपर्ने सन्देश दिन्छ । मित्रता राखिएन भने एक्लै परिन्छ, एक्लै देउसीभैली खेलिँदैन ।

भट्याउन सुरिलो स्वर हुनुका साथै सिर्जनशील हुन जरुरी हुन्छ । त्यसैले समूहमा परस्पर यस्ता प्रतिभाको खोजी हुन्छ । गाउन जान्नेले गाउने र बजाउन जान्नेले बजाउने भएकाले देउसीभैलीले हाम्रा बीचमा के कस्ता प्रतिभाहरू रहेछन् भन्ने जान्न र तिनलाई प्रष्फुटन गराउन सघाउँछ ।

तिहारको अन्तिम दिन हो भाइटीका । भाइटीका दाजुभाइ र दिदीबहिनीबीच मायाममता बढाउने दिन हो । तिहारका पौराणिक कथाहरूले जे भने पनि धेरै दिनसम्म भेटघाट गर्न नपाएका दाजुभाइ, दिदीबहिनी यो दिनका लागि अनिवार्य उपस्थित हुन्छन् । आपसमा सुखदुःखका कुराकानी हुन्छन् । आपसमा मद्दत गर्ने अवसर मिल्छ ।

माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउन यो दिनले विशेष महत्त्व राखेको छ । यो दिनमा लगाइने टीकामा प्रयोग गरिने वस्तु सबै वनस्पतिबाटै बनाइएका हुन्छन् । तिहारमा खाने परिकारले जाडोयामका लागि हाम्रो शरीरको रोग प्र्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गाउँघर सफा र चिटिक्क पारिँदा रोगकीराको डर मान्नुपर्दैन ।

प्रकाशित : कार्तिक १०, २०७६ १०:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षा

कान्तिपुर संवाददाता

आमा हतार भइसक्यो, म गएँ है १’ अनिता जुत्ताको तुना कस्तै बाहिरबाट कराइन् । ‘तँलाई टाइममा पकाएर रेडी गरेकै थिएँ त । खानु छ चराको जति, खान लाग्छ एक घन्टा । अब फाइनल परीक्षा छ ढिलो गर्ने भई,’ आमाले झ्यालको पर्दा हटाएर अलि ठूलै स्वरमा कराउनुभयो, ‘अल द बेस्ट, नआत्तिई बिस्तारै जा ।’

‘हस् आमा, थ्यांक्यु’ साइकलमा चढ्दै अनिताले भनिन् र स्कुलतिर हिँडिन् । बाटोमा सुनिता र बिमलासँग भेट भयो । उनीहरू पनि हतार भयो भन्दै डराइरहेका थिए । साइकल दौडाएर हिँडिरहेका उनीहरूले बाटोमा लडिरहेका एक वृद्ध मान्छे देखे । उनी बाटोको छेउमा घोप्टो परेर लडिरहेका थिए । उनको निधार र कुहिनोमा चोट लागेको रहेछ । रगत बगिरहेको थियो ।
‘बाइकले ठक्कर दिएर भागेको हुनुपर्छ,’ उनीहरूले अड्कल काटे । स्कुल जाने बाटो अलि कोल्टेतिर पर्ने हुनाले त्यति गाडीहरू गुड्दैन थिए । उनीहरूले उठाएर रूखको फेदमा राखे । आफूसँग भएको रुमाल झिकेर रगत बगिरहेको ठाउँ पुछेर बाँधिदिए । मद्दत लिन उनीहरूले कोही पाएनन् । स्कुल पनि ढिला भइसकेको थियो ।
सुनिताले अलि हड्बडाएर भनिन्, ‘परीक्षा सुरु भै सक्यो होला, फेरि फाइनल परीक्षा दिन पाइएन भने त अर्को साल पनि यही कक्षामा बस्नुपर्ने हुन्छ, म त जान्छु ।’
बिमलाले पनि होमा हो मिलाइन्, ‘हो हो, हामी स्वास्थ्य चौकीसम्म पनि त लान सक्दैनौं, के गर्नु बेकारमा बसेर ?’
अनितालाई भने घाइतेलाई छोडेर जान मन थिएन । ‘त्यस्तो होइन हेर, बरु हामी तीनजना मिलेर साइकलमा लिएर जाऔं, स्वास्थ्य चौकी कति टाढा छ र ? बाटोमा कोही भेटे हेल्प लिऔँला,’ उनले भनिन्, ‘कोही आपत्मा छ भने यसै छोडेर हिँड्नुहुन्न । एक्जामका लागि त टिचरहरूसँग रिक्वेस्ट गरौँला नि ।’
‘सरी यार, तेरो कुरा सही हो । ल बरु ढिला नगरौँ बिमला साइकल डोहोर्‍या, हामी पिछाडिबाट समाउँछौं,’ सुनिताले भनिन् । उनीहरूले अरू दुइटा साइकल त्यहीँ लक गरेर राखे अनि छिटछिटो गरेर स्वास्थ्य चौकीतिर लागे ।
स्वास्थ्य चौकीका इन्चार्जले भन्नुभयो– ‘घाउमा रुमालले बाँधिदिएकोले रगत बग्न पाएनछ, तपाईंहरूले राम्रो काम गर्नुभयो । रगत धेरै बगेको भए जे पनि हुन सक्थ्यो ।’ स्वास्थ्य चौकी पुर्‍याएपछि उनीहरू ढुक्क भएर स्कुलतिर कुदे । स्कुल पुग्दा परीक्षा सकिन लागिसकेको थियो । उनीहरू खुरुखुरु प्रिन्सिपल सरको रुममा गए र सबै बेलिबिस्तार सुनाए । उनीहरूको सहयोगको भावना देखेर प्रिन्सिपल सर केही बोल्न सक्नुभएन । पालेदाइलाई बोलाएर परीक्षा सकिएपछि सबै शिक्षक विद्यार्थीलाई ग्राउन्डमा बोलाउन अह्राउनुभयो । सबैको अगाडि उनीहरूलाई भन्नुभयो– ‘तिमीहरूले आज जो गरेका छौ, यो प्रशंसनीय काम हो । यो अरूको मद्दत गर्ने भावना कहिल्यै नमरोस् । तिमीहरूलाई मेरो आशीर्वाद र शुभकामना छ । यो परीक्षा त के भयो र ? व्यवस्था मिलाउँला । तर तिमीहरू आज जिन्दगीको परीक्षाबाट पास भएका छौ । स्कुले परीक्षाबाट सबै पास होलान् तर जिन्दगीको परीक्षाबाट जो कोही पास हुन सक्दैन ।’
प्रिन्सिपल सरले धाप मारिरहनुभएको थियो । साथीहरूले गड्गडाहट ताली दिइरहेका थिए ।

यमुना पराजुली अधिकारी

प्रकाशित : कार्तिक ३, २०७६ १०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT