कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षा

कान्तिपुर संवाददाता

आमा हतार भइसक्यो, म गएँ है १’ अनिता जुत्ताको तुना कस्तै बाहिरबाट कराइन् ।
‘तँलाई टाइममा पकाएर रेडी गरेकै थिएँ त । खानु छ चराको जति, खान लाग्छ एक घन्टा । अब फाइनल परीक्षा छ ढिलो गर्ने भई,’ आमाले झ्यालको पर्दा हटाएर अलि ठूलै स्वरमा कराउनुभयो, ‘अल द बेस्ट, नआत्तिई बिस्तारै जा ।’

परीक्षा

‘हस् आमा, थ्यांक्यु’ साइकलमा चढ्दै अनिताले भनिन् र स्कुलतिर हिँडिन् । बाटोमा सुनिता र बिमलासँग भेट भयो । उनीहरू पनि हतार भयो भन्दै डराइरहेका थिए । साइकल दौडाएर हिँडिरहेका उनीहरूले बाटोमा लडिरहेका एक वृद्ध मान्छे देखे । उनी बाटोको छेउमा घोप्टो परेर लडिरहेका थिए । उनको निधार र कुहिनोमा चोट लागेको रहेछ । रगत बगिरहेको थियो ।
‘बाइकले ठक्कर दिएर भागेको हुनुपर्छ,’ उनीहरूले अड्कल काटे । स्कुल जाने बाटो अलि कोल्टेतिर पर्ने हुनाले त्यति गाडीहरू गुड्दैन थिए । उनीहरूले उठाएर रूखको फेदमा राखे । आफूसँग भएको रुमाल झिकेर रगत बगिरहेको ठाउँ पुछेर बाँधिदिए । मद्दत लिन उनीहरूले कोही पाएनन् । स्कुल पनि ढिला भइसकेको थियो ।
सुनिताले अलि हड्बडाएर भनिन्, ‘परीक्षा सुरु भै सक्यो होला, फेरि फाइनल परीक्षा दिन पाइएन भने त अर्को साल पनि यही कक्षामा बस्नुपर्ने हुन्छ, म त जान्छु ।’
बिमलाले पनि होमा हो मिलाइन्, ‘हो हो, हामी स्वास्थ्य चौकीसम्म पनि त लान सक्दैनौं, के गर्नु बेकारमा बसेर ?’
अनितालाई भने घाइतेलाई छोडेर जान मन थिएन । ‘त्यस्तो होइन हेर, बरु हामी तीनजना मिलेर साइकलमा लिएर जाऔं, स्वास्थ्य चौकी कति टाढा छ र ? बाटोमा कोही भेटे हेल्प लिऔँला,’ उनले भनिन्, ‘कोही आपत्मा छ भने यसै छोडेर हिँड्नुहुन्न । एक्जामका लागि त टिचरहरूसँग रिक्वेस्ट गरौँला नि ।’
‘सरी यार, तेरो कुरा सही हो । ल बरु ढिला नगरौँ बिमला साइकल डोहोर्‍या, हामी पिछाडिबाट समाउँछौं,’ सुनिताले भनिन् । उनीहरूले अरू दुइटा साइकल त्यहीँ लक गरेर राखे अनि छिटछिटो गरेर स्वास्थ्य चौकीतिर लागे ।
स्वास्थ्य चौकीका इन्चार्जले भन्नुभयो– ‘घाउमा रुमालले बाँधिदिएकोले रगत बग्न पाएनछ, तपाईंहरूले राम्रो काम गर्नुभयो । रगत धेरै बगेको भए जे पनि हुन सक्थ्यो ।’ स्वास्थ्य चौकी पुर्‍याएपछि उनीहरू ढुक्क भएर स्कुलतिर कुदे । स्कुल पुग्दा परीक्षा सकिन लागिसकेको थियो । उनीहरू खुरुखुरु प्रिन्सिपल सरको रुममा गए र सबै बेलिबिस्तार सुनाए । उनीहरूको सहयोगको भावना देखेर प्रिन्सिपल सर केही बोल्न सक्नुभएन । पालेदाइलाई बोलाएर परीक्षा सकिएपछि सबै शिक्षक विद्यार्थीलाई ग्राउन्डमा बोलाउन अह्राउनुभयो । सबैको अगाडि उनीहरूलाई भन्नुभयो– ‘तिमीहरूले आज जो गरेका छौ, यो प्रशंसनीय काम हो । यो अरूको मद्दत गर्ने भावना कहिल्यै नमरोस् । तिमीहरूलाई मेरो आशीर्वाद र शुभकामना छ । यो परीक्षा त के भयो र ? व्यवस्था मिलाउँला । तर तिमीहरू आज जिन्दगीको परीक्षाबाट पास भएका छौ । स्कुले परीक्षाबाट सबै पास होलान् तर जिन्दगीको परीक्षाबाट जो कोही पास हुन सक्दैन ।’
प्रिन्सिपल सरले धाप मारिरहनुभएको थियो । साथीहरूले गड्गडाहट ताली दिइरहेका थिए ।

यमुना पराजुली अधिकारी

प्रकाशित : कार्तिक ३, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?