कान्छा पौडीबाज

कान्तिपुर संवाददाता

साढे ५ वर्षका सुशान्त बोहराको हाउभाउ अन्य प्रतिस्पर्धीको तुलनामा भिन्न किसिमको थियो  । सानै भए पनि उनी जोसिला देखिन्थे  ।

साढे ५ वर्षका सुशान्त बोहराको हाउभाउ अन्य प्रतिस्पर्धीको तुलनामा भिन्न किसिमको थियो । सानै भए पनि उनी जोसिला देखिन्थे । हातखुट्टा हल्लाउँदै ‘स्टेचिङ’ गर्दै थिए । १८औं एलए इन्टर स्कुल च्याम्पियनसिपका प्रतिस्पर्धीमध्ये उनी सबैभन्दा कान्छा थिए । बाँके नेपालगन्जका सुशान्त स्प्रिङ डेला एकेडेमीको कक्षा १ मा पढ्छन् । चार वर्षकै उमेरदेखि पौडी खेल्न थालेका उनले दुई महिनाअघिबाट मात्र प्रतिस्पर्धाका लागि नियमित तयारी थालेका थिए । दाइ शुभान बोहरा पनि पौडी खेल्छन् । गुरु चन्द्रराम चौधरीसँग दैनिक तालिम लिइरहेका उनले भविष्यमा कुशल पौडीबाज बन्ने लक्ष्य राखेका छन् । हाल दिनहुँ बिहान ६ देखि ७ बजेसम्म उनी पौडी अभ्यास गर्छन् । दुई महिनामै ‘स्टोक’ मा आएको सुधार र उनको जोस जाँगर देखेर गुरुले अन्य १२ सहभागीसँगै काठमाडौं ल्याएर प्रतिस्पर्धामा भाग लिन लगाएका थिए ।
प्रतियोगितामा पदक जित्न नसके पनि उनी निराश देखिएनन् । अर्को वर्ष ‘राम्रो गर्ने’ अठोट उनले व्यक्त गरे । शरीरमा शक्ति बढाउन उनले गुरुको सल्लाहअनुसार काँचो चना, फलफूल, अण्डा र जीवनजल नियमित खान थालेका छन् । सानै उमेरमा सम्भावना देखाएकाले अबको ५ वर्षभित्र ‘होनाहार पौडीबाज’ बन्न सक्ने ठानेर गुरु चन्द्ररामले उनलाई नियमित तालिम दिइरहेका छन् ।
शब्द/तस्बिर ः श्रुति श्रेष्ठ

प्रकाशित : आश्विन १२, २०७६ १०:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चियाको कथा

विप्लव भट्टराई

 दसैं, तिहार, छठजस्ता पर्व सुरु हुँदै छन्  । बर्खा निख्रिँदै गएसँगै आकाश खुलेर डाँडाकाँडा भराभरा देखिन थालेका छन्  ।

रमणीय प्रकृतिमा रम्न र घुम्न मानिस इलाम आउने क्रम बढेको छ । इलाममा बर्सेनि स्वदेशी र विदेशी हजारौं पर्यटक आउँछन् । इलाम घुम्न आउनेको मुख्य उद्देश्य हुन्छ– थुम्काथुम्का डाँडामा ‘ग्रिन कार्पेट’ बिछ्याएझैं देखिने चिया बगानलाई अघाउन्जेल हेर्नु । बगानमा रमाउनु र यहाँको सौन्दर्यलाई तस्बिरमा कैद गर्नु ।


नेपालमै पहिलो पटक चिया इलाममा रोपिएको हो । वि.सं. १९२० सालमा तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाले चीनबाट चियाको दाना ल्याएर इलाम बजारनजिकै रोपेको इतिहासमा उल्लेख छ । यति पुरानो इतिहास भए पनि इलाममा व्यावसायिक ढंगले चिया उत्पादन सुरु भएको भने तीन/चार दशक मात्र भएको छ ।
धेरैले चिया बगान देखेका हुन्छन्। चिया पिएका हुन्छन्। तर यसको खेती गर्ने तरिकादेखि प्रशोधन गरेर खानयोग्य कसरी हुन्छ भन्ने धेरैलाई थाहा छैन । यिनै जिज्ञासाहरू मेट्नका लागि कोपिलाको यो अंकमा हामीले चियाको कथा पस्केका छौं :

चिया धान, मकै, कोदो, आलु, सागसब्जीजस्तो बर्सेनि रोपेर उत्पादन गरिने खेती होइन । यो एकपटक रोपेपछि वर्षौंसम्म उत्पादन दिइरहन्छ । चिया रोप्दा अरू बिरुवाजस्तै खाल्डो खनेर रोप्ने हो । नर्सरीमा उत्पादन गरिएका स–साना बिरुवा रोपेपछि मलजल र काँटछाँट गर्नुपर्छ । चियाको बिरुवा उत्पादन गर्न निश्चित बगानमा डाला छाडिएका हुन्छन् । यसैलाई कटिङ गरेर नर्सरीमा बिरुवा बनाइन्छ । बिरुवा तयार हुन कम्तीमा २ वर्ष लाग्छ । दानाबाट पनि चियाको बिरुवा उत्पादन हुन्छ ।
रोपेको ३ वर्षपछि चियाले उत्पादन दिन्छ । चैत पहिलो या दोस्रो सातादेखि कात्तिकसम्म चियाको मुना टिप्नुपर्छ । विशेष गरी महिलाहरू लामबद्ध भएर चिया टिपेको दृश्य मनमोहक देखिन्छ । ‘दुई पात एक सुइरो...’ र ‘चियाबारीमा हो चियाबारीमा...’ जस्ता चर्चित गीतहरूमा देखाइएजस्तै गरी चियाको पत्ती टिपिन्छ । अरू रूखबिरुवा जस्तो होइन, चिया एकैनाशको देखिन्छ । चियालाई बर्सेनि काँटछाँट गर्दा यसको गोलाइ र उचाइ उस्तै हुने गरी मिलाइन्छ, जसले गर्दा डाँडाकाँडा रमाइला देखिन्छन् । इलामका कृषकले चियालाई सरकारी जागिरजस्तै ठान्छन् । किनभने एकपटक बगान हुर्किएपछि यसले वर्षौंसम्म नियमित आम्दानी दिन्छ । चैतदेखि कात्तिकभर टिपाइ हुने भएकाले कृषकहरू बेफुर्सदिला हुन्छन् । कात्तिकपछि चियाको काँटछाँट गरिन्छ । घरैपिच्छे बगान हुने भएकाले चिया टिप्नेलगायत अन्य काम गर्ने जनशक्ति अभाव छ । हरेक कृषकले १० रोपनीभन्दा बढी क्षेत्रफलमा बगान बनाएका छन् । कृषकबाहेक चिया विकास निगम र अन्य केही कारखानाका पनि ठुल्ठूला बगान छन् । यस्ता बगान र कारखानामा स्थायी र अस्थायी रूपमा श्रमिक राखिन्छ ।


चिया धेरै उत्पादन हुने सिजनमा कामदार अभाव हुँदा पत्ति टिपेर तौलअनुसार पैसा लिने पनि गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बिगा’ भन्ने चलन छ । चियापत्ती टिपेपछि त्यही दिन प्रशोधनका लागि कारखानामा पुर्‍याउनुपर्छ । चिया प्रशोधन गर्ने इलाममा दुई दर्जन ठूला कारखाना छन् । एक सयभन्दा धेरै मझौला र साना कारखाना छन् । कारखानामा मेसिनले प्रशोधन गरेर चियालाई विभिन्न ‘भेराइटी’ मा बनाइन्छ । हातले नै हरियो चियापत्ती माडेर खाने चलन पनि छ । यस्तो चियापत्तीलाई ‘हातेपत्ती’ भनिन्छ । गुणस्तरका आधारमा कारखानाले प्रतिकेजी ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म दिएर हरियो चियापत्ती खरिद गर्छन् ।
चियालाई मुख्य रूपमा दुई प्रकारले बुझिन्छ । इलामसहित पाँचथर, धनकुटा, तेह्रथुम, ललितपुरलगायत जिल्लामा उत्पादन हुने चियालाई अर्थोडक्स बनाइन्छ । यस्तो चिया दूधबिना पिउने चलन छ । अर्थोडक्सभित्र ग्रिन–टी, ब्लयाक–टी, ओलाङ–टी, वाइट–टी जस्ता धेरै भेराइटी बन्छन् । यस्तो चियाको मुख्य बजार भारत हो । नेपालमा उत्पादन हुने वार्षिक करिब ५५ लाख किलो तयारी अर्थोडक्स चियामध्ये ८० प्रतिशत भारत जान्छ । १० प्रतिशत युरोप र अमेरिकातर्फ निकासी हुन्छ भने बाँकी १० प्रतिशत नेपालमै खपत हुन्छ । अर्थोडक्स चियालाई अर्गानिक बनाउँदै युरोप र अमेरिका निकासी गर्न योग्य बनाउने ध्याउन्नमा कृषक लागेका छन् ।
तराई क्षेत्रमा उत्पादन हुने चियालाई दानादार बनाइन्छ । यस्तो चिया नेपालका हरेकजसो उपभोक्ताले पिउने गर्छन् । यसको आन्तरिक खपत उल्लेख्य छ भने भारत पनि जाने गर्छ । दानादार चियालाई दूध र चिनीमा मिलाएर पिउने गरिन्छ ।
चिया सेवनले शरीरमा स्फूर्ति आउँछ । अर्गानिक चिया सेवनले प्रेसर, सुगरजस्ता बिरामीलाई पनि फाइदा पुग्ने विज्ञहरूको भनाइ छ । विश्वमै प्रख्यात दार्जिलिङ चियासँग पूर्वको पहाडमा उत्पादित चियाले प्रतिस्पर्धा गरिरहेको छ । उस्तै हावापानी र माटो भएका कारण नेपालको चिया पनि विश्वमा लोकप्रिय हुँदै गएको छ ।
चियालाई यहाँको संस्कृतिका रूपमा पनि लिइन्छ । चियासम्बन्धी विभिन्न जानकारी लिँदै रमाइलो गर्ने पर्यटक बढाउन चिया पर्यटनको अभ्यास पनि भइरहेको छ ।

प्रकाशित : आश्विन १२, २०७६ १०:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×