अनौठा मानिस

कान्तिपुर संवाददाता

कोपिलाको यो अंकमा हामी अनौठा मानिसबारे चर्चा गर्ने छौं  ।

सबैभन्दा अग्ला रोबर्ट वाड्लो, सबैभन्दा होचा नेपालका स्व. चन्दबहादुर डाागी, पाका बडीबिल्डर जिम एरिङ्टन, ठूलो मुख भएका व्यक्ति फ्रान्सिस्को डोमिंगो जोकिम र सबैभन्दा धेरै बााच्ने जापानकी केन तनाका कस्ता व्यक्ति हुन् ?
आऊ जानौं :


रोबर्ट वाड्लो
जेन्टल जाइन्टका नामले संसारभर चर्चित रोबर्ट पर्सिङ वाड्लो इतिहासकै सबैभन्दा अग्ला मानिस हुन् । वाड्लो सन् १९१८ फेब्रुअरी २२ मा अमेरिकाको इलिनोइसमा जन्मेका थिए । अन्तिमपटक सन् १९४० जुन २७ मा उनको शरीरको नाप लिँदा ८ फिट ११.१ इन्च थियो । पाँच वर्षको उमेरमै उनी ५ फिट ४ इन्च अग्ला थिए । त्यसबेला उनका निमित्त किशोरहरूलाई मिल्ने ठूला लुगा ठीक हुन्थे । १२ औं जन्मदिनमा पहिलो पटक अस्पतालमा जाँच गर्दा पिटुअटरी ग्ल्याड निकै सक्रिय भएका कारण उनी बढिरहेको डाक्टरले पत्ता लगाएका थिए । १९ वर्षको उमेरमा ८ फिट ४ इन्चका उनलाई संसारको सबैभन्दा अग्लो मानिस घोषणा गरिएको थियो ।

२०० किलोग्राम तौल भएका उनको खुट्टाको घाउको संक्रमणका कारण २२ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको शवको कफिन बोक्न १२ मानिस सहभागी थिए । उनको निधनको ४६ वर्षपछि सन् १९८६ मा एल्टोनमा उनको प्रतिमा प्रतिस्थापन गरिएको थियो । रोचक कुरा के छ भने, उनका जुत्ता ४७ सेन्टिमिटरका हुन्थे । एल्टन म्युजियम अफ हिस्ट्री एन्ड आर्टमा उनका केही जुत्ताहरू अझै प्रदर्शनमा राखिँदै आइएको छ ।
जीवित मानिसमा सबैभन्दा अग्ला टर्कीका सुल्तान कोसेन हुन् । उनी ८ फिट २.८२ इन्च अग्ला छन् ।

चन्द्रबहादुर डाँगी


नेपालको दाङको रिमखोलीका चन्द्रबहादुर डाँगी संसारकै सबैभन्दा होचो मानिस हुन् । ७२ वर्षको उमेरसमेत उनको उचाइ ५४.६ सेन्टिमिटर(२१.५ इन्च) मात्र थियो । बुढेसकाल लाग्दासमेत डाक्टरकोमा कहिल्यै जान र औषधि खान नपरेको उनले बताएका थिए । गिनिज वर्ल्ड रेकर्डका अधिकारीहरू उनको शरीरको नाप लिन आएका बेला उनी पहिलोपटक राजधानी काठमाडौं पुगेका थिए । सन् २०१२ फेब्रुअरी २६ मा उनलाई संसारकै सबैभन्दा सानो कदको मानिस घोषणा गरिएको थियो । जीवित मानिसमध्ये सबैभन्दा होचो मानिस फिलिपिन्सका जुन्रे बालाविङ (५९.९ सेन्टिमिटर) भन्दा चन्द्रबहादुर ५ सेन्टिमिटर होचा थिए । साढे चौध किलोका चन्द्रबहादुर आजसम्म नापिएका मानिसमध्ये सबैभन्दा सानो कदका मानिस हुन् । साढे चौध किलोका चन्द्रबहादुरको निमोनियाका कारण ७५ वर्षको उमेरमा सन् २०१५ सेप्टेम्बर ३ मा निधन भएको थियो ।

जिम एरिङ्टन


जिम अरिङ्टन संसारकै सबैभन्दा पाका बडी बिल्डर हुन् । सन् २०१५ मा भएको एक व्यावसायिक बडी बिल्डिङ प्रतियोगिताको विजेता बनेपछि उनलाई सबैभन्दा पाको बडी बिल्डरको उपाधि दिइएको हो । त्यस बेला उनी ८३ वर्ष ६ दिनका थिए । एरिङ्टन सन् १९३२ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मेका थिए । उनलाई सन् २०१८ मा गिनिज बुक अफ द वर्ल्ड रेकर्डसले सबैभन्दा पाको उमेरको व्यावसायिक बडी बिल्डर घोषणा गरेको थियो । १३ वर्षको उमेरका एउटा म्यागाजिनमा बडी बिल्डरका फोटोहरू देखेपछि आफू बडी बिल्डिङप्रति आकर्षित भएको उनी बताउँछन् । ६० भन्दा धेरै बडी बिल्डङ प्रतियोगितामा भाग लिएका उनले १६ वटाका विजेता भइसकेका छन् । गिनज बुकले सन् २०१८ मा ८४ वर्षको उमेरका उनलाई पुनः एकपटक सबैभन्दा पाको बडी बिल्डरका रूपमा समावेश गरेको थियो । हाल उनी ८७ वर्षका भए । उनी फिटनेसप्रति निकै सचेत छन् ।


फ्रान्सिस्को डोमिंगो जोकिम


फ्रान्सिस्को डोमिंगो जोकिम सबैभन्दा ठूलो मुख भएका मानिस हुन् । इटालीको रोमका डोमिंगोलाई सन् २०१० मार्च १८ मा संसारकै सबैभन्दा ठूलो मुख भएको मानिस घोषित गरिएको थियो । उनको मुखको फैलावट १७ सेन्टिमिटर (६.६९ इन्च) छ । उनले मुखभित्र कोकाकोलाको क्यान अटाउन सक्छन् । रोममा भएका बिग माउथ कम्पिटिसनमा उनले अरू प्रतियोगीलाई उछिन्दै प्रथम भएका थिए । गिनिज बुकका अधिकारीहरूले उनलाई पहिलो पटक युट्युबमा फेला पारेका थिए । दुई वर्षको खोजपछि गिनिज बुकले रोमको अंगोला सहरको प्रतियोगितामा उनलाई निमन्त्रणा गरेको थियो ।

केन तनाका


जापानकी केन तनाका जीवित मानिसमध्ये सबैभन्दा धेरै वर्ष बाँच्ने मानिस हुन् । गत मार्च ९ गते ११६ वर्ष ६६ दिनका दिन केनलाई गिनिज बुकले सबैभन्दा धेरै समय बाँच्ने जीवित व्यक्ति घोषणा गरेको थियो । केन हाल जापानको फुकुओकामा बस्दै आएकी छन् । उनी सन् १९०३ जनवरी २ मा जन्मेकी थिइन् । उनी परिवारका आठ सन्तानमध्ये सातौं हुन् । केन बेलुका ९ बजे सुत्छिन् र बिहान ६ बजे उठिसक्छिन् । उनलाई गणित अध्ययन गर्न र नाटक हेर्न मन पर्छ । इतिहासमै सबैभन्दा धेरै वर्ष बाँच्ने मानिस फ्रान्सका जिन लुइस काल्मेन्ट हुन् । उनी १ सय २२ वर्ष र १६४ दिन बाँचेका थिए ।

क्रान्ति पाण्डे
–एजेन्सीको सहयोगमा

प्रकाशित : भाद्र २२, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली गाई

कान्तिपुर संवाददाता

स्कुलको मूलढोकामै सरसित भेट भयो  । सरलाई भेट्नेबित्तिकै रजतले भने, ‘सर, म त हिजो गाई बनेको नि  ।

उनको कुरा सुनेर सर छक्क पर्नुभयो । रजतका साथीहरू झन् छक्क परे । रजत किन गाई बनेको होला ? अनि कसरी गाई बने होलान् ? सबैको मनमा खुल्दुली लाग्यो । सबैले अनौठो मानेर रजतलाई हेर्न थाले । ‘रजत, तिमी त मान्छे । कसरी तिमी गाई बन्यौ ?’ सरले रजतलाई आफूसँगै बसाएर सोध्नुभयो ।


रजत हिजो आफू गाई बनेकोमा निकै खुसीे थिए । उनलाई यो कुरा कसलाई सुनाऊँ, कहिले सुनाऊँ र कसरी सुनाऊँ भइरहेको थियो । उनले निकै उत्साहित भएर आफू गाई बनेको कुरा सुनाउन थाले । मलाई आमाले बिहानै उठाउनुभयो । मेरो त निद्रा नै पुगेको थिएन । आमाले भन्नुभयो, ‘बाबु उठ उठ ।’ म आँखा मिच्दै उठेँ । आमाले भन्नुभयो, ‘अब नुहाउनुपर्छ ।’ एकाबिहानै कसरी नुहाउने ? बिहान त जाडो हुन्छ । त्यसैले मैले भनेँ, ‘नाइँ आमा । म त नुहाउँदिनँ ।’ ‘नुहाउनैपर्छ बाबु । नुहाएर चोखो हुनुपर्छ । आज त बाबु गाई बन्ने हो नि । बाबुलाई जाडो हुन्छ भनेर मैले तातो पानी तयार पारेकी छु,’ आमाले मलाई सम्झाउँदै भन्नुभयो । तातोपानी पाएपछि म नुहाउनलाई राजी भएँ ।


आमाले मलाई खलखली नुहाइदिनुभयो । तातोपानी भएकाले मलाई जाडो लागेन । बरु तातोपानीले नुहाउँदा मज्जा आयो । जीउ नै हलुका भयो । नुहाइसकेपछि मलाई भोक लाग्यो । मैले भनेँ, ‘आमा भोक लाग्यो ।’ ‘बाबुले आज गाई नबनेसम्म केही खानुहुन्न । बरु अब हामी झट्टै मामाघर गइहाल्नुपर्छ,’ आमाले भन्नुभयो । त्यसपछि हामी मामाघर गयौं । मामाघरमा त धेरै मान्छे आएका रहेछन् । मामामाइजूहरूले धेरैथोक खानेकुरा पनि बनाइसक्नुभएको रहेछ । पूजासामग्री पनि तयार पार्नुभएको रहेछ । अनि मलाई गाई बनाउने सामान पनि तयार पार्नुभएको रहेछ । रजतले आफ्नो कुरा सुनाउँदै गर्दा सर चाहिँ मुसुमुसु हाँसिरहनुभयो । रजतको खुसी देखेर सर पनि खुसी हुनुभएको थियो । रजतका साथीहरूलाई चाहिँ रजत किन गाई बनेका होलान् भन्ने जिज्ञासा लागिरहेको थियो । उत्सवले निकै उत्सुक भएर सोधे, ‘अनि रजत, तिमी किन गाई बनेको नि?’ रजतलाई फसाद पर्‍यो । किनभने उसलाई थाहै थिएन उन किन गाई बनेको भनेर । आफू किन गाई बनेको होला भन्ने थाहा नपाएर रजतलाई आपत् पर्‍यो । उनी अकमकिएर साथीहरूको मुख हेर्न थाले । रजत अकमकिएको देखेर सरले भन्नुभयो, ‘म भन्छु तिमीहरूलाई रजत किन गाई बनेको भनेर ।’ सरले यसो भनेपछि रजतका सबै साथीहरूले सरतिर ध्यानले हेर्न थाले ।


सरले रजतलाई सोध्नुभयो, ‘भन त रजत, तिम्रो मामाघरमा कोही स्वर्गीय हुनुभा’को थियो ?’
रजतले यसो सम्झेझैं गरेर भने, ‘हो, मेरो मामाघरको हजुरबा स्वर्गीय हुनुभा’को थियो ।’‘हो, अब मैले बुझेँ । अब म तिमीहरूलाई रजत किन गाई बनेका भन्नेबारे सुनाउँछु ।’ यसो भन्दै सरले रजत किन गाई बनेको भन्नेबारेमा सुनाउन थाल्नुभयो ।रजत नेवार परिवारमा जन्मेको हो । रजतको मामाघर पनि नेवार नै हुन् । नेवार समुदायले गाईजात्रालाई विशेष पर्वका रूपमा मनाउने गर्छन् । यस दिनलाई नेवारहरूले सापारु भन्छन् । सा भनेको गाई हो भने पारु भनेको चाहिँ प्रतिपदा । गाईजात्रा निकाल्ने दिन भएकाले यस दिनलाई नेवार भाषामा सापारु भनिएको हो ।


गाईजात्राको दिन वर्षभरि दिवंगत भएका मानिसको सम्झना गरिन्छ । नेवार समुदायमा दिवंगत मानिसको सम्झनामा गाईजात्रा निकाल्ने चलन छ । यस दिन मानिसलाई नै गाईको प्रतीक बनाई नगर परिक्रमा गराउने चलन छ । भाद्र प्रतिपदा अर्थात् गाईजात्राको दिन मात्रै यमलोकको ढोका खुल्ने जनश्रुति छ । मृतकको आत्मा गाईको मद्दतबाट यमलोकमा प्रवेश गर्छन् भन्ने कुरा गरुडपुराण र पद्मपुराणमा पनि लेखिएको छ । त्यसैले रजतको मामाघरको दिवंगत हजुरबाको सम्झनामा रजतलाई नै गाई बनाएर नगर परिक्रमा गराइएको हो । सकेसम्म आफ्नै नातागोताका साना बालकलाई गाई बनाउने चलन छ । सरको कुरा सुनेर रजतका साथीहरूले रजत किन गाई बने भन्ने कुरा थाहा पाए । सरले आफ्नो समस्या समाधान गरिदिनुभएकाले रजत सरसँग खुसी भए । रजतका साथीहरूको मनमा थप उत्सुकता बढ्यो । उनीहरूलाई रजत कसरी गाई बने होलान् भन्ने जान्न मन लाग्यो । रजतले आफू गाई बनेको कुरा सुनाउन थाले ।


मामामाइजूले घरका देवीदेउताको पूजा गर्नुभयो । नजिकको मन्दिरमा पनि पूजा गर्न जानुभयो । त्यसपछि मलाई पनि टीका लगाइदिनुभयो । त्यसपछि मेरो टाउकोमा परालले बुनेको गाईको सिङ राखिदिनुभयो । गाईको चित्र अंकित छापा पनि टाउकोमा लगाइदिनुभयो । अनि म गाईजस्तै भएँ । नगर परिक्रमा गर्ने बेला पनि भयो । मामाले हातमा पूजाको थाली लिनुभयो । मामाहरू अघिअघि म पछिपछि डिँडेर नगर परिक्रम गर्‍यौं । टोलमा भएका सबै मन्दिरहरूको परिक्रमा गर्‍यौं । मामाले सबै मन्दिरमा फूल र अक्षता चढाउनुभयो । मैले चाहिँ सबै मन्दिरमा भगवान्लाई ढोग गरेँ । बाटोमा हिँडिरहेका मानिसले मलाई अनौठो मानेर हेरे । कसैकसैले मलाई मिठाई र फलफूल पनि दिए । कसैकसैले त पैसा पनि दिए । मैले त कति धेरै पैसा पाएँ ।


रजतको कुरा सुनेर सबै साथीहरूले रमाइलो माने । उनीहरूले गाई किन बन्ने र कसरी बन्ने भन्ने थाहा पाए । संस्कृतिबारे पनि थाहा पाए । गाईजात्रा किन मनाउँछन् भन्ने थाहा पाएर रजत र उसका साथीहरू खुसी भए । त्यसपछि सर आफ्नो अफिसमा जानुभयो । रजत र उसका साथीहरू पनि कक्षामा गए । जाँदाजाँदै सुलभले भने, ‘रजत, गाई बन्दा तिमीलाई मज्जा आयो ?’रजतले रमाउँदै भने, ‘हो नि, मलाई त कस्तो मज्जा आयो । तर एउटा कुरा थाहा छ, म गाई बनेर मामासँगै घरबाट निस्किनै लागेको थिएँ । हजुरबालाई सम्झेर आमा र मामामाइजूको आँखामा आँसु आएको देखेँ । त्यस बेलामा चाहिँ मलाई कस्तो नरमाइलो लाग्यो ।’

अनुष्काले लामोलामो सास फेर्दै भनिन्, ‘थाहा छ, मलाई त तिमी साँच्चिकै गाई बनेको हो कि भनेर कस्तो डर लागेको थियो । तिमी गाई बनेको भए कसरी स्कुल आउँथ्यौ ? तर तिमी त नक्कली गाई पो बनेका रहेछौ ।’ ‘नक्कली गाई, हाहाहाहा.... ।’ अनुष्काको कुरा सुनेर सबैजना मज्जाले हाँसे ।
रत्न प्रजापती

प्रकाशित : भाद्र १५, २०७६ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्