कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली गाई

स्कुलको मूलढोकामै सरसित भेट भयो  । सरलाई भेट्नेबित्तिकै रजतले भने, ‘सर, म त हिजो गाई बनेको नि  ।

नक्कली गाई

उनको कुरा सुनेर सर छक्क पर्नुभयो । रजतका साथीहरू झन् छक्क परे । रजत किन गाई बनेको होला ? अनि कसरी गाई बने होलान् ? सबैको मनमा खुल्दुली लाग्यो । सबैले अनौठो मानेर रजतलाई हेर्न थाले । ‘रजत, तिमी त मान्छे । कसरी तिमी गाई बन्यौ ?’ सरले रजतलाई आफूसँगै बसाएर सोध्नुभयो ।


रजत हिजो आफू गाई बनेकोमा निकै खुसीे थिए । उनलाई यो कुरा कसलाई सुनाऊँ, कहिले सुनाऊँ र कसरी सुनाऊँ भइरहेको थियो । उनले निकै उत्साहित भएर आफू गाई बनेको कुरा सुनाउन थाले । मलाई आमाले बिहानै उठाउनुभयो । मेरो त निद्रा नै पुगेको थिएन । आमाले भन्नुभयो, ‘बाबु उठ उठ ।’ म आँखा मिच्दै उठेँ । आमाले भन्नुभयो, ‘अब नुहाउनुपर्छ ।’ एकाबिहानै कसरी नुहाउने ? बिहान त जाडो हुन्छ । त्यसैले मैले भनेँ, ‘नाइँ आमा । म त नुहाउँदिनँ ।’ ‘नुहाउनैपर्छ बाबु । नुहाएर चोखो हुनुपर्छ । आज त बाबु गाई बन्ने हो नि । बाबुलाई जाडो हुन्छ भनेर मैले तातो पानी तयार पारेकी छु,’ आमाले मलाई सम्झाउँदै भन्नुभयो । तातोपानी पाएपछि म नुहाउनलाई राजी भएँ ।


आमाले मलाई खलखली नुहाइदिनुभयो । तातोपानी भएकाले मलाई जाडो लागेन । बरु तातोपानीले नुहाउँदा मज्जा आयो । जीउ नै हलुका भयो । नुहाइसकेपछि मलाई भोक लाग्यो । मैले भनेँ, ‘आमा भोक लाग्यो ।’ ‘बाबुले आज गाई नबनेसम्म केही खानुहुन्न । बरु अब हामी झट्टै मामाघर गइहाल्नुपर्छ,’ आमाले भन्नुभयो । त्यसपछि हामी मामाघर गयौं । मामाघरमा त धेरै मान्छे आएका रहेछन् । मामामाइजूहरूले धेरैथोक खानेकुरा पनि बनाइसक्नुभएको रहेछ । पूजासामग्री पनि तयार पार्नुभएको रहेछ । अनि मलाई गाई बनाउने सामान पनि तयार पार्नुभएको रहेछ । रजतले आफ्नो कुरा सुनाउँदै गर्दा सर चाहिँ मुसुमुसु हाँसिरहनुभयो । रजतको खुसी देखेर सर पनि खुसी हुनुभएको थियो । रजतका साथीहरूलाई चाहिँ रजत किन गाई बनेका होलान् भन्ने जिज्ञासा लागिरहेको थियो । उत्सवले निकै उत्सुक भएर सोधे, ‘अनि रजत, तिमी किन गाई बनेको नि ?’ रजतलाई फसाद पर्‍यो । किनभने उसलाई थाहै थिएन उन किन गाई बनेको भनेर । आफू किन गाई बनेको होला भन्ने थाहा नपाएर रजतलाई आपत् पर्‍यो । उनी अकमकिएर साथीहरूको मुख हेर्न थाले । रजत अकमकिएको देखेर सरले भन्नुभयो, ‘म भन्छु तिमीहरूलाई रजत किन गाई बनेको भनेर ।’ सरले यसो भनेपछि रजतका सबै साथीहरूले सरतिर ध्यानले हेर्न थाले ।


सरले रजतलाई सोध्नुभयो, ‘भन त रजत, तिम्रो मामाघरमा कोही स्वर्गीय हुनुभा’को थियो ?’
रजतले यसो सम्झेझैं गरेर भने, ‘हो, मेरो मामाघरको हजुरबा स्वर्गीय हुनुभा’को थियो ।’‘हो, अब मैले बुझेँ । अब म तिमीहरूलाई रजत किन गाई बनेका भन्नेबारे सुनाउँछु ।’ यसो भन्दै सरले रजत किन गाई बनेको भन्नेबारेमा सुनाउन थाल्नुभयो ।रजत नेवार परिवारमा जन्मेको हो । रजतको मामाघर पनि नेवार नै हुन् । नेवार समुदायले गाईजात्रालाई विशेष पर्वका रूपमा मनाउने गर्छन् । यस दिनलाई नेवारहरूले सापारु भन्छन् । सा भनेको गाई हो भने पारु भनेको चाहिँ प्रतिपदा । गाईजात्रा निकाल्ने दिन भएकाले यस दिनलाई नेवार भाषामा सापारु भनिएको हो ।


गाईजात्राको दिन वर्षभरि दिवंगत भएका मानिसको सम्झना गरिन्छ । नेवार समुदायमा दिवंगत मानिसको सम्झनामा गाईजात्रा निकाल्ने चलन छ । यस दिन मानिसलाई नै गाईको प्रतीक बनाई नगर परिक्रमा गराउने चलन छ । भाद्र प्रतिपदा अर्थात् गाईजात्राको दिन मात्रै यमलोकको ढोका खुल्ने जनश्रुति छ । मृतकको आत्मा गाईको मद्दतबाट यमलोकमा प्रवेश गर्छन् भन्ने कुरा गरुडपुराण र पद्मपुराणमा पनि लेखिएको छ । त्यसैले रजतको मामाघरको दिवंगत हजुरबाको सम्झनामा रजतलाई नै गाई बनाएर नगर परिक्रमा गराइएको हो । सकेसम्म आफ्नै नातागोताका साना बालकलाई गाई बनाउने चलन छ । सरको कुरा सुनेर रजतका साथीहरूले रजत किन गाई बने भन्ने कुरा थाहा पाए । सरले आफ्नो समस्या समाधान गरिदिनुभएकाले रजत सरसँग खुसी भए । रजतका साथीहरूको मनमा थप उत्सुकता बढ्यो । उनीहरूलाई रजत कसरी गाई बने होलान् भन्ने जान्न मन लाग्यो । रजतले आफू गाई बनेको कुरा सुनाउन थाले ।


मामामाइजूले घरका देवीदेउताको पूजा गर्नुभयो । नजिकको मन्दिरमा पनि पूजा गर्न जानुभयो । त्यसपछि मलाई पनि टीका लगाइदिनुभयो । त्यसपछि मेरो टाउकोमा परालले बुनेको गाईको सिङ राखिदिनुभयो । गाईको चित्र अंकित छापा पनि टाउकोमा लगाइदिनुभयो । अनि म गाईजस्तै भएँ । नगर परिक्रमा गर्ने बेला पनि भयो । मामाले हातमा पूजाको थाली लिनुभयो । मामाहरू अघिअघि म पछिपछि डिँडेर नगर परिक्रम गर्‍यौं । टोलमा भएका सबै मन्दिरहरूको परिक्रमा गर्‍यौं । मामाले सबै मन्दिरमा फूल र अक्षता चढाउनुभयो । मैले चाहिँ सबै मन्दिरमा भगवान्लाई ढोग गरेँ । बाटोमा हिँडिरहेका मानिसले मलाई अनौठो मानेर हेरे । कसैकसैले मलाई मिठाई र फलफूल पनि दिए । कसैकसैले त पैसा पनि दिए । मैले त कति धेरै पैसा पाएँ ।


रजतको कुरा सुनेर सबै साथीहरूले रमाइलो माने । उनीहरूले गाई किन बन्ने र कसरी बन्ने भन्ने थाहा पाए । संस्कृतिबारे पनि थाहा पाए । गाईजात्रा किन मनाउँछन् भन्ने थाहा पाएर रजत र उसका साथीहरू खुसी भए । त्यसपछि सर आफ्नो अफिसमा जानुभयो । रजत र उसका साथीहरू पनि कक्षामा गए । जाँदाजाँदै सुलभले भने, ‘रजत, गाई बन्दा तिमीलाई मज्जा आयो ?’रजतले रमाउँदै भने, ‘हो नि, मलाई त कस्तो मज्जा आयो । तर एउटा कुरा थाहा छ, म गाई बनेर मामासँगै घरबाट निस्किनै लागेको थिएँ । हजुरबालाई सम्झेर आमा र मामामाइजूको आँखामा आँसु आएको देखेँ । त्यस बेलामा चाहिँ मलाई कस्तो नरमाइलो लाग्यो ।’

अनुष्काले लामोलामो सास फेर्दै भनिन्, ‘थाहा छ, मलाई त तिमी साँच्चिकै गाई बनेको हो कि भनेर कस्तो डर लागेको थियो । तिमी गाई बनेको भए कसरी स्कुल आउँथ्यौ ? तर तिमी त नक्कली गाई पो बनेका रहेछौ ।’ ‘नक्कली गाई, हाहाहाहा.... ।’ अनुष्काको कुरा सुनेर सबैजना मज्जाले हाँसे ।
रत्न प्रजापती

प्रकाशित : भाद्र १५, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?