खेल सिक्दै

अमृता अनमोल

 भाइबहिनीहरू, गृहकार्य सकेपछि तिमीहरू के गर्छौ ? रुपन्देहीका केही साथीहरू भने खेल सिक्छन्  । यहाँ विभिन्न खेलका एकेडेमी छन्  ।

तिनमा खेल्ने तरिका सिकाइन्छ, जसले ती साथीहरूलाई खेल सिक्ने अवसर जुटेको हो । रुपन्देहीमा खेलकुद गतिविधि गर्ने ५० वटा क्लब छन् । २५ वटा खेलकुद संघ छन् । तीमध्ये १४ वटाले बालबालिकाका लागि खेल एकेडेमी खोलेका छन् । तिनले फुटबल, लनटेनिस, जुडो, कराते, क्रिकेट र ब्याडमिन्टन सिकाउँछन् । एकेडेमीमा बालबालिकाको समूह बनाइन्छ । दिनहुँ खेल्न मैदान दिइन्छ । साथीहरू बिहान–साँझ एकेडेमीमा जम्मा हुन्छन् । प्रशिक्षकले खेलको नीति र विधि सिकाउँछन । यसपछि उनीहरू मज्जाले खेल्छन् ।


खेल्न पाउँदा उनीहरू धेरै खुसी छन् । केहीले भविष्यमा खेलाडी बन्ने सपनासमेत बनाएका छन् । त्यसमध्येका हुन्– बुटवलका रितेश ज्ञवाली । उनी कक्षा ६ मा पढ्छन् । दिनभर स्कुल जान्छन् । साँझमा लेख्ने र पढ्ने सबै गृहकार्य सक्छन् । बिहान भने लनटेनिस खेल्न जान्छन् । ‘बिहान साढे ५ बजेदेखि ७ बजेसम्म खेल्छौं र सिक्छौं,’ उनले भने, ‘खेल्दा निकै रमाइलो लाग्छ, शरीर पनि फूर्तिलो हुन्छ ।’ नियमित खेल्न पाएकै कारण रितेशले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । १० वर्षमुनिको राष्ट्रिय लनटेनिस प्रतियोगितामा जिल्लास्तरीय विभिन्न खेल जितेका छन् । उनी तृतीय भएका थिए । गतवर्ष भएको ८ वर्षमुनिको राष्ट्रिय लनटेनिसमा उनका साथी ब्रिजेस अर्याल च्याम्पियन भएका थिए । यमन राना सेकेन्ड र योगेश ज्ञवाली तृतीय भएका थिए । बुटवलको देवीनगरमा लनटेनिस एकेडेमी छ । त्यसलाई लनटेनिस क्लब बुटवलले सञ्चालन गर्छ । अध्यक्ष गोपाल ज्ञवालीले नयाँ खेलाडी उत्पादन गर्न ३ वर्षयता बालबालिकालाई खेल सिकाउन थालेको बताए । ७ देखि १४ वर्ष उमेरका ५० जनाले लनटेनिस सिकिरहेका छन् ।देवीनगरमै एन्फा एकेडेमी छ । रुपन्देही फुटबल संघले यसको सञ्चालन गर्छ । त्यसमा २४ बालबालिकालाई फुलबल खेल्न सिकाइन्छ । उनीहरू दिउँसो पढ्न जान्छन् । अरूजस्तै उनीहरू घर जाँदैनन् । बिहान–साँझ एकेडेमीमै बस्छन् । दिनमा २ घण्टा एकेडेमीमै बसेर फुटबल खेल्न सिक्छन् ।


त्यसका लागि दुई जना प्रशिक्षक छन् । १० वर्षदेखि यो एकेडेमी सञ्चालनमा छ । फुटबल सिक्नेहरूमा १२ देखि १६ वर्षसम्मका छन् । राष्ट्रिय चर्चित फुटबल खेलाडी विमल घर्ती यहींका उत्पादन हुन् । उनले यही एकेडेमीमा खेल सिकेका थिए । यहाँ खेल सिकेका अरू १२ जना पनि राष्ट्रिय खेलाडी बनेका छन् । भर्खरै यहींका विद्यार्थी निराजन खत्री अन्डर–१६ का लागि राष्ट्रिय खेलाडीमा छनोट भएका छन् । ‘सानैदेखि फुटबल खेल्न र सिक्न मन लाग्थ्यो,’ उनले भने, ‘त्यसैले बाबाआमाले एन्फा एकेडेमीमा राखिदिनुभएको हो ।’ निराजनको अन्तर्राष्ट्रिय खेलाडी बन्ने धोको छ । खेलबाटै देशको नाम उचो बनाउने इच्छा छ । सुरुवातमा अगस्ट २३ देखि भारतमा भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उनले भाग लिएका छन् ।


खेल्ने विद्यार्थी पढाइमा कमजोर हुन्छन्, धेरै अभिभावक यस्तै सोच्छन् । यसैले कोहीकोही अभिभावक छोराछोरीलाई खेल्न दिँदैनन । तर यो गलत हो । रुपन्देहीको स्मृति बोर्डिङ स्कुलका प्रिन्सिपल हरि ज्ञवाली गृहकार्य सकेर खेल्ने विद्यार्थी पढाइमा कमजोर नहुने दाबी गर्छन् । उनले पाँच वर्षयता एन्फा एकेडेमीका विद्यार्थीलाई पढाइरहेका छन् । ‘खेल्ने र पढ्ने समयबीच तालमेल मिलाउनुपर्छ,’ उनले भने, ‘यसो गरे पढाइमा अझ तेज हुन्छन् ।’जानाकारहरूका अनुसार खेलकुद एकेडेमी खेलाडी उत्पादनका जग हुन् । यिनमा खेलको विधि र कला सिकाइन्छ । एन्फा एकेडेमीका व्यवस्थापक तथा प्रशिक्षक बुद्धि गुरुङ बालबालिकालाई यसरी सिकाउँदा नयाँ र राम्रो खेलाडी उत्पादन हुने बताउँछन् । उनका अनुसार खेल बालबालिकालाई अनुशासन सिकाउने माध्ययम पनि हो । यसले नियममा रहेर काम गर्न सिकाउँछ । खेलले शरीर फूर्तिलो बनाउँछ । मनोरञ्जन दिन्छ । कुलतबाट बचाउँछ । मन चञ्चल हुनेका लागि एकाग्र हुन पनि सहयोग गर्छ । तर सबै ठाउँमा रुपन्देहीमा जस्तो एकेडेमीमै गएर खेल्ने अवसर छैन ।

प्रकाशित : भाद्र १५, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्

तीज

कान्तिपुर संवाददाता

घरभरि चहलपहल बढेको थियो  । सानिमा, फुपू दिदी, माइजूहरू  ।

मामुले रातो सारी, चुरा, पोते लगाएको देखेर देवी पनि निकै दङ्ग थिइन् । कक्षा ४ मा पढिरहेकी देवीलाई तीज खुबै रमाइलो लागिरहेको थियो ।
‘तीजको रहर आयो बरी लै...’ गीत पूरै नआए पनि भाका मिलाई मिलाई छमछमी नाँचिरहेकी थिइन् उनी ।
मामुले सोध्नुभो, ‘देवी, आज निकै खुसी देखिन्छौ नि, किन हो ?’
मस्किएर जवाफ दिइन्, ‘मामु आज हजुरलाई कति राम्रो देखिएको छ । रातो सारी, रातो चुरा... ।’
‘अरू दिन म राम्रो देखिँदैन थिएँ र ?’
‘अरू दिन टि–सर्ट प्यान्ट, वान पिस लाउनुहुन्थ्यो । आज बेग्लै राम्रो क्या । वर्ल्डकै बेस्ट मामु ।’
‘अरू दिन त मामुलाई अफिस जानुपर्ने भएकाले सजिलो लुगा लगाउने गरेको नि,’ छोरीको चुरुकफुरुक देखेर मामुले जिस्किँदै भन्नुभयो, ‘हजुरआमाले हिजो पकाएको दरले राम्रै काम गरेजस्तो छ । मामुको निकै प्रशंसा गर्न थाल्यौ त... ।’
‘हो, हिजो मामुहरूले पकाएको मीठा मीठा खानेकुराको दर त बिर्सर्नै सक्दिनँ नि,’ देवीले भनिन्, ‘आज त केही पनि खान्नँ । म’नि तीजको व्रत बस्ने हो, फुपूदिदी र माइजूहरूजस्तै । कर गर्ने होइन नि मलाई, खाऊखाऊ भनेर... ।’
देवीको कुराले मामु छक्क पर्नुभो । ‘साना केटाकेटीले पनि व्रत बस्छन् त ? ठूलो भएपछि बसौली । अहिले हातमुख धोएर दूध र बिस्कुट खाऊ,’ सम्झाउन खोज्नुभयो, ‘होइन, बेकारको स्कुल बिदाले दिक्क बनाउँछन् बच्चाहरूले...।’
मामुको कुराले देवीलाई रिस उठ्यो । उनी जिद्दी गर्न थालिन्, ‘सानी भए’नि म त व्रत बस्ने हो । अस्ति फुपूले किनेर ल्याइदिनुभएको रातो चुरा दिनुस् । रातो लेहेंगा पनि दिनुस् ।’
त्यति नै बेला देवीका बाबा पनि आइपुग्नुभो, ‘हैन, केको गन्थन हो मामु–छोरीको ?’
‘हेर्नु न, मामुले मलाई तीजको व्रत बस्नु हुँदैन, सानी छेस् भन्नुहुन्छ,’ देवीले बाबालाई कुरा लगाउन थालिन्, ‘बाबा म ठूली भइसकेँ नि हैन ? फोर क्लास पढ्ने भइसकेँ नि है ।’
बाबा मुसुमुसु हाँस्नुभो । अनि भन्नुभयो, ‘कसले भन्यो मेरी छोरी सानी छ भनेर १ ठूली भइसकी । ज्ञानी छे । आफ्नो काम आफैं गर्छे, होइन त ?’
‘बाबा म पनि व्रत बस्छु । रातो चुरा र लेहेंगा लगाउँछु नि है,’ उनले बाबासँग पनि अडान दोहोर्‍याइन् ।
‘हुन्छहुन्छ । बाबा पनि व्रत बस्ने, छोरी पनि बस्ने, ओके १’ ‘ओके बाबा..’ उनी खुसी हुँदै कोठाभित्र पसिन् ।
‘तपाईं पनि बच्चाको अगाडि चाहिँदो नचाहिँदो कुरा गर्नुहुन्छ के ? तीजको व्रत पनि केटा मान्छेले बस्छन् ?’, मामुले बाबासँग गुनासो गर्नुभयो, ‘बच्चालाई पनि उकास्ने कस्तो हजुर त...?’
‘न रिसाऊ न । भगवान्को व्रत जोकोही पनि बस्न भइहाल्न नि,’ बाबाले भन्नुभयो, ‘छोरीले पनि परम्परा र रीतिरिवाजबारे जानोस्, बुझोस्, सिकोस् । खाली रिसाएर मात्रै हुन्छ । एकछिन् भोकै बस्छे, भोक लागेपछि फेरि खानेकुरा मागिहाल्छे नि ।’
मामु र बाबाको गन्थन चलिरहेकै थियो । देवी दौडँदै आइन्, रातो लेहेंगा र चुरामा चिटिक्क परेर ।
‘बाबा म कस्ती देखिएको छु ?’
‘आहा.. मेरी छोरी त कति राम्री देखिएकी.. चिटिक्क,’ बाबाले म्वाइँ खाँदै अँगालो हालेर भन्नुभो, ‘कसले बनाइदियो यति राम्री ?’
बाबाको प्रशंसाले देवी फुरुक्कै पर्दै भनिन्, ‘फुपूले पाउडर लगाइदिनुभो अनि गाजल पनि । हेर्नु त बाबा, यो चुरा अस्ति फुपूले नै ल्याइदिनुभएको ।’
‘ल.. ल.. अब मन्दिर जाऔं, छोरी पनि तयारी भएकी छे,’ फुपूले देवीलाई सुम्सुम्याउँदै भन्नुभो ।
धैरै गहना लगाएको देखेर बाबाले मामुलाई सम्झाउन थाल्नुभयो, ‘मन्दिर जाँदा यत्तिका गहाना लगाउन हुन्न के... खोल । भीडभाडमा हराउँछ, चोरी हुन सक्छ ।’
‘ह्या... वर्षदिनको तीजमा पनि गहना लगाउन नपाउनु,’ गुनासो गर्दै मामुले केही गहना फुकालेर राख्नुभयो ।
०००
मन्दिरमा भीड थियो । उनीहरूले बाहिरबाटै भगवान्को दर्शन गर्ने योजना बनाएका थिए । तर देवीको मामुलाई मनले मानेन । उहाँले भन्नुभयो, ‘म त भित्रै गएर दर्शन गर्छु ।’ मामु र फुपू दुवैजना पूजा गर्ने लाइनमा बस्नुभयो ।
बाबाले देवीलाई मन्दिरवरिपरि घुमाउन थाल्नुभयो । देवी दङ्ग पर्दै बाबासँग घुम्न थालिन् । ठाउँठाउँमा पिउने पानी बाँडिरहेका थिए । कतै पसलमा मिठाई र सेल पकाइरहेको देखिन्थ्यो । त्यो देखेर मुख रसाए पनि व्रत बसेकाले देवीले बाबालाई कुनै माग राखिन, चुप लागिरहिन् ।
कति व्रतालुहरू कमजोरीले लडेका थिए । उनीहरूलाई स्वयंसेवकले लगिरहेका थिए । देवीले सोधी, ‘बाबा किन यी आन्टीहरूलाई के भएको ?’
‘भोको पेट भएर कमजोरीले बेहोस् भएको नानु । भोको बस्दा ग्यास्टिक हुन्छ, रिंगटा लाग्छ । कमजोर भइन्छ नि त,’ बाबाले बुझाउनुभयो ।
कतिपय महिलाहरू गहना हरायो भन्दै रोएको/चिच्याएको देखेर देवीलाई नरमाइलो लागिरहेको थियो । साना बच्चा भीडमा अभिभावक हराएकाले रोइरहेको पनि उनले देखिन् । उसलाई पनि डर लाग्यो । उसले बाबाको हात झनै बलियोसँग समाइन् ।
उनीहरू वरिपरि घुमेर मन्दिर अगाडि आइपुग्दा मामु र फुपू पनि पूजा सकेर बाहिर निस्किनुभएको थियो । दौडँदै मामुको हात समाइन् देवीले । आफूले देखेका कुरा सुनाइन् ।
मामुले सबैलाई टीका र प्रसाद लगाइदिनुभयो । खाने प्रसाद पनि हातमा राखिदिनुभयो । देवीले प्रसाद लिन मानिनन् । उनले भनिन्, ‘आज त व्रत, दिनभरि केही खानुहुन्न भनेको होइन ? म त प्रसाद पनि खान्नँ ।’
‘त्यसो भन्नुहुन्न । पूजापाठ सकिएपछि प्रसाद खानुहुन्छ । बरु भोको पेट बस्नु हुन्न । अघि ती आन्टीहरूजस्तै कमजोर भएर लडिन्छ, बुझ्यौ ?’ बाबाले सम्झाउनुभयो, ‘अझ फलफूल त व्रत बसेका बेलामै खानेकुरा हो । ल यो स्याउ र जुस खाऊ त, मामु, छोरी, फुपू सबैले ।’ मामु र फुपूले पनि बाबाको कुरा काट्न सक्नुभएन । सबैले फलफूल र जुस खाए । मन्दिरवरिपरि निकै रमाइलो थियो । जताततै गीत घन्किरहेको थियो । मानिस समूह–समूहमा नाचिरहेका थिए । देवी पनि तीजको गीतमा नाच्न थालिन् । बाबा, मामु र फुपूले ताली बजाउनुभयो ।

रेजिना पाण्डे

प्रकाशित : भाद्र ८, २०७६ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्