कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयन बल्ल खुसी भयो

कान्तिपुर संवाददाता

नयन रमाउँदै फुटबल खेल्न घरबाहिर निस्कँदै थियो  । तर मूल ढोका छेउमा पिँजडामा थुनेर राखेको सुगालाई देखेर उसको खुसी हरायो  ।

नयन बल्ल खुसी भयो

नयन रमाउँदै फुटबल खेल्न घरबाहिर निस्कँदै थियो । तर मूल ढोका छेउमा पिँजडामा थुनेर राखेको सुगालाई देखेर उसको खुसी हरायो । ऊ दुःखी भयो । नजिकै छिमेकीको घरमा उसले बाँधेर राखेको कुकुरलाई देख्यो । कुकुर भुकिरहेको थियो । बाटो छेउमा उसले गाईको बाच्छा र आमा गाईलाई देख्यो । बाच्छा आमालाई भेट्न जान दाम्लै चुडाउँलाझैं गरी कराइरहेको थियो ।


बाटोमा अलि अगाडि पाठोलाई लिएर एउटा मानिस गइरहेको थियो । पाठोलाई भेट्टाउन माउ बाख्री कराउँदै थियो । तर उसलाई डोरीले बाँधिएको थियो ।
अझै पर पुगेपछि नयनले देख्यो– एउटा भैंसीलाई किलामा बाँधेर राखिएको थियो । ऊ आफ्नो पाडी (बच्चा) भएको ठाउँमा जान कराइरहेको थियो ।त्योभन्दा अलि अगाडि कुखुरालाई खोरमा थुनेर राखिएको थियो । चल्ला र माउहरू टुलुटुलु नयनलाई हेरिरहेका थिए ।


ऊ झन् दुःखी भयो ।
बल्ल नयन फुटबल चौरमा पुग्यो । साथीसँग खेल्दै गर्दा उसले चौरको कुनामा हात्तीलाई खुट्टामा बाँधिरहेको देख्यो । हात्ती कराइरहेको थियो । अलि पर अर्को कुनामा हात्तीको बच्चा पनि कराइरहेको थियो ।
फुटबल खेलिसकेर फर्कंदै गर्दा उसले मुखबाट फिँज निकाल्दै गाडा तानिरहेको गोरुलाई देख्यो । अझ किसान गोरुलाई पिट्दै थियो ।
बाटोमा फेरि उसले पाडाले गाडा तानिरहेको देख्यो । पाडाले मुखभरि फिँज निकाल्दै सकिनसकी गाडा तानिरहेको थियो ।
अलि पर उसले खेत जोत्दै गरेको गोरुलाई देख्यो । त्यहाँ पनि किसानको हातमा लौरो थियो । ऊ पिट्दै गोरुलाई काम लगाइरहेको थियो । नयन झन्झन् दुःखी भयो ।


घर जाने घुमाउरो बाटोमा नयनले गाईको बाच्छी बेचेर पैसा गन्दै गरेको मान्छेलाई देख्यो । माउ गाईले त्यो बाच्छीलाई चाटिरहेको थियो ।
घर पुग्नै लाग्दा नयनले कुकुरको छाउरो बेच्दै गरेको मानिस भेट्यो । सिक्रीमा बाँधिएको माउ कुकुर भुकिरहेको थियो ।
त्यही छेउमा उसले पिँजडा नै बोकेर चराहरू बेच्न बसेको मान्छेलाई देख्यो । चराहरू पिँजडाभित्र चिरबिरचिरबिर गर्दै कराइरहेका थिए । नयन झन् दुःखी भयो ।
घरनेरको मूल बाटोमा घोडामा चढेर सेनाहरू आइरहेका थिए । एउटा बग्गी घोडाले तानेर ल्याइरहेको थियो । बग्गीमा बेहुलाबेहुली थिए । नयन यो देखेर पनि ऊ खुसी हुन सकेन । त्यसपछि नयन घरतिर दौडियो । उसको आँखामा अघि अगाडि देखेका सबै कुराका दृश्य झलझली नाचे । तर, ती सबै दृश्यमा जनावरको ठाउँमा उसले आफैं भएको कल्पना गर्‍यो ।


नयन घर पुगेर टक्क अडियो । उसको मन पीडाले पोलिरहेको थियो । उसले एकछिन टोलाएर पिँजडामा थुनिएको सुगालाई हेर्‍यो । अनि उसले पिँजडा खोलिदियो । सुगा भुर्र उड्यो । आकाशमा उडिरहेको सुगालाई देखेर नयन बल्ल खुसी भयो । रमायो ।
-कार्तिकेय

प्रकाशित : श्रावण १९, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?