कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किताबको जुलुस

कान्तिपुर संवाददाता

बाबु लुनिस, खाजा खान आऊ,’ खाजा तयार भएपछि आमाले लुनिसलाई बोलाउनुभयो  । तर लुनिस आएन, कुनै आवाज पनि आएन  ।

किताबको जुलुस

‘यत्रो बोलाउँदा पनि यसले किन नसुनेको ?’ आमा फतफताउँदै कोठामा जानुभयो । ‘ल, यो त यहाँ छैन त,’ कोठामा नदेखेर आमा कराउनुभयो, ‘हेर किताब पनि पलङमा छरपस्ट फालेर कहाँ गएको होला ? यसलाई आफ्नो किताबको मतलब नै छैन । यता फाल्यो, उता फाल्यो सब च्यातिसक्यो ।’


आमा किताब मिलाउन थाल्नुभयो ।दिन ढल्दै थियो । जब घाम डाँडामुनि लुक्यो तब लुनिस टुप्लुक्क घर आइपुग्यो । अनि आउनेबित्तिक्कै करायो, ‘आमा १ भोक लाग्यो ।’ ‘ए, भर्खरै भोक लाग्यो ? विद्यालयबाट फर्कनेबितिक्कै किताब फालेको छ । जतन गर्नुपर्दैन ?’ आमा कराउँदै भित्र गएर खाजा लिएर आउनुभयो, ‘लौ खाऊ ।’ लुनिस खाजा खान थाल्यो । खाजा खाएर कोठामा गयो र होमवर्क गर्न थाल्यो । उसले किताब पल्टायो तर पाना च्यातिएको रहेछ । ‘ल होमवर्क गर्ने पाना नै रहेनछ । अब कसरी होमवर्क गर्ने होला ?’ मनमनै यस्तो कुरा सोचेर ऊ आत्तियो, ‘भोलि फेरि कुखुरा बन्नुपर्ने भो ।’


नयाँ कक्षा सुरु भएको धेरै भएको छैन । तर लुनिसका किताबहरू पुरानाजस्तै भइसके । बीचको पाना पनि निस्किएको र च्यातिएको छ । आमाबुबाले किताबलाई जतन गर
भनेर कति सम्झाए तर उसले कहिल्यै टेरपुच्छर लाएन ।उसले आफूसँग रहेको पानाको मात्र होमवर्क गर्‍यो । होमवर्क गर्दागर्दै किताब छरपस्ट पारेर ऊ त्यहीँ भुसुक्क निदायो ।
राजु एक्लै थियो । तर त्यहाँ न घर थियो न त मानिसको कुनै चहलपहल नै । उसले त्यहाँ अचम्मको दृश्य देख्यो । पुस्तकहरू हातमा प्ले कार्ड बोकेर अगाडि बढिरहेका थिए । उनीहरूले नारा लगाइरहेका थिए । उनीहरूको लाम जुलुसमा परिणत भएको थियो र लुनिसको नजिक आइरहेका थिए । तिनीहरूले बोकेका प्ले कार्डमा ठुल्ठूला अक्षरमा लेखिएको थियो– ‘पुस्तकको सुरक्षा हुनैपर्छ’, ‘पुस्तक च्यात्न पाइँदैन’, ‘लुनिसलाई कारबाही हुनैपर्छ’, ‘सम्पूर्ण पुस्तक एक हौँ ।’


सारा पुस्तक एक भएर नाराबाजी गर्दै आइरहेको देखेर ऊ सार्‍है डरायो । त्यहाँबाट भाग्न खोज्यो । पुस्तकहरूले उनलाई लखेटे । ऊ एक्लै थियो । उसको निधारबाट चिटचिट पसिना आयो । चारैतिर पुस्तक नै पुस्तक थिए । उसले अब कुनै भाग्ने ठाउँ भेट्टाएन । पुस्तकहरू एकदम रिसाएका थिए । उनीहरू चिच्याए, ‘यसलाई धुलोपिठो पार्नुपर्छ ।’
लुनिस आत्तियो । ऊ बिस्तारै पुस्तकहरूको घेराभित्र परिसकेको थियो । उसलाई आफ्नो ज्यानको माया लाग्यो । उसले आँखाबाट बर्रर आँसु झार्‍यो । रुँदै हात जोड्यो र भन्यो, ‘पुस्तकहरू १ मलाई माफ गर । अबदेखि म तिमीहरूलाई च्यात्ने काम गर्दिनँ । तिमीहरूको हिफाजत गर्छु । तिमीहरूलाई फाल्दिनँ । एक पटकलाई माफ गर ।’
पुस्तकको भीडबाट एउटा पुस्तक करायो, ‘हुँदैन, हुँदैन । यसले हामीलाई धेरै दुःख दिएको छ । यसलाई त कडा कारबाही गर्नुपर्छ ।’
लुनिस रुँदै बिन्ती गरिरहेको थियो, ‘मलाई माफ गर । अबदेखि यस्तो काम गर्दिनँ । कुनै पुस्तक च्यात्दिनँ ।’
लुनिस निद्रामा एकनासले कराइरहेको थियो, ‘मलाई माफ गर । अबदेखि म किताब च्यात्दिनँ ।’
लुनिस कराएको सुनेर आमा दौड्दै भित्र पस्नुभयो र पाखुरा तानेर सोध्नुभयो, ‘बाबु, तिमीलाई के भो ? किन कराएको ?’
लुनिस निद्राबाट ब्युँझियो र आतिँदै भन्यो, ‘आमा १ मेरो किताब । अबदेखि म किताबलाई माया गर्छु ।’ लुनिसको कुरा सुनेर आमा छक्क पर्नुभयो । हतारहतार लुनिस छरपस्ट परेका आफ्ना किताब मिलाउन थाल्यो ।

श्यामकृष्ण खुलिमुली

प्रकाशित : श्रावण १२, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?