कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

को को भए ट्यालेन्ट ?

राजाराम पौडेल

स्टेजमा पुगेर दर्शकमाझ प्रस्तुति राख्न पाउँदा बालबालिका उत्साहित थिए  । दर्शकका रूपमा आफ्ना साथी र अभिभावकलाई पाएका थिए  ।

को को भए ट्यालेन्ट ?

आफ्नो बाबुनानीले आफ्नै आँखा अगाडि स्टेजमा उभिएर निर्धक्कका साथ हलमा भरिभराउ दर्शककाबीच प्रतिभा सुनाउँदा अभिभावक पनि हर्षित भए । कतिले खुसी थाम्न सकेनन् । आँसु नै खसाले । सबै एकैखाले थिएनन् । कोही गीत गाउने, केही फेरि नाच्ने, कोही बोल्ने, केही बाजा बजाउने । चित्र बनाउन रुचि राख्ने र अभिनय गर्न मन पराउनेसमेत थिए । प्रस्तुति दिनेमा ४ वर्षदेखि १४ वर्षसम्मका स्कुले बालबालिका थिए । कार्यक्रमको आयोजना जोजिजु म्युजिक सेन्टरले गरेको थियो ।


केही समयको सिकाइपश्चात् बालबालिकाले प्रतिभा देखाएका थिए । झन्डै ६० बालबालिका प्रस्तुति दिन जम्मा भएका थिए । उनीहरूको प्रतिभाबाहिर निकाल्न तालिम फलदायी बनेको अभिभावकको प्रतिक्रिया थियो । उनीहरूको प्रतिभा तिर्खान गोविन्द थापा, विनीत जोजिजु, सानु जोजिजु र राजु गुरुङले सहजीकरण गरे । त्यहाँ भेटिएकी १० वर्षकी सिलिका सिग्देलले नाच्न र गीत गाउन मनपर्ने बताइन् । भविष्यमा पत्रकार बन्ने लक्ष्य बनाएकी उनी सिक्न पाउँदा खुसी थिइन् । ८ वर्षकी सौरभी रेग्मीले डान्स, आर्ट, उद्घोषण, संगीत सिक्दा रमाइलो लाग्ने उनले बताइन् । भविष्यमा डाक्टर बन्ने बताउने उनमा नृत्यमा बढी रुचि छ । आहाना यादव ७ वर्षकी भइन् । डाक्टर बन्ने लक्ष्य राखेकी उनलाई चित्र बनाउन मनपर्छ । यसका अलावा नृत्य र गायनमा रुचि भएकाले सिक्न पाउँदा राम्रो लागेको उनले बताइन् ।


साकृत शेरचन ११ वर्षका भए । गायक बन्ने लक्ष्य उनको हो । खेलकुदतर्फ समेत रुचि राख्छन् । ४ वर्षका तेजस यादव पनि भेटिए । आर्ट गर्न मन पराउने ८ वर्षकी निष्ठा त्रिपाठीलाई नृत्यतर्फ समेत मोह छ । प्रोफेसर बन्ने लक्ष्य उनको छ । १० वर्षकी सुविज्ञा तिवारीलाई नाच्न मनपर्छ । डाक्टर बन्ने लक्ष्य बुनेकी उनलाई नियमित बाबाले लाने लैजाने गर्छन् । ६ वर्षकी समीक्षा बस्यालको रुचि नाच्न र गाउनमा छ । कम्प्युटर इन्जिनियर बन्ने उनको उद्देश्य छ । सुयोग वाग्लेलाई चित्र बनाउन मनपर्छ उनी ९ वर्षका भए ।


११ वर्षका निर्भानप्रसाद कर्माचार्यलाई गीत गाउन गीतार बजाउन औधि मनपर्छ । गितारिस्ट बन्ने उनको लक्ष्य छ । ८ वर्षकी तेजिना गुरुङलाई नृत्यमा रुचि छ । भविष्यको लक्ष्य डाक्टर बन्ने हो । कलाकार बन्ने लक्ष्य भएको बताउने १२ वर्षकी रञ्जना खड्काले नयाँ कुरा सिक्न र प्रस्तुति राख्न पाउादा खुशी लागेको बताइन् । सबै प्रतिभलाई मञ्च प्रदान गरी उनीहरूको प्रतिभा बाहिर ल्याउन तथा उनीहरूमा सकारात्मक कुराको सञ्चार गर्न कार्यक्रम गरिएको आयोजकले बताए ।

प्रकाशित : वैशाख १५, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?