कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुट्टीमा लनटेनिस

काठमाडौँ — अन्तिम परीक्षापछि स्कुल छुट्टी  । छुट्टीमा तिमीले के गर्‍यौ ? बुटवलका बालबालिकाले भने लनटेनिस सिके  ।

छुट्टीमा लनटेनिस

यसअघि पनि सिकेकाहरू र विल्कुल नयाँ साथीहरू । दुवै खाले मिलेर लनटेनिस खेले । बिहान र साँझ समूहमा जम्मा भए । प्रशिक्षकले खेलको नीति र विधि सिकाए । खेल्न पाउँदा बालबालिका धेरै खुसी भए । खुसी मात्रै होइन, भविष्यमा खेलाडी बन्ने सपनासमेत उनीहरूले लिएका छन् ।


तिनैमध्येका हुन्– बुटवलका रितेश ज्ञवाली । होराइजन आवासीय माविबाट कक्षा ५ को परीक्षा दिएपछि छुट्टीको समय सदुपयोग गर्दै उनी लनटेनिस खेल्न आएका थिए । ‘बिहान साढे ५ बजे खेल मैदानमा जान्छौं, ८/९ बजेसम्म खेल्छौं,’ रितेशले भने, ‘साँझ पनि ४ बजेदेखि ७ बजेसम्म खेल सिक्छौं ।’ रितेशले स्कुल चल्ने दिनमा पनि समय मिलाएर लनटेनिस खेल्ने बताए । ‘रमाइलो लाग्यो,’ उनले भने, ‘अब यसका प्रतियोगितामा पनि भाग लिन्छु ।’ बुटवलकै प्रीति गौतमले पनि छुट्टीको सदुपयोग गर्दै लनटेनिस सिकिन् । ‘खेल्दा शारीरिक अभ्यास भएको छ । आफूजस्तै साथीसँग खेल्न पाउँदा मनोरञ्जन पनि भएको छ । यो पटकको छुट्टी रमाइलो भयो,’ प्रीतिले भनिन् । उनले खेलका नियम जानेकी छन् । अब स्कुल चल्दा पनि केही समय बचाएर लनटेनिस खेल्ने उनले बताइन् ।


खेलप्रति आकर्षण बढाउन भन्दै बुटवल लनटेनिस क्लबले वर्षभरि नै बालबालिकालाई लन टेनिस सिकाउने गरेको छ । यो पटक स्कुल छुट्टीको अवसर पारेर काठमाडौंबाटै प्रशिक्षक ल्याएर निःशुल्क प्रशिक्षण दिएको हो । त्यस क्रममा आधारभूत खेलमा प्रयोग हुने र्‍याकेट, बल, कोर्ट लगायतबारे जानकारी दिइयो । खेल्ने कला कौशल र नियमबारे सिकाइयो । बालबालिकालाई समूहमा विभाजन गरिएको थियो । एक समूहले ५ दिन प्रशिक्षण लिए । यसपछि अर्कोले पालो पाए । पहिलो चरणको प्रशिक्षणमा ३ दर्जन बालबालिका सहभागी भए । दोस्रोमा पनि त्यति नै थिए । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले साना खेलाडी उत्पादन गर्न प्रशिक्षण चलाएको बताए । ‘अरू बेला बुटवलकै प्रशिक्षकबाट थोरै समय तालिम दिन्थ्यौं,’ उनले भने, ‘स्कुल छुट्टी भएकाले अहिले राष्ट्रिय प्रशिक्षक नै ल्याएका हौं ।’


प्रशिक्षण दिन काठमाडौंबाट राष्ट्रिय लनटेनिसका प्रशिक्षक जितेन्द्र परियार आएका थिए । उनले निकै चाख लाग्नेगरी खेलका नियम र कलाबारे सिकाए । बालबालिकाले पनि निकै चाख दिएर सिके । प्रशिक्षक परियारले यहाँका बालबालिकामा लनटेनिसप्रति धेरै रुचि र खुबी देखेको बताए । ‘अभ्यास गर्दै गए राष्ट्रिय खेलाडी बन्न सक्छन्,’ उनले भने । तर त्यसका लागि पढाइ छोड्नु हुँदैन । पढाइका बेला गृहकार्य सकेपछि केही समय मात्र खेल्न उनले सुझाव दिए । बुटवलका साना साथीले यसअघि पनि राष्ट्रिय खेलमा सहभागी भएका छन् । गत वर्ष ८ वर्षमुनिकोमा राष्ट्रिय लन टेनिसमा ब्रिजेस अर्याल च्याम्पियन भएका थिए । यमन राना सेकेन्ड र योगेश ज्ञवाली थर्ड भएका थिए । १० वर्षमुनिकोमा रितेश ज्ञवाली थर्ड भएका थिए ।
शब्द/तस्बिर ः अमृता अनमोल

प्रकाशित : वैशाख ८, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?