कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दरबारमा दुई घण्टा

काठमाडौँ — जाडो बिदाको सदुपयोग गर्दै पुस २० गते म दिदीहरू आस्था र अपेक्षासँग नारायणहिटी दरबार संग्रहालयको अवलोकन गर्न गएँ ।

दरबारमा दुई घण्टा

हामी तीनैजना नारायणहिटी दरबार संग्रहालयमा पहिलो पटक गएका थियौँ । हामीलाई नारायणहिटी दरबार कहाँ पर्छ भन्ने पनि थाहा थिएन । हामी गौशालाबाट बसमा चढेर घण्टाघरको छेउमा ओर्लियौँ । त्यहाँ एकजना मान्छेसँग अपेक्षा दिदीले नारायणहिटी दरबार कहाँ पर्छ भनेर सोध्नुभयो । त्यो मान्छेले औँलाले दरबार देखाएपछि हामी सरासर त्यता लाग्यौँ ।


दरबार प्रवेश गर्ने ठूलो गेट रहेछ । त्यहाँ टिकट किनेर हामी भित्र प्रवेश ग‍र्‍यौँ । कुनै समय राजा बसेको घर कस्तो होला, कोठाहरू कस्ता होलान्, भान्साकोठा कस्तो होला जस्ता कुराको कौतुहल मनमा दौडिरहेको थियो ।


दरबार मैले सोचेभन्दा विशाल रहेछ । बाहिरबाट हेर्दा त अग्लो टावरजस्तो देखिए पनि भित्र पसेपछि आकर्षक र फराकिलो चौरको बीचमा पो रहेछ दरबार त । वरिपरि ठूलाठूला रूखहरू थिए । फराकिलो बाटोबाट हामी पंक्तिबद्ध भएर दरबारभित्र पस्यौँ ।


दरबारभित्र विभिन्न कोठाहरू रहेछन् जहाँ पूर्व राजपरिवारका सदस्यहरू रहने गर्दथे । ती कोठाहरूको नाम देखेर म आश्चर्यचकित भएँ । किनकि कोठाका नाम नेपालका जिल्लाको नाम जस्तै थिए । कास्की, जमजुङ, डोल्पा, धनुषा, गोरखा, तनहुँजस्ता नाम राखिएका रहेछन् । जिल्लाका नामबाटै दरबारभित्रका कोठाका नाम किन राखिएको होला भन्ने कुरा मैले थाहा पाउन सकिनँ । ती कोठाहरू विदेशी पाहुना आउँदा भेट गर्ने ठाउँ, राजपरिवारका सदस्यहरूको बैठककक्ष, राजारानीका निजी कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साकोठा, पाहुना सत्कार कोठाका रूपमा प्रयोग भएका रहेछन् ।


रानीको शृंगार कोठा र राजाको अध्ययन कोठामा हामीले निकै समय बितायौँ । त्यहाँका हरेक कुराहरू मूल्यवान् थिए । अत्यन्त व्यवस्थित र सुसज्जित कोठाहरू हेर्दा मनै फुरुङ्ग भयो । दरबारभित्र पुराना पुराना वस्तुहरू पनि संग्रह गरिएका रहेछन् । राजारानीले प्रयोग गरेका विभिन्न निजी सामानसँगै नेपालका मूल्यवान् वस्तुहरू पनि सजाएर राखिएको थियो । त्यहाँ राजाले पढेका पुस्तक र उनले प्रयोग गरेका कलम सजाएर राखिएको टेबुल र र्‍याक थियो । अर्को कोठामा राजारानी विदेश भ्रमणमा जाँदा पाएका उपहार र विदेशी पाहुना नेपाल आउँदा दिएका उपहारहरू पनि त्यहाँ सजाएर राखिएका थिए । सुसज्जित पलङ, टेबुल, कुर्सीसँगै आकर्षक बत्तीहरूले कोठालाई अलौकिक बनाएका थिए । फराकिलो भ‍र्‍याङ चढेर माथिल्लो तलामा गएपछि हामीले राजारानीको सिंहासन र श्रीपेच देख्यौँ । ओहो, किताबमा फोटो मात्र देखेकी मैले साँच्चै राजा बस्ने सिंहासन र शिरमा लगाउने श्रीपेच देखेर दङ्ग प‍रेँ । दरबारभित्र एउटा अनौठो सिसाको पर्दा रहेछ । त्यो सिसाको पर्दाको बाहिरबाट हेर्दा भित्र छयाङ्ग देखिँदो रहेछ तर भित्रबाट हेर्दा बाहिर नदेखिने आफ्नै अनुहार पो देखिँदो रहेछ ।


दरबार घुमिसकेर हामी अर्कोपट्टिबाट बाहिर निस्कियौँ । त्यहाँ पुग्दा सबैभन्दा नरमाइलो लाग्यो । त्यहाँ राजा वीरेन्द्रको परिवारलाई मारिएको भवन रहेछ तर त्यो भवन भत्काइएको रहेछ । पर्खालमा कतैकतै गोलीका निसानीहरू रहेछन् । स–साना बोर्डमा लेखेर राखेको सूचना पढ्दै हामीले ती ठाउँ नियाल्यौँ । राजपरिवारको हत्या भएको त्रिभुवन सदन नभत्काएको भए त्यसको अझै महत्त्व हुने थियो जस्तो लाग्यो । दरबारको उत्तरपट्टि पनि फराकिलो चौर रहेछ । त्यहाँ कलात्मक सानो पोखरी र रूख थिए । विभिन्न प्रकारका फूलहरू फुलिरहेको बगैँचा साँच्चै लोभलाग्दो थियो । रूखमा चराचुरुंगीको आवाज गुन्जिरहेको थियो । घुमेर आउँदै गर्दा हामी त बाहिर निस्कने ढोका नजिकै पो आइपुगेछौँ । बिदाको समयमा लगभग हामीले दुई घण्टा राजदरबारमा बितायौँ । त्यहाँ अवलोकन गर्दा मैले नेपालको इतिहास, संस्कृति, भूगोल र समाजका बारेमा जान्ने मौका पनि पाएँ ।


अमूल्य आचार्य, कक्षा–६

सेन्ट मेरिज माध्यमिक विद्यालय, जावलाखेल


प्रकाशित : माघ १३, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?