लेकका हामी केटाकेटी
काठमाडौँ — तेम्बाथान सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा विकट गाउँमा पर्छ ।
यो ठाउँ पुग्न सदरमुकाम चौताराबाट दुई दिन लाग्छ । जुगल गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने तेम्बाथानमा अहिले निकै चिसो छ । नजिकै हिमाल देखिन्छन् । कुनै वर्ष हिउँ पर्छ । कुनै वर्ष पर्दैन । बिहान उठ्दा पानी जमेर हिउँ बनेको हुन्छ । गाउँमा अधिकांशले चौंरी पालेका छन् । चौंरीबाट घ्यू र छुर्पी बनाएर बिक्री गरिन्छ । बालबालिकाहरू कतै चौंरीसँग रमाईरहेका त कतै गोठालो हिँडिरहेका भेटिन्छन् ।
चिसोले गर्दा सबैका गाला राता देखिन्छन् । गाउँमा एउटा मात्र विद्यालय छ । त्यो पनि कक्षा ५ सम्म मात्र पढाइ हुने । ८ सम्म पढ्न जान ५ घण्टा हिँड्नुपर्छ । मावि पढ्न जान त एक दिन पूरै हिँड्नुपर्छ । धेरै हिँड्नुपर्ने भएकाले ५ पढेर छाड्नेहरू धेरै छन् । गाउँको विद्यालय भिरालो ठाउँमा छ । लड्ने खतरा बढी छ । अहिले चिसो भएकाले अँगेनोको छेउमा बस्न साना बालबालिकाबीच प्रतिस्पर्धा नै चल्छ ।
बाटो हिँड्दा ससाना साथीहरू दाउराको भारी बोकेर आमाबुवालाई सघाइहेका भेटिन्छन् । कोही चिसोले गर्दा हात मुख नै नधोई विद्यालय जाँदै गरेका भेटिन्छन् । गाउँको तेम्बाथान आधारभूत विद्यालयमा म्याट ओछयाएर पढ्न बस्नुपर्छ । भूकम्पले भत्किएको विद्यालय अहिले बनाइँदै छ । त्यसैले पढाइ टहरोमा हुन्छ ।
आफ्नो भाषा राम्रो बोल्न जान्दछन् । आफ्नै भाषामा गीत गाउँछन् । आमाबुवा मेलापातमा जाँदा प्राय: उनीहरू पनि साथै जान्छन् । ‘सानै उमेरमा ठूलो काम गर्ने बालबालिका गाउँमा धेरै छन्,’ तेम्बाथान आधारभूत विद्यालयका प्रधानाध्यापक युवराज शर्मा भन्छन्, ‘त्यही भएर अभिभावक छोराछोरीलाई घर जिम्मा लगाएर सहर पुगी फर्कन्छन् ।’ विकटमा भएकाले दु:ख धेरै गर्नुपर्ने बाध्यता छ ।
यो गाउँमा स्वास्थ्य चौकी छैन । साना बालबालिका बिरामी परे धामीझाँक्रीको भर पर्नुपर्ने बाध्यता छ । स्वास्थ्य चौकी जान एक दिनभन्दा बढी लाग्छ । साना नानीहरूले पोलियो थोपा खान पाएका छैनन् । ९ महिनासम्म लगाउनुपर्ने सुई लाउन पाएका छैनन् । थोरै अभिभावकले मात्र भीरको बाटो हुँदै खोप लगाउन स्वास्थ्य चौकी पुर्याउँछन् । ‘हाम्रो गाउँमा स्वास्थ्य चौकी छैन, उपचार गर्न पाइँदैन,’ कक्षा ५ मा अध्ययनतर छिरिङ शेर्पा भन्छन्, ‘त्यसैले मलाई डाक्टर पढेर गाउँमा हस्पिटल खोल्न मन छ । बिरामीको उपचार गर्न मन छ ।’