कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गल्ली ब्वाईको ताकत

मुम्बईको अँध्यारो गल्लीमा हुर्किएको र्‍यापरको कथा आइतबार भएको प्रतिष्ठित फिल्मफेयर अवार्डको १३ विधामा कसरी उत्कृष्ट भयो त ?

समीक्षकमाथि आरोप लागेको थियो– ‘गल्ली ब्वाई’ को चाहिनेभन्दा बढी गुनगान गाइयो । समीक्षकले पनि एकै स्वरमा जवाफ फर्कार्एका थिए– बलिउडको मूलधार मसालेदार सूत्रले ग्रस्त छ । त्यो हूलमा रणवीर सिंह, आलिया भट्टजस्ता ठूला स्टारलाई लिएर भुइँमान्छेको कथा उनीहरूकै भाषामा भन्नु साहस हो । त्यसैले यस्ता फिल्मको लिगेसी निर्माण गर्नु आवश्यक हुन्छ । 

गल्ली ब्वाईको ताकत

सायद यस्तै केही सोचेर हुनुपर्छ, फिल्मफेयर अवार्डका निर्णायकले ‘गल्ली ब्वाई’ लाई बढ्तै माया गरेका छन् । फिल्मफेयरको ६५ औं संस्करणमा गल्ली ब्वाई १३ विधामा उत्कृष्ट ठहरियो । अर्थात् यसले कुन अवार्ड पायो होइन, कुन पाएन भन्नुपर्ने भएको छ । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सह–अभिनेता, सह–अभिनेत्री, पटकथाजस्ता मुख्य सबै विधामा कब्जा गर्‍यो । यससँगै फिल्मफेयरको इतिहासमा सर्वाधिक अवार्ड चुम्ने रेकर्ड बनेको छ । सञ्जयलीला भन्सालीको ‘ब्ल्याक’ ले १४ वर्ष अगाडि राखेको ११ विधाको अवार्डको कीर्तिमान यसले तोडेको हो ।


भारतमा अनेकौं फिल्म अवार्ड हुन्छन्, त्यसमध्ये फिल्मफेयरको बेग्लै सान छ । तर, ‘गल्ली ब्वाई’ ले ‘क्लीन स्वीप’ गरेसँगै विवाद पनि निम्तियो । फिल्मफेयरमाथि अवार्ड बेचेको आरोप लागेको छ । बलिउडका ठूला हस्तीले यसबारे प्रतिक्रिया दिएका छैनन् । किनबेच भएको हो/होइन, आयोजक वा फिल्म युनिटलाई नै थाहा होला । तर, ‘गल्ली ब्वाई’ यो हदसम्मको सम्मानका लागि लायक रहेकोमा चाहिँ शंका छैन । उहीमाथि भन्याजस्तै यो एउटा ‘ट्रेन्ड सेटर्स’ फिल्म हो । र, यसले बलिउडको फिल्म मेकिङ शैलीमात्र होइन, वर्गीय विभेदलाई प्रश्रय दिइरहेको भारतीय राज्य व्यवस्थामाथि आक्रोश पोखेको छ, गल्लीको एउटा र्‍यापरमार्फत ।


नेपाली फिल्मकर्मी बलिउडबाट धेरै कुरा सिक्छन्, चोर्छन् पनि तर जे सिक्नुपर्ने हो, त्यो अक्सर सिक्दैनन् । आइटम डान्स, रोमान्स, फाइट र रोनाधाना नै सर्वोपरि ठान्ने फिल्मकर्मीको बाहुल्य छ यहाँ ।

यो सफलताको पहिलो हकदार हुन्, निर्देशक जोया अख्तर । फिल्म हेरेपछि थाहा हुन्छ, जोयाका लागि सिनेमा मनोरञ्जनात्मक उत्पादन होइन, सामाजिक अव्यवस्थाप्रति खरो सवाल गर्ने माध्यम हो । यसको पटकथा जोया र रीमा काग्ती मिलेर लेखेका हुन् ।


त्यसो त ‘गल्ली ब्वाई’ जोयाको कोरा काल्पनिक कथा होइन, दुई स्ट्रिट र्‍यापर डिभाइन र नाजीको जीवनसँग निकै नजिक छ । अभावलाई चिर्दै चम्किएका यी र्‍यापरको सामाजिक सञ्जालमा ठूलो फयान फलोइङ छ । चरित्रमा आफूलाई रूपान्तरण गर्न रणवीर सिंहले डिभाइन र नाजीसँगै मुम्बईका अन्डरग्राउन्ड र्‍यापरसँग लामो संगत गरेका थिए । यसको भिडियो फुटेज युट्युबमा प्रशस्त भेटिन्छ । त्यो मिहिनेत पर्दामा देखिन्छ पनि ।


फिल्ममा मुरद अहमद अर्थात् रणवीरका बाबु ड्राइभर छन्, चरम गरिबीबाट गुज्रिएकाले छोरा पनि आफूजस्तै काममा लागोस् भन्ने चाह राख्छन् । तर, मुरदले र्‍याप गाउन थालेपछि घरमा तनाव बढ्छ । बाबु–छोराको यही टकरावलाई केन्द्रमा राखेर जोयाले जातीय र वर्गीय असमानतामाथि कटाक्ष गरेकी छन् । विपन्नताले कतिसम्म दबाएको छ भने सपना देख्न र संघर्ष गर्नसमेत छुट छैन । झन्डै आफ्नो उमेरकी सौतेनी आमासँगको मुरदको सम्बन्धलाई जोयाले बडो संवेदनशील ढंगले व्यक्त गरेकी छन् ।


र्‍याप आफैंमा विद्रोहको संगीत हो । चर्को स्वरमा आक्रोश ओकलिन्छ । मुरद अहमदले आफूलाई अभिव्यक्त गर्न यही बाटो रोज्छ । उनलाई बिथोल्ने पात्र अनेक छन् तर यहीबीच प्रेरणा दिन आइपुग्छन्, र्‍यापमा धेरथोर नाम कमाइसकेका एमसी शेर (सिद्धान्त चतुर्वेदी) । उनी आफैं पनि अभावबाट पिल्सिएका हुन्छन् । रमाइलो तथ्यचाहिँ फिल्मभित्र सिद्धान्त रणवीरको ‘मेन्टर’ थिए, बाहिर ठ्याक्कै उल्टो । सिद्धान्तले रणवीरलाई टक्कर दिएका छन् । कतिले त सिद्धान्त नै स्वाभाविक देखिएको दाबी गरेका छन् । जबकि सुटिङ सुरु हुनु महिना दिन अगाडिमात्र उनी ‘गल्ली ब्वाई’ मा जोडिएका थिए । तर, पर्दामा एक्टर होइन, खाँटी र्‍यापर लाग्छन् । यतिबेला उनी ‘बन्टी और बब्ली २’ मा व्यस्त छन् ।


नेपाली फिल्मकर्मी बलिउडबाट धेरै कुरा सिक्छन्, चोर्छन् पनि तर जे सिक्नुपर्ने हो, त्यो अक्सर सिक्दैनन् । आइटम डान्स, रोमान्स, फाइट र रोनाधाना नै सर्वोपरि ठान्ने फिल्मकर्मीको बाहुल्य छ यहाँ । सानो पात्रको कथा ठूलो क्यानभासमा भन्ने आँट गर्दैनन्, जसरी ‘गल्ली ब्वाई’ ले भन्यो । यस्ता हेपिएका चरित्रले हाम्रो मूलधारका फिल्ममा मुख्य भूमिका पाउँदैनन्, पाइहाले पनि त्यसलाई जीवन्त बनाउन मिहिनेत गरिन्न । पात्र उभ्याइदिए पुग्छ भन्ने भ्रम छ । फेरि अचेल हामी फिल्मका लागि ‘कला’ ठूलो कि ‘व्यापार’ भनेर अलमलिरहेका छौं । तर, सिनेमा सशक्त हुने हो भने प्रशंसा र पैसा एकसाथ आर्जन हुन सक्छ भन्ने प्रमाण ‘गल्ली ब्वाई’ नै हो । यो फिल्मले भारतको घरेलु बजारमा भारु २३८ करोड ग्रस संकलन गर्‍यो, जबकि यसको लगानी ४० करोडमात्र थियो । अवार्डको वर्षात् त फिल्मफेयरबाट सुरु भइहाल्यो ।

प्रकाशित : फाल्गुन ९, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?