कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहादुर मुस्टेन

मेटालिकामा अधिकांश समय ओझेलमा जस्तै रहेका मुस्टेन मेघाडेथका भने फ्रन्टम्यान भए । यो ब्यान्ड पनि कम्तीको रहेन । मेटालिकाको छेउछाउमै रहेर लोकप्रिय रहे ।
हिमेश

मेटालिका मन पराउनेका लागि डेव मुस्टेन पनि उत्तिकै मन पर्छ अथवा पर्दैन ? मेटालिकाको डाइहार्ड फ्यान हो भने सायद मुस्टेनको नाम लिनेबित्तिकै मुख बिगार्ने पनि होलान्  । ‘हेट’ को सम्बन्ध छ भनिन्छ, यो ब्यान्ड र ती प्रतिभाशाली गितारिस्टबीच  ।

बहादुर मुस्टेन

खासमा मेटालिकाका सुरुआती लिड गितारिस्ट हुन्, उनी । धेरै अगाडि कुनै एक दिन लार्स उलरिचले पत्रिकामा विज्ञापन छपाएका थिए, गितारिस्ट चाहियो भनेर । त्यही विज्ञापन हेरेर उनी उलरिचलाई भेट्न गए र काम पनि पाए ।
तर उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन, किनभने मुस्टेन बेफिक्री पाराका थिए, पिउने भनेपछि एक पाइला अगाडि सर्थे । खास बेपत्ता पिउँथे । समस्या सुरु गर्थे । यसले ब्यान्डको काममा पनि गाह्रो हुन थालेपछि उनी बर्खास्तीमा परे । पछि मुस्टेनले अर्को अमेरिकी हेभिमेटल ब्यान्ड ‘मेघाडेथ’ बनाए । मेटालिकामा अधिकांश समय ओझेलमा जस्तै रहेका मुस्टेन मेघाडेथका भने फ्रन्टम्यान भए । यो ब्यान्ड पनि कम्तीको रहेन । मेटालिकाको छेउछाउमै रहेर लोकप्रिय रहे ।
अझै पनि भनिन्छ, थ्रायस मेटलको चार प्रमुख ब्यान्डमा त्यही मेटालिकासँगै एन्थ्राक्स, स्लेयर र यही मेघाडेथ पर्छ । जत्तिकै ‘लेभ एन्ड हेट’ को सम्बन्ध रहेपछि मेटालिका
फ्यानलाई पनि चिन्ता हुँदो हो, मुस्टेनको स्वास्थ्य स्थितिबारे । अहिले यी अमेरिकी संगीतकर्मी आफ्नो जन्मभूमि एल एन्जेलसमा आराम गर्दै छन् र ब्यान्डको अधिकांश टुर पछिल्लो समय रद्द गरिएका छन् । खासमा उनलाई सन्चो छैन र उनी क्यान्सरबाट मुक्त हुन उपचारबाट गुज्रिरहेका छन् ।
त्यसैले अहिले पश्चिमेली संगीत मन पराउने सबैले उनको स्वास्थ्यमा सुधारको कामना गरिरहेका छन् । मुस्टेन स्वयं पनि कम बहादुर छैनन्, उनले हालै मात्र केही अमेरिकी मिडियालाई अन्तर्वार्ता दिएका छन् र भनेका छन्, ‘म यो रोगबाट हार खाने मान्छे होइन ।’ त्यसै पनि मुस्टेन चुपचाप बसिरहनुपर्ने खालका मान्छे नै होइनन्, उनले केही बढी गरे भने त त्यसले विवादको रूप लिइहाल्छ । अहिले भने उनी वास्तवमै चुपचाप छन् ।
सन् २०१९ को सुरुमा नयाँ एल्बमका लागि काम सुरु गर्ने बेला उनलाई आफ्नो प्रतिकूल स्वास्थ्य स्थितिबारे थाहा पाए र सबै काम छाडेर उपचारमै लागे । उनले भनेका छन्, ‘मेरो पहिलो चरणको उपचार सकिएको छ र अहिले मैले आफैंले आफैंलाई बलियो महसुस गरिरहेको छु । मलाई काममा कहिले फर्कने हो भनेर हतारो भइरहेको छ ।’ सुरुमा आफूलाई लागेको रोगलाई सुनेर उनी पनि केही आत्तिएका थिए तर उही पुरानै पाराले उनले त्यही रोगलाई नै सबैभन्दा बढी गाली गरे । सरापे पनि ।
उनलाई खुसी केमा पनि छ भने आफूलाई रोग लागेको थाहा पाएपछि चाँडै निको होस् भनेर प्रार्थना गर्नेहरू पनि यही संगीत क्षेत्रमा रहेछन् । त्यसमा भने उनलाई गर्व पनि छ । उनलाई लागेको थियो, आफू युवा छँदाजस्तो बदमासीको जीवन बिताएको थियो, त्यो आधारमा त उनलाई गाली गर्नुपर्ने पो हुनुपर्थ्यो । तर खुसी के भन्दा मुस्टेनको गितारबाट निस्केको धुन मन पराउने पनि उत्तिकै छन् । मेटालिकामा छँदा बिताएका मीठा पललाई सम्झेर माया गर्ने पनि छन् ।
यी सबै कारणले पनि मुस्टेन सकारात्मक भएका हुन् । सुरुआती दिनमा उनी आफ्नो परिवारलाई लिएर पनि उत्तिकै उदासीको व्यवहार गर्थे । अहिले उनलाई बिसन्चो हुँदा सबैभन्दा माया र सहयोग गर्ने त यही परिवार रहेछ । मुस्टेनले ५८ वर्षको उमेरमा आएर यो पनि राम्रोसँग बुझेका छन् । तय छ, उनी चाँडै निको हुनेछन् र फेरि एल्बमको काममा लागिहाल्नेछन् । अबका दिनमा उनी फेरिएका पनि हुनेछन् । अब यी बहादुर संगीतकर्मीबाट अझ राम्रा सिर्जना सुन्न पाइनेछ ।

प्रकाशित : मंसिर २७, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?