माछाको ५२ परिकार

अर्जुन राजवंशी

अर्डर लिँदा वेटरको प्रश्न हुन्छ, मटन कि चिकेन ? तर, बिर्तामोडस्थित हेभन वाटर पार्कमा वेटरलाई प्रश्न गर्ने अवसर छैन  । मेन्यु ननभेज नै हो तर, मटन र चिकेनको होइन, माछाको  ।

माछाको ५२ परिकार

अर्डर लिँदा वेटरको प्रश्न हुन्छ, मटन कि चिकेन ? तर, बिर्तामोडस्थित हेभन वाटर पार्कमा वेटरलाई प्रश्न गर्ने अवसर छैन । मेन्यु ननभेज नै हो तर, मटन र चिकेनको होइन, माछाको ।

पोखरीको डिलमा बसेर यहाँ माछाको ५२ प्रकारको स्वाद लिन पाइन्छ । ग्राहकलाई अर्डरअनुसारको स्वाद उपलब्ध हुन्छ, यहाँका १२ वटा पोखरीबाट निकालेका ताजा माछाको । माछा खान डराउनु पर्दैन । अधिकांश परिकार ‘बोनलेस’ हुन्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मले निर्धक्कसँग खान्छन् ।

‘ग्राहकलाई ताजा र अर्गानिक माछाको परिकार खुवाउन पोखरीको डिलमै रेस्टुराँ बनाएका हौं,’ पार्कका प्रबन्ध निर्देशक नेपाल रत्न सिवाकोटीले भने । एक दशकअघिसम्म झापामा माछा खानेमा आदिवासीको बाहुल्य थियो । धेरैले ‘काँडा’ को डरले माछा अत्यन्त कम खान्थे । परिकार बनाउने ज्ञानको पनि कमी थियो । ‘फर्मालिन’ हालेका माछा हप्तौंपछि भारतबाट ल्याइने भएकाले माछाप्रति मोह बढेको थिएन । त्यसैको अभाव पूर्ति गर्न डेढ वर्षयता हेभन पार्क खुलेको हो ।

यहाँ दैनिक करिब एक सय केजी माछाको विभिन्न परिकार बिक्री हुन्छन् । धेरै रुचाएका परिकार हुन्, फिस चिल्ली, फिस मःम, लेमन फिस । फिस चिल्ली बोनलेस हुन्छ । अर्डरअनुसार स्पाइसी वा बिनापिरो बनाइन्छ । बालबालिका लिएर आउने अभिभावकको पहिलो रोजाइको खाजा हो यो । लेमन फिस पनि बोनलेस नै हुन्छ । अमिलो हालेर बनाइएकाले ‘खट्टामीठा’ स्वादको हुन्छ । यो परिकार स्न्याक्सका रूपमा बढी चलेको रेस्टुराँका सेफ पुजन खरेलले बताए ।

स्वस्थकर रोज्नेले ‘होल फिस स्टिम’ मन पराउँछन् । एउटा पूरै माछालाई बाफमा मात्र पकाइन्छ । यसमा तेल र मसलाको प्रयोग गरिँदैन । त्यस्तै, ६ सय ग्रामको एउटा पूरै माछालाई ‘होल फिस फ्राई’ का रूपमा पकाइन्छ । ग्राहकले ‘तावा फिस’ पनि निकै रुचाउँछन् । यसमा सानो माछालाई बीच भागबाट चिरिन्छ । तावामा राखेर चिरिएकै माछाबाट निस्किने तेलमा पकाइन्छ । माछाको स्पेसल परिकार बनाउन भारत र दुबईका होटलमा लामो समयदेखि काम गरेका तीन जना सेफहरू रेस्टुराँमा कार्यरत छन् ।

यहाँ माछाको इन्डियन स्पेसल करी, नुडल्स, हेड सुप, सेकुवा, मःम, पकोडा, मन्चुरियन, तन्दुरी, साँदेको, हङकङ फिस, फिस फिङ्गर, क्रिस्पी फिस, फिस गार्लिक, फिस जिन्जर, फिस सिक्स्टीफाइभ, हनी फिस, फिस स्वीट एन्ड सोवर, फिस ड्राई फ्री, फिस सल्ट एन्ड पेपर, फिस बल विथ हट एन्ड गार्लिक सस, हेवन स्पेसल फिस, फिस करी, फिस मसला, फिस कडाईं, फिस हन्डी, फिस कासा, फिस कोलापुरी, फिस डोपायाजा, फिस अफघानी, फिस चटपटी, फिस पेपर मसला, फिस स्टिम मसला, फिस लन्च डिनर सेटलगायत परिकार तयार गरिन्छ । यी परिकारहरू ‘पंघास’ माछाका हुन्छन् ।

बिर्तामोड नगरपालिका २ मा १६ बिघामा बनाइएका १२ वटा पोखरीमा अर्गानिक माछा पालन गरिएको सिवाकोटीले बताए । ‘हामीले अर्गानिक र ताजा माछाको परिकार बिक्री गर्छौं,’ उनले भने । यहाँ माछा खान मात्र होइन, पार्कबाट ताजा माछा खरिद गरेर घर लान पनि सकिन्छ ।

प्रकाशित : पुस १८, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?